लोकनाथ पुडासैनी ( २०२१ फागुन २३, बारपाक सुलीकोट – ८, जराङबेसी, गोरखा) चालिसको दशकदेखि साहित्य सिर्जनामा लागेका प्रतिभा हुन् । उनको पहिलो प्रकाशित लेख ‘बराम जाति एक परिचय’ शीर्षकमा २०४८ सालमा प्रगति साप्ताहिक ( इटहरी, वर्ष ९, अङ्क २२) मा छार्पिको थियो । उनका प्रकाशित कृतिहरू : संविधान अवसान (कवितासङ्ग्रह – २०६९), टिम्मुर (मुक्तक सङ्ग्रह – २०७२), चामल भात (उपन्यास – २०७३), चड्याम्म (मुक्तकसङ्ग्रह – २०७६), मलामी: भट्टी (कथा ङ्ग्रह –२०७७), खिचडी (विविध सँगालो – २०७८), काठ तथा काष्ठ (प्रविधि प्राविधिक पाठ्यपुस्तक – २०७०), प्लम्बिङ–हस्तपुस्तिका (प्राविधिक पाठ्यपुस्तक –२०७६) आदि विविध साहित्यिक विधाका साथै प्राविधिक र व्यवहारिक पुस्तकहरू प्रकाशित छन् । पुडासैनी विभिन्न सङघ संस्थामा संलग्न छन् । तीमध्ये साहित्य शृङखला, पोखरा, प्रलेस, कास्की/गण्डकी, गण्डकी साहित्य सङ्गम आदि उल्लेख्य छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको फैसला शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले हाम्रो समाजमा लैङ्गिक समानता नभएको तीतो यथार्थ प्रस्तुत गरेको छ । -सम्पा. |
त्यो गाउँमा नयाँ मुखियाले तालुकदारी चलाएका थिए । उनको दावा थियो, ‘गाउँमा शान्ति सुव्यवस्था, अमनचयन, उन्नति प्रगतिका साथै दुनियाँमै नभएको लोकतन्त्र, समानता, नागरिकहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको छ । कोही भोका, नाङ्गा र असुरक्षित छैनन् ।’ तर वास्तविकता त्यस्तो थिएन । जहाँका नागरिकहरू उनैसँग डराउँदथे । कमीकमजोरी र अन्यायका बारेमा चुइँक्क बोल्न पाइँदैनथ्यो । जनमतको मुन्टो निमोठिएको थियो । भ्रष्टाचार, महङ्गी, कालोबजारी र यौन हिंसाको दुश्चक्र मडारिएको थियो । छोरीचेलीहरू घाँस दाउरा, मेलापात, विद्यालय त के शौच जाँदा पनि सुरक्षित थिएनन् । मदोन्मत्त यौनपिपासुहरूद्वारा दिनदहाडै उनीहरू लुटिन, बलात्कृत हुन र मारिन विवस थिए ।
निर्मला, गुलबसा खातुन र भागिरथीहरू त्यसका प्रतिनिधि उदाहरण बनेका छन् । आवारा उरन्ठेउलादेखि कथित बालब्रह्मचारी भनाउँदा धर्मभीरुहरूसमेत यस्तो निन्दनीय कार्यमा सम्लग्न रहेका देखिन्थे । मुखियालाई भने छोरीचेली लुटिएकोप्रति कुनै चिन्ता थिएन । उनी केवल भेला कचहरीको आयोजना गर्ने र अरूहरूको हुर्मत काढ्नमै तल्लीन देखिन्थे । भेलाले एकातिर कोरोनालाई गिज्याइरहेको थियो भने अर्कातिर गाउँमा ज्यादती र आपराधिक घटनाहरू बढिरहेका थिए । त्यहाँ न पीडितले न्याय पाए, न अपराधीलाई सजाय नै भयो । त्यहाँ त तीन वर्षे बालिकादेखि साठी–पैँसठ्ठी वर्षीया वृद्धासमेत बलात्कृत हुनुपरेको अवस्थाले नारी अस्मिता नै सङ्कटमा परेको थियो । झन् छानबिनको ढिला–सुस्ती हुँदा कतै उनकै मान्छेहरू त संलग्न छैनन् भन्ने आशङ्का उब्जिएको थियो ।
यत्तिकैमा मुखियाका महल नजिकैकोे मन्दिरमा फेरि अर्को घटना घट्छ । पुजारीलाई अनुयायी बलात्कार गरेको आरोप लाग्छ । सुरुमा घटनालाई मिथ्या भन्दै दवाउने प्रयत्न गरिन्छ । तापनि समाजको साथ पाएपछि महिलाले पुