केदार न्यौपाने नेपाली साहित्य र शिक्षासेवामा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘बाटो बिराएपछि’ शीर्षकको छन्दोबद्ध कविता समेटिएको छ । यस कविताले बहुमुखी विसङ्गतिलाई स्पर्श गर्दै राष्ट्रिय चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
मान्छे सिर्जनको अपूर्व नमुना मान्छे स्वयं साधक
मान्छे ज्ञान बिवेकशील सुषमा समृद्धिको पालक
आस्था ईश्वर सत्य नैतिक कला विश्वास ताजा बल
छोड्दै भो किन दीन दुर्वल उही अस्वस्थ नालायक ।
खोस्री भौतिक वस्तुकोश उधिनी सम्पन्नता प्राप्त भो
भन्ने सोच लिएर गर्भित हुंदा खै उच्चता देखियो ?
छन् सेवामय कार्य शान्ति समता सद्भाव सत्प्रेरक
ताजा ज्ञान विवेक वृद्धि बलदा विज्ञान सारोन्नत ।
आशातीत अनेक उन्नत विधा विश्वासको सागर
घोली भौतिक सोचले मथिदिँदा उत्साहको जाँगर
जागी जीवन उर्वरा जति भयो सुख्खा भए भावना
मान्छे यान्त्रिक भै रहेछ उसको सामर्थ्य खै साधना ।
योगाभ्यास गरी त्रिकाल विजयी स्रष्टा हुने जो थिए
आफ्नो जीवन वर्तिकामय भयो आलोक विस्तारिए
झल्के ज्ञान बिवेक कुड्मल कला अम्लान झै देखियो
वित्ता काल विशिष्टता क्षयित भै बोक्रेपना बाँकी भो ।
आस्थाको मणि मैलिई चहकिलो उर्जा त्यसै छेकियो
मान्छेको गतिशील उन्नत कला भित्रै कता रोकियो ?
आए उन्नतिका अनेक मुजुरा सप्रेन डाली कुनै
मैलो मूल विषाणुयुक्त लहरा देखिन्छ हेर्दा जुनै ।
बोक्रे भाव छचल्कियो गहनता देखिन्न काँही कतै
नेता पामर बुद्धिहीन ढँटुवा भै भ्रष्ट जाली अझै
जेले निन्दित पार्छ फेरि उसकै सिको बढ्यो लोकमा
व्याधी ताप र घोर कष्ट थपिए प्राणै लिने भोकमा ।
विद्याको धन गौण भो र छरिए राम्रा सुधी शिक्षक
बोक्रे ज्ञान बिवेक शून्य कचिला काँचा छुसी निष्ठुर
हुन्छन् तत्पर नित्य नीच जनको सन्जाल विस्तारमा
शिक्षा सङ्लिन सक्छ के अव छिटै यो विश्व संसारमा ।
हिंसा घोर भयो भए विकृतिका लाखौ नराम्र कुरा
झुटा छन् सब छैन सत्य छलियो सद्भाव खै भो पुरा
बढ्दै गो व्यभिचार छैन जनमा विश्वास श्रद्धाबल
आफ्नै स्वार्थ र दम्भले हरिदियो आनन्दको उत्सव ।