वासुदेव पाण्डे (सुर्खेत) युवा पुस्ताका विशिष्ट कवि प्रतिभा हुन् । उनले निरन्तर शास्त्रीइ लयढाँचाका उत्कृष्ट कविता लेख्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सिर्जनामय असार शीर्षकको कविता समेटिएको छ । यस कविताले असार पूर्वको प्रकृति र असारे प्रकृति र किसानका कृत्यबाट धर्ती हराभरा भएको पक्षबाट असारलाई सिर्जनामय विम्बमा उतारेको छ ।
-सम्पा. |
लागी भोक रुँदा सबै दुधमुखा बच्चा मिलेमा दुध
बन्ने शान्त खुसी र तृप्त जसरी आमा हुँदा सम्मुख ।
त्यस्तै राप र तापले सब धरा तावा बनेथ्यो जब
वर्षाले सजिलै धुवाँ अनि धुलो धोयो पखाल्यो सब ।।
जोत्छन् गोरु उमङ्गले दबदबे पारेर माटो गिलो
बिर्सन्छन् मन–दर्द ताप सबले पट्यार खेल्दा हिलो ।
घन्किन्छन् लययुक्त गीत रसिला भाका असारे मिठा
रत्तिन्छन् जन बाल वृद्ध वनिता सम्पूर्ण पट्ठा ठिटा ।।
वर्षाले अहिले गिलो छ धरती भेटिन्न सुख्खापन
सेता केशसमान ढाक्छ कुहिरो सम्पूर्ण डाँडा वन ।
फुट्छन् मूल अनेक बग्छ जलको नौलो भँगालो भई
खोलासाथ नदी समाहित हुने मन्दाकिनीमा गई ।।
सुख्खा मौसम फेरिएर अहिले वर्षा लगातार छ
खोलामा जलधार उग्र खहरे उर्ली अहङ्कार छ ।
थन्केको जलराशि आज जसरी बर्सी खडेरी हट्यो
मानो रोप्न असारमा कृषकको सारा जहानै डट्यो।।
गाई झ्याउकिरी रमाउँछ किरा खोज्ने डुली भोजन
सुत्छन् लाग्दछ चन्द्रसूर्य नभमा ओढेर बाक्लो घन।
गैह्री खेत लगाउने कृषकमा आषाढको मोहनी
फुत्के एक असार मङ्सिर कहाँ देला र सञ्जीवनी ?
सुर्खेत