गोविन्दसिंह रावत प्रवासमा रहेर नेपाली भषा साहित्यमा समर्पित प्रतिभा हुन् । उनका विविध विधाका विविध रचना साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेका छन् । यहाँ उनको गङ्गारामको कविता शीर्षकको बालकथा समेटिएको छ । यस कथाले लोककथात्मक शैलीमा कविताको उपयोगितालाई देखाएको छ । एउटा साधारण पात्र गङ्गारामलाई उभ्याएर उसका माध्यमबाट कविताको शक्ति र महत्त्वलाई उजागर गरिएको छ ।
-सम्पा. |
विद्यालयमा पढ्दा साहित्य पढाउने एक जना शिक्षकले कविताको शक्तिको बारेमा भनेको कुरा आज मैले सम्झनु परेको छ ।
एकादेशमा एउटा राजा थिए । उनलाई कविता सुन्ने रहर थियो । राजाले आफ्नो दरबारमा कविता भन्न चाहने जो कोही प्रजालाई पनि स्वागत गर्थे । दरबारमा राजाले कविता सुन्ने गरेको र नराम्रो कविता सुनाउनेलाई सजायबापत दरबारमा काम गर्न लगाउने गर्थे । राम्रो कविता सुनाउनेलाई पुरस्कार पनि दिने गर्थे । त्यही देशको एउटा गाउँमा गङ्गाराम भन्ने अल्छी कामै गर्न नचाहने मान्छे थियो । घरमा आफ्नी आमासँग बस्दै आएको थियो ।
गङ्गारामलाई आमाले कति सम्झाउँदा पनि ऊ काम नगर्ने, दिनभरि डुलिबस्ने अनि खाने र सुत्ने बेलामा मात्र घर आउने गथ्र्यो । उसकी आमालाई छोराको चिन्ता मात्र लाग्ने गथ्र्यो ।
छोरालाई काम गर्न मन नलागे पनि ऊ तुकबन्दी मिलाएर कुरा गर्न भने सिपालु थियो । दरबारमा राजाले कविता सुन्ने गरेको र नराम्रो कविता सुनाउनेलाई सजायबापत दरवारमा काम गर्न लगाउने बारे सुनेकोले छोराले तुकबन्दी मिलाएर कविता भन्न लगाउन छोरालाई पठाउने भइन् । छोरोले कविता भन्न नसके पनि दरबारमा राजाको डरले काम गरेर सप्रिन्छ कि भनेर दरबार पठाउने जुक्ति खोज्न थालिन् ।
आमाले छोरोलाई दरबारमा कविता सुनाउन जानेलाई राजाले मीठो मीठो भोज खुवाउने र कविता मन परे असर्फी दिने गरेको जनकारी गराउँदा पनि छोरा जान नमानेपछि एक दिन आमाले गङ्गारामलाई तैँले केही नगर्ने भए एक पटक राजालाई गएर भेट्नू र एउटा कविता सुनाइदिनू भनिन् । राजा खुसी भए पुरस्कार दिन्छन् र त्यो पुरस्कारले हामी सधै मिठो मिठो खान पाउँछौँ भनेर राजदरबार जान मञ्जुर गराईन् । आमाले गङ्गारामलाई बाटोमा जे जे देखिन्छ त्यसलाई सम्झँदै तुकबन्दी मिलाएर राजालाई सुनाइदिनू त्यो नै कविता हुन्छ किनभने जीवनको अनुभूति नै कविता हो भनेर दरबार पठाइन् ।
