मोहन सिटौला नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी यस सञ्चारमाध्यमका सल्लाहकार पनि हुन् । प्रस्तुत शृङ्खलामा सिटौलाको चिन्तनका राग पराग’ शीर्षकको कविता समेटिएको छ । यस कविताले पिछडिएको समुदायलाई संकेत गरेको छ ।
-सम्पा. |
हेपिएको मान्छे होर !
अबोध, विस्मित, पुलकित, जिज्ञासु, सचेत र कल्पनाशील यात्री,
ठगिएको, ढाँटिएको, लुटिएको, झुक्याइएको, हेपिएको पात्र
सुबोध, स्वप्निल, सचेतक, विप्निल, विद्रोही, क्रान्तिकारी, विध्वंशक,
आत्मबोधी, प्रयोगशील, सिर्जनशील, करुणामयी, हितैषी, विवेकी
संवेदनशील, अनवरत सङ्घर्षशील, कलाकारी, नव निर्माता मान्छे !)
शब्द—जुहार, भावना बोकी लहराई रहेका छालहरू झैँ
खाल्डाखाल्डी पानी भरे भैmँ दिलका दर्द, भार पखाल्दै
वाफ उडे झैँ नीलिमा व्याप्त, कल्पना उच्च तेज, प्रकाश
आशा भरेर पङ्ख उचाली, चाली हरपल उच्च निकास
तीक्ष्ण चेतना, खुला उपासना, चिन्तनमग्न सहजको बास ।
यात्रा निशिदिन, यात्री चखेवा, चेत छ चपला, चारु चनाखो
विस्मृत विश्राम, दायित्वबोध, शोध र खोज, गोप चलेको
सदा वसन्त अन्त—अनन्त, पलापलाका कलाहरूमा नूतन दृष्टि
विस्मित चेतना, सोच, विवेक, प्रेम र करुणा सिञ्चित सृष्टि
पीडा अविरल सम्वेदित भै जगको आँसु दिलभर वृष्टि !
बुद्ध, वेदान्त, बाइवल, गीता, मानव सिर्जनातत्व सँगाली
चेतक, चिन्तक नेताहरू हो ! नवनित कखरा युगका बाली
कृषकहरूका रचना राम्रा चिन्तन, सिञ्चन नवरस हाली
नव्य उठाऊ ! इन्द्र धनुषी भवका भव्य भावना भावी
नित्य उषामय हिरण्यगर्भ मानव जुनी होस् सब सम्भावी !
प्राचीन, नव्य, यथार्थ, भव्य, सभ्य मानव मन्थन धरणी
प्रयोगशाला, युगको माला, सत्य झल्झलाकार कालरमणी
दिव्य उठाऊ कर्म गरेर छाम पुगेर दिलको शरणी
रञ्जन राग गीत र नाँच व्यथा र पीडा पार तरणी
मानव मनको चिन्तन पूजा कर्मठ कर्म पारसमणि !
प्रेममय यो जग हो जान र मान भरेर मीठो ममता नीर
दीर्घ छ काम, लघु जीवनको तीक्ष्ण तुषारो, भेदन झीर !
मृत्यु छ साथमा, जित्ने कसरी ? सेवा रञ्जन फूल फुलेको
चिन्तनामृत अमर मुटुको प्यारो, दृश्यादृश्य भाव भरेको
कर्म र नाट्यशाला भव औ नभमा चित्रित दृश्य खुलेको !
वीरका युद्ध पुरुषार्थी हुन्, कर्मवीर हुन् धन्य धरणीका
अवचेतनका स्तरदेखि चेतक लिस्ना, सृष्टिभरिका
रहस्य नित्य, खोज अनन्त, प्राप्ति जगमग पाठ नयाँका
मानव स्वार्थ दास सँधैको, घर्षण पत्थर सीमितपनाका
मानव मालिक आत्मा बलेको सङ्केत—लक्ष दूर क्षितिजका
त्रासदि अग्नि, हाहाकार, जलमय बाढी प्रलयकार
जीवन जङ्ग, वीरको युद्ध प्रेममय सृष्टि करुणाकार
बाँच बचाऊ बराह र मान्छे युगका माला प्राप्तिहरूका
नवनित चेतन दीप्त बलेको अनन्त यात्री पार्थिवताका
आत्मीयताका स्वर्ण युगका, नवयुग द्योतक ज्योति सदाका !
गोल ढुङ्गा— राउण्ड रक टेक्सस् , अमेरिका