निर्मोही व्यासको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिसकेएको छ । यहाँ उनको सारभूत परिचयसहित नवोदित कविता अक्षय्य वैभव शीर्षकको कविता समेटिएको छ । यस कविताले कविकै आत्मप्रकाशका शैलीमा स्वाभिमानको गीत गाएको छ । -सम्पा. |
जहिल्यै म त एकै छु मन वाणी र कर्ममा
दुईजिभ्रेहरू ठान्छन् आफूजस्तै नराधम
आदर्श-पथमा आफ्नो हिँडिराख्छु निरन्तर
गिद्धले गिद्ध भन्दैमा मयूर गिद्ध हुन्छ र ?
०
मलाई जो घृणा गर्छन्,गरिराखून् जुनीभर
तिनकै मुटु जल्ने हो,मेरो के बिग्रने छ र ?
म प्रेम गर्न जन्मेको,प्रेम नै गरिराख्तछु
मग्न भै प्रेमको गीत सर्वदा गाइराख्तछु
०
जसले जे छ जानेको,गर्ने हो त्यसले त्यही
शैलले दिन्छ अग्लाइ स्वयम् पाउतलै रही
साल-सल्ला रही ठाडा,बेत-बाँसहरू नुही
दिन्छन् स्वभावको आफ्नो चिनारी सरिता बही
०
छैन कोही कुनैजस्तो,आफ्नै-आफ्नै स्वरूप छ
कसैको दिलमा छाया कसैको तेज धूप छ
स्वभाव न त फेरिन्छ फेरिन्छ व्यवहार नै
उदाहरण काफी छ फूल नै तरबार नै
०
लामो जीवनयात्रामा घाम-पानी निकै खपेँ
कहिले दौडमा हारेँ,कहिले दौडमा जितेँ
हार-जीत दुवैदेखि धेरै टाढा पुगेँ अब
क्षमा-सहिष्णुतालाई ठान्छु अक्षय्य वैभव
००