खोलाघरे साहिँलो नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको स्रग्धरा छन्दमा संरचित असार शीर्षकको कविता समेटिएको छ । यस कविताले वर्षका विविध पक्षसँगै असारको उर्वर सिर्जनशीलतालाई विभिन्न प्रतीक र विम्बका माध्यमबाट अभिव्यक्त गरेको छ । -सम्पा. |
ध्वाँसे काले छ ढोले वसन फुसफुसे गर्जना खूब लायो
ढम् ढम् ढम् ढर्र ढम् ढम् घनगण खुस भै ढोलबाजा बजायो
त्यो ढोले तालसाथै घुरुरुरु लचिलो मन्द थर्को सुनिन्छ
फेर्दामा ताल अर्को धपधप किटकिट् नाद अर्को सुनिन्छ ।
नाच्ने त्यो तालसाथै घरिघरि विजुली नर्तकी अङ्गनाले
झिल्के चाञ्चल्यतामा द्रुततर नखरा छर्न थाल्छे मजाले
त्यो काले तालवालेसित रसबस भै व्योमको आँगनीमा
नाच्ता हेर्छन् धराका नद,नग,तरुले प्रेक्ष्यशाला उहीमा ।
उत्साही छन् धराका कृषक जलदले झार्न थालेर पानी
पोख्छन् बाँझा गरामा श्रमसित पसिना डाक्न नौलो बिहानी
मानो खाई मुरीको फल पछि बटुलूँ स्वप्न देख्छन् सबैले
स्वप्ना साकार पार्ने सब कृषक जुटे सिर्जनामा क्रमैले ।
खुल्दा यी पौरखीका श्रम र पशु कतै यन्त्रका शक्ति खुल्छन्
हेर्दाहेर्दै गरामा झिलमिल हरिया धानका गाँज झुल्छन्
माटीको बाफ उड्दा हरहर मनमा प्रीति सीमान्त बन्छ
वास्ना त्यो मृत्तिकाको कृषक समुहले अत्तरैतुल्य मान्छ ।
टाँस्तै विज्ञप्तिजस्तो श्रम र सृजनको कर्मवादी असार
आयो आह्वान गर्दै प्रतिपल उठ ए ! जोशिला कर्मवीर
माटामा भिज्न पाऊन् लथपथ पसिना,गर्व मानोस् धराले
हाम्रै कर्मण्यता हो प्रगति मुलुकको भन्छ खोलाघरेले ।
काठमाडौँ