वासुदेव पाण्डे मोफसलमा रहेर उत्कृष्ट कविता रचना गर्ने कवि हुन् । उनका कवितामा नेपाली माटोको सुवास मगमगाएको हुन्छ । उनले प्रायः कवितामा नेपाली प्रकृति र संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको प्रेम उर्जा शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रेमलाई मूर्त भन्दा पनि अमूर्त उर्जाका रूपमा प्रस्तुत गरेका छन् । -सम्पा. |
जोखिने,पोखिने,लेखिने,देखिने
छैन जो मूर्त,हो भावमा फैलिने।
प्रेम ऊर्जा ठुलो तुष्टिको माध्यम
जिन्दगी तारको हो कि सारेगम।।
गाँस्न सक्ने सबै बन्छ धागो-सियो
अक्षझैँ साँच्चिकै लोक घुम्ने मियो।
ठुल्ठुला ग्रन्थका अर्थको सारझैँ
जिन्दगी देहको यो अलङ्कारझैँ।।
ऐन, निर्देशिका, संहिता मौखिक
अर्थिने भोगिई सूत्र यो मौलिक।
ओठमा मौनता भाव गर्छन् कुरा
चित्तमा उम्रिने प्रेमका आँकुरा।।
मोहनी-मन्त्रका भिन्न पाटाहरू
चित्त गन्तव्यझैँ नेत्र बाटाहरू
प्यार सञ्चारमा बाडुली दूत हो
प्रेम मन्दाकिनी जिन्दगी बूँद हो।।
सार हो मन्त्र हो विश्व पार्ने वश
पात्र टाढा भए हुन्छ गाढा अझ।
तर्क वैविध्यता एक साझा मत
प्रेमसत्ता छ यो लोकमा शाश्वत।।