डिल्लीराज अर्याल नेपाली साहित्य सिर्जना, साहित्यिक सञ्चार, सञ्चार र शिक्षासेवका बहुआयाममा राष्ट्रसेवा गर्ने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न अंकमा समेटिइसकेको छ । यहाँ उनको मैले त्यसै छोड्दिन शीर्षकको देशभक्तिपूर्ण कविता समेटिएको छ । यस कविताले राष्ट्रिय चेतनाको उद्घोष गरेको छ । -सम्पा. |
गङ्गा, शुक्र,उजीर,धर्म,पृथिवी या भक्ति जो वीर हुन्
हुन् कालू अथवा पवित्र मनले लाग्ने अरू वीर हुन्
हाम्रा अग्रजले बुझेर तिनका चर्चा नछेड्ने किन ?
त्यागी लक्ष्य निराश रुग्ण मनले हारेर बाँच्ने किन ?
मैले मान्दिन हार, मान्दछु कतै हाम्रो ठुलै भूल भो
अस्थायी घटना भनूँ म कसरी? यो दुष्टकै चाल हो
बुझ्दै यी घटना म चल्दछु भने मैले नजित्ने किन
हारेकै छु कतै परन्तु नजिती मैले त्यसै छोड्दिन ।
पुर्खाका बल आँट गौरव कला मैले नहेर्ने किन?
लादेका असमान सन्धि अघिका मैले नफेर्ने किन?
आफै देश बनाउने रहरका सङ्कल्प, सच्चिन्तन
सोची खोज गरी यथार्थ नबुझी मैले त्यसै छोड्दिन .
टिष्टा पुग्न सकेँ बहादुर बनी कैल्यै नलत्रीकन
बोकी पश्चिम काङ्गडा पनि पुगेँ यै राष्ट्रको चिन्तन
वैलायो किन वीरता र अघिको मेरो सही चिन्तन
सोची खोज गरी अगाडि नबढी मैले त्यसै छोड्दिन ।
कोशी चस्स बिझाउँदैछ मनमा काँडा बनी दिन्दिन
काली बिझ्छ त्यसैगरी यदि भने मैले नबुझ्ने किन ?
मेरा दर्द बढी चसक्क मुटुमा चस्का दिँदै्छन् किन ?
सोची खोज गरी म बढ्छु बिचमै मैले त्यसै छोड्दिन ।
वर्षौँदेखि लडेँ परिश्रम गरेँ छन् दर्बिला पाखुरा
आफै राख्दछु, भोग्छु रक्षण गरी सम्पूर्ण मेरा कुरा
जुध्नैपर्छ तसर्थ साँच्छु मनमा मैले त्यही चिन्तन
मेरो दुर्गतिको म खोज्दछु चुरो मैले त्यसै छोड्दिन .
अर्काका हितमा लडेर पदवी पाएर के? लिन्न म
आफनै राष्ट्र, सिँगार्न, रच्न कसरी मैबाट हाँकिन्न म?
साना जीत र हारका जुलुसले हस्किन्न, ठस्किन्न म
हारेँ क्यार कतै परन्तु नजिती मैले त्यसै छोड्दिन .
आफ्नै भाषण तर्क नीति अघिका लागे सबै थन्किन
घट्दैछन् बल आँट राष्ट्रहितका सङ्कल्प साँच्चै किन?
खै ती जाँगर, सीप, साहस, कला खै उच्च मूल्याङ्कन?
खोज्नैपर्दछ खोज्छु ती किन गुमे? मैले त्यसै छाड्दिन .
मेरै पाउ कुमार्गमा यदि भए मैले पर्यो? रोकिन
मै हो कारण हारको यदि भने मैले पर्योो सुध्रिन
यस्तै सूक्ष्म लिएर सोच अहिले भुल्दैछ मेरो मन
मेरै निम्ति म लड्नुपर्छ, नलडी मैले त्यसै छोड्दिन ।