१०० ड्रिम कोरियामा बसोबास गर्ने प्यूठानबासी नेपालीहरूको साझा संस्था हो । यस संस्थाले नेपालको प्युठान जिल्लालाई कार्यक्षेत्र बनाएर विविध गतिविधि गर्दै आएको छ । यस संस्थाले पछिल्लो समय कोरोनाको समस्यामा केन्द्रित गरेर जिल्लाभित्रका बालबालिकाका बिच भर्चुअल कविता प्रतियोगिता गरायो । त्यस प्रतियोगितामा पुरस्कृत कविताहरूलाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ।
सङ्घर्ष पोख्रेल बाल प्रतिभा हुन् । उनी जनता मा.वि ऐरावती ६ बिजुलीमा कक्षा क्षमा अध्ययनरत छन् । उनी १ं०० ड्रिम द्वारा आयोजित प्रतियोगितामा द्वितीय स्थानमा पुरस्कृत भएका थिए । यहाँ उनको मेरो प्युठान शीर्षकको कविता समेटिएको छ । यस कविताले प्युठान जिल्लालाई चिनाएको छ । यो प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको थियो । -सम्पा. |
पियूष स्थान,
मेरो प्युठान
अमृत स्थान,
जङ्गी अड्डाको स्थान
गर्व लाग्दो स्थान
उही प्युठान ।
पवित्र क्षेत्र रहेको ठाउँ
भित्रिकोट दरबारको उच्च नाउँ
गर्थे लडाइँ, नचाई ततरबार
गोर्खाली जागेर बनेको नेपाल
व्युठान पनि सिङ्गो नेपाल ।
मेरो प्युठान
पुण्यभूमि,
वर्गद्वारीको जन्मभूमि
त्रिकाल दर्शी महापुरुषको भूमि
प्रभुको फूलबारी .
गर्थे तपस्या ऋषिमुनि
शान्ति छर्दैछ, अखण्ड धुनी
झिम्रुक माडी, खोला हजार
कलकल छङछङ, छाँगा छहरा
के छैन
अनेक छन् प्राकृतिक सान
अनेक छन् देवदेवी थान
मेरो प्यारो प्युठान ।
फुल्दछन् गुराँस
पाखा पाखामा नेपाल सजाएर
मृग, बँदेल डुल्छन् वन्य सान बनेर
नाँच्दछन् मयूर पिउठान उठाएर ..
वग्छिन् झिम्रुक, लिएर आँट
सजाउँदै वनाउँदै, सुनौला फाँट ।
गौमुखी ऐरावती, जलले नुहाई
पखाल्छन् पाप, दिँदै दुहाइ
कोठी सिँदुरे कुटी नारीकोट
चिनाइरहेछन् प्युठान
चिनाइरहेछन् देश ।
प्युठान तिमी नै हौ महान्
र त हुन्छन् घरघरै
पूजाआजा कीर्तन महान्
घाटु, सोरठी नाचिन्छन्
गर्रा र सुराइ बजाइन्छन्
संस्कृतिका धरोहर उठाइन्छन् ।
छन् कुलैपिच्छे
देवाली संस्कृति
सदियौँदेखि बाँचेका छन्
घाटु संस्कृति
तिम्रा काखमा कतै छैन विकृति
प्युठान मेरी जन्मभूमि
प्युठान मेरी जननी ।