गङ्गाराम गाँउबाट दरबारतिर जाँदा बाटोमा एउटा मुसाले माटो खोस्रेको देखेपछि खुर खुर गरेर के खस्रेको भनेर कविताको पहिलो पङ्क्ति जोड्यो । त्यहाँबाट अगाडि बढेपछि जङ्गलमा एउटा मृग टाउको तन्काएर यताउति हेरेको देखेपछि गंगारामले अर्को पङ्क्ति टाउँको उठाएर के हेरेको जोड्यो । अझ अघि बढेपछि उसले डरले बेरिएर बसेको एउटा सर्प देखेर सोध्यो, डराएर किन टुक्रुक्क बसेको ? यसरी ऊ दरबारमा पुग्यो र दरबारको गेटमा नै राजाको सेनापतिले उसलाई रोकेर किन आएको भनेर सोध्दा उसले कविता सुनाउन आएको भन्दै सेनापतिको नाम सोध्यो । सेनापतिले हरिलाल भनेपछि उसले हरिलाल ओ हरीलाल, हरिलाल ओ हरिलाल भनेर सेनापतिको नाममा अर्को पङ्क्ति जोड्यो कता जाने हरिलाल भन्दै दरबारभित्र पस्यो ।
राजाको सेनापतिलाई राजाले यसरी प्रत्येक दिन कविता सुनेर राष्ट्रको ढुकुटी सिद्धाउँदै गएको मन परेको थिएन । उसलाई लाग्यो राजाको ढुकुटीमा धेरै खजाना छ । उसको मनमा नराम्रा विचारहरू आउन थाले । राजाले विनाकाममा कविहरूमाथि ढुकुटी रित्ताउदै गएकोमा सधैँ विरोध गर्दा पनि राजाले कहिल्यै सुनेनन् । त्यसैले उनी निराश भएका थिए ।
त्यस रातमा पनि दरबारमा कवि गोष्ठीमा आएका सबैले आआफ्नो कविता सुनाए । गङ्गारामले आफ्नो कविता यसरी सुनायो :
खुर खुर गरेर के खास्रेको
टाउँको उठाएर के हेरेको
डराएर किन कुक्रुक्क बसेको
हरिलाल ओ हरिलाल
हरिलाल ओ हरिलाल
कता जाने हरिलाल
गङ्गारामले बाटोमा देखेका कुराहरूलाई कविता बनाएर सुनाउँदा राजा धेरै हाँसेका थिए । त्यही रात राजाले आफ्नो शयन कक्षमा रानीलाई गङ्गारामको कविता सुनाउँदै थिए । शयनकक्षसँगै राजाको राज ढुकुटी थियो । राजाले यसरी कविता सुनेर ढुकुटी रित्ताएको देखेर सेनापति हरिलाल त्यही रात ढुकुटी फोडेर लुट्न भनेर आएका रहेछन् । हरीलालले बहिरबाट पर्खाल प्वाल पार्न खोज्दा राजाले खुरखुर गरेर के खस्रेको भनेर रानीलाई सुनाउँदै थिए । राजाले यसरी भनेको सुनेपछि हरिलालले कतै राजाले त देखेनन् भनेर टाउको तन्काएर यताउति हेर्न थालेपछि राजाले त्यतिनै बेला अर्को पङ्क्ति टाउँको उठाएर के हेरेको सुनाए । हरीलाललाई लाग्यो राजाले पक्कै पनि उसलाई देखेको हुनु पर्छ भनेर त्यहीँ लुकेर बस्न खोज्दा राजाले रानीलाई डराएर किन कुक्रुक्क बसेको भन्ने पङ्क्ति सुनाएपछि हरिलाललाई लाग्यो अब यहाँबाट भाग्नु नै पर्छ भनेर बेगसँग भाग्न थालेको मात्र के थिए राजाले कविताको अन्तिम पंक्ति हरिलाल ओ हरिलाल, हरिलाल ओ हरिलाल कता जाने हरिलाल सुनाएपछि रानी पनि हाँस्न थालिन् ।
भोलिपल्ट दरबारमा हरिलाल आफै आएर राजालाई विन्ती चढाउँदै आफूले बिराएको भन्दै माँफी माग्न थाले । राजाले माफीको कारण बुझ्न खोज्दा हिजो आफूले ढुकुटी फोड्न खोज्दा राजाले थाहा पाएको र भाग्न खोज्दा नामै बोलाएर कराएको भनेपछि राजाले राती रानीलाई सुनाएको कविता सम्झे । अनि उनले तुरन्तै आफ्ना सेना पठाएर गङ्गारामलाई बोलाए । उसलाई दरबारमा पुरस्कारसहित सम्मान गरे ।
यो कथाले कविताको शक्ति देखाएको छ । यसबाट जीवनको अनुभूति नै कविता हो भन्ने पनि बुझिन्छ ।