इन्दिरा दाहाल (२०३८, इलाम) युवा कवि प्रतिभा हुन् । इलामे चेलीका रचनाहरू (२०५९), नेपाली गजलमा नारीहस्ताक्षर (२०६२) जस्ता कृतिमा संयुक्त रूपमा प्रकाशनमा आएकी दाहाल अहिले निरन्तर साहित्य सिर्जनामै समर्पित छन् । उनी साहित्यसुधालगायत विविध संघसंस्थामा रहेर साहित्य सिर्जना गरिरहेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा दाहालको ‘प्रवृत्ति’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मानवीय व्यवहार र मानवीय व्यवहारका कमजोर प्रवृत्तिलाई देखाएको छ । -सम्पा. |
मुखले ठिक्क पार्दैछ, छुरा हानेर कोखमा
जरा काटी लडाएर खोज्दैछ फलबोटमा
प्रशंसाले उचालेर खुट्टा तान्दैछ बेस्सरी
मान्छे चिन्न बडो गाह्रो –ठम्याऊँ लौन के गरी ?
अर्काको घर भत्काई–खुसीले नाच्छ छम्छमी
गोहीको आँसु झारेर– बन्न खोज्दै छ सद्गुणी
अति लुब्ध भयो मान्छे – पैसाको वशमा परी
मान्छे चिन्न बडो गाह्रो – ठम्याऊँ लौन के गरी ?
बाहिर देवतातुल्य –देखिन्छ नरभक्षक
कुहिन्छ आलु झैँ मान्छे अर्कोलाई सडाउँछ
नक्कली खोल ओडेर साँच्चै हुँ भन्छ सक्कली
मान्छे चिन्न बडो गाह्रो ठम्याऊँ लौन के गरी ?
नजानेको कुनै छैन, सर्वज्ञानी भएसरी
अर्ती दिँन्छ सबैलाई हँसाऊ जिन्दगीभरी
उही आफ्ना रुवाएर हाँसिरन्छ सधैँभरी
मान्छे चिन्न बडो गाह्रो ठम्याऊँ लौ न के गरी ?
आफ्ना जति सबै राम्रा, गाउँछन् जसले गुण
दोष देखाउने मान्छे – आफ्नो बन्दैन तत्क्षण
वाह ! वाह गरे मात्रै – खुसी मान्ने कठैबरी
मान्छे चिन्न बडो गाह्रो – ठम्याऊँ लौन के गरी ?
लाजमा लाज देखेर लजायो लाज नै अहो
बेकामे काम देखेर झस्कियो काम नै अहो
टुप्पो न फेदको चाला सकिन्न भो कसैगरी
मान्छे चिन्न बडो गाह्रो ठम्याऊँ लौ न के गरी ।