सुनिता बस्नेत थापा प्रवासमा रहेर साहित्य सिर्जना गरिरहेकी प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘उड्न चाहन्छु’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा पिंजडामा बस्ने पन्छीका विम्बमा नारी स्वतन्त्रताको र स्वतन्त्रताको भाव अभिव्यक्त गरिएको छ । -सम्पा. |
पिंजडाको बास लामो भयो
यी पखेटा फिँजाइ उड्न चाहन्छु
अनन्त क्षितिजलाई छुन बाँकटे मार्दै
बादलको तरेलीमा डुल्न चाहन्छु ।
भिरपाखा डाँडाकाँडा खोँचहरूमा
टार, बेँसी र पाखा पखेरामा
घाम र जूनसँग पीर व्यथा साटेर
आकासको छातीमा रम्न चाहन्छु ।
आओस्, बाधा अड्चन बाटोमा
हिम्मतको ठोँडले तोड्न चाहन्छु
पिंजडामा कुँजिएको पखेटा फड्कारेर
फेरि उन्मुक्त भई उड्न चाहन्छु ।
स्वच्छ हावासँग प्रीति साटी
आफैले आफैलाई
एकै छिन भुल्न चाहन्छु
पानी परेपछिको आकाश जस्तै
आफै आफैसँग खुल्न चाहन्छु
थुनिएर बस्नु नियति होइन
अजम्बरीको बुटी बनेको छैन ।
उड्ने गरेको थिएँ आकासको सेरोफेरो
फेरि त्यही निर्मल आकाशमा डुल्न चाहन्छु
चाहे तोडियून् आफ्नै पखेटा यो यात्रामा
तापनि स्वतन्त्रताको विगुल फुक्न चाहन्छु
स्वच्छ हावाको झोक्कामा
केहीबेर मात्र भए पनि झुम्न चाहन्छु ।