निर्मोही व्यास नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । नेपाली साहित्यका मूलतः कविता र नियात्रापरक निबन्ध सिर्जनामा सशक्त प्रतिभा व्यासको वास्तविक नाम वेदव्यास उपाध्याय हो । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमै उच्च शिक्षा लिएका छन् । उनका कविता र काव्यका विभिन्न कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ’डुबूँ सारदाको म आराधनामा‘ समेटिएको छ । यस कविताले शरस्वती आरधनाका माध्यमबाट चेतनाको उपल्लो प्राप्तिको सिर्जनात्मक स्वप्नदृष्टि प्रस्तुत गरिएको छ ।
– सम्पा. |
१
म चाहन्छु निष्णात होऊँ कलामा
गरून् भारती वास मेरो गलामा
मिलोस् दिव्य अक्षय्य ऊर्जा अथाह
बगोस् लेखनी नित्य धाराप्रवाह
उडूँ मुक्त पन्छी बनी कल्पनामा
डुबूँ शारदाको म आराधनामा
२
न रङ्गीन स्वप्नावली नै सजाऊँ
न ता शक्तिको भक्तिमा नै म धाऊँ
अहङ्कारको भूतलाई भगाऊँ
पिपासा क्षुधा ज्ञानको झन् जगाऊँ
रमूँ अक्षर-ब्रह्मको अर्चनामा
डुबूँ शारदाको म आराधनामा
३
बलोस् चेतनाको अखण्ड प्रदीप
नढिम्कोस् अनाचार मेरो समीप
विवेकी-इमानी-श्रमीसाथ मीत
लगाएर,गाएर सद्भाव-गीत
बितोस् जिन्दगी शब्दको साधनामा
डुबूँ शारदाको म आराधनामा
४
असत्को हुँ वैरी म सत्को पुजारी
यही नै त मेरो छ सच्चा चिनारी
नहोऊँ म दागी,नहोऊँ प्रमत्त
भए यत्तिमात्रै,मलाई प्रशस्त
नअल्झूँ म अर्को कुनै कामनामा
डुबूँ शारदाको म आराधनामा
५
ममा स्नेह-मन्दाकिनी कल्कलाओस्
सँगै घाम सौहार्दको झल्मलाओस्
हिया सत्यको ज्योतिले जग्मगाओस्
र,संवेदनाको शरद् मग्मगाओस्
झुकाेस् माथ वागीशकाे वन्दनामा
डुबूँ शारदाको म आराधनामा
०००