विमल कोइराला (२०१२ वैशाख ६, पोखरे भोजपुर, सुपुत्र : थिरप्रसाद कोइराला र छायादेवी कोइराला) राष्ट्रसेवा र साहित्यसेवामा समर्पित प्रतिभा हुन् । मुख्य सचिवबाट सेवानिवृत्त कोइराला युवा उमेरबाटै साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । २०२७ सालमा मातृभूमि पत्रिकामा देश शीर्षकको कविता प्रकाशन गरी साहित्यका क्षेत्रमा सार्वजनिक भएका कोइरालाका मौन सिविरबाट (२०४३), उत्सव मनाउने तयारीमा (२०५५), विमल कोइरालाका कविता तथा वार्ताहरू (२०५९) जस्ता कविताकृति प्रकाशित छन् । उनको प्रस्ताव (२०५७) गीतिएल्बम पनि प्रकाशित छ । कोइरालाले राष्ट्रिय प्रतिभा पुरस्कार (२०४३) लगायत विविध मान, सम्मान, पुरस्कार, पदक र विभुषणहरू प्राप्त गरेका छन् । उनका कवितामा बहुमुखी जीवनचेतना पाइन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको यो सहरमा शीर्षकको कविता समेटिएको छ । यस कविताले सहरमा एक मानिसले अर्को मानिसलाई मानिस नदेख्ने र नवप्रवेशीलाई मानिस नगन्ने प्रवृत्तिको विरोध गरेको छ । -सम्पा. |
यो सहरमा
म अनागरिक भित्रिएँ भन्ने
भ्रान्ति भइरहेछ ।
चट्टान खोपेर निर्मित
गोडा मात्र अटाउने कहालीलाग्दा
भीरका बाटा पनि हुँदा रहेनछन्
छ्वाङछ्वाङ्ती
आम्मै ! पनि भन्न नपाइने
खहरे र खोला पनि हुँदा रहेनछन्;
त्यति सिस्नोका झ्याङ पनि देख्न पाइएन
बक्खु लाएर हिँड्नेहरू पनि देखिएनन् ।
उँभो–उँभो उठेका महलहरू मात्र
काला चिल्ला सडकहरू मात्र
त्यहाँ कोही हामी जस्तो पनि देखिएन ।
रहेछन् एक जमात
जो फूल ओछ्याएर सुतिरहेछन्
अनि, अर्का
पेटीमा, सडकमा जताततै ‘भोक लाग्यो’ कराइरहेछन्
जो फूल ओछ्याएर सुतिरहेछन्
तिनलाई मैले यसअघि देखेको थिइनँ
जो ‘भोक लाग्यो’ कराइरहेछन्
सानैमा हराएका
ती त मेरै साक्खे भाइहरू पोरहेछन्
उनलाई पनि देखेको थिइनँ ।
कोही कसैलाई नदेखेको
कोही कसैलाई नचिनेको
बथानको बस्तुभाउ बगरेले किने जस्तो
यस्तो लाग्दैछ–
म अनागरिक
यो सहरमा अनधिकृत प्रवेश गरिरहेछु ।