विनयकुमार शर्मा नेपाल नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनले सिर्जना, समीक्षा, सम्पादन, प्रकाशन, साहित्यिक सञ्चार, सङ्गठनका बहुआयामबाट साहित्यसेवा गरिरहेका छन् । उनी कोशकार पनि हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको निर्मम सत्य शीर्षकको कविता समेटिएको छ । यस कविताले आवश्यकताअनुसार मानिसका गतिविधि चल्ने पक्षलाई प्रस्तुत गरेको छ । -सम्पा. |
पानी जतिसुकै निर्मल होस्
पानी जतिसुकै आवश्यक होस्
धाउँदैन सागर खोलाको लागि
मार्ग बनाउनुपर्छ उसले
र मार्ग बनाउँछ आफैँ
खोला र नदी ।
पानी जतिसुकै महत्त्वको होस्
पानी जतिसुकै स्वच्छ र पवित्र होस्
धाउँदैन खोला र नदी
मान्छेका लागि/प्यासीका लागि
प्यास मेट्न धाउनैपर्छ
मान्छे आफैँले आफ्नो सन्टुष्टि लागि।
पात्र जतिसुकै सुयोग्य होस्
पात्र जतिसुकै सुन्दर होस्
पात्र जतिसुकै लगनशील होस्
धाउँदैन अवसर मान्छेका लागि
आफ्नो अवस्था हेरी मौका समात्न सक्नुपर्छ
मान्छे आफैँले आफ्नो उन्नतिको लागि ।
शिष्य जतिसुकै लायक होस्
शिष्य जतिसुकै मायालु होस्
धाउँदैन गुरु शिष्यका लागि
धाउनै पर्छ शिष्यले
अवसरका लागि/शिक्षाका लागि
शिष्य आफैँले आफ्नो बोधको लागि/ज्ञानको लागि ।
कार्य जतिसुकै जरुरी होस्
नहुँदा संसारै किन नरित्तियोस्
धाउँदैन कार्य-दाता कार्यको लागि
धाउनै पर्छ कर्ता आफैँले
कामका लागि/मामको लागि
आफ्नो आवश्यकता पूर्तिको लागि ।
प्रिय जतिसुकै प्रिय होस्
मनमा जतिसुकै हुण्डरी चलोस्
धाउँदैन प्रेम प्रेमीको लागि
गर्न सक्नुपर्छ आखाँ चिम्लेर प्रेम
विश्वासको लागि/समर्पणको लागि
प्रेमी आफैँले आफ्नो जीवनको लागि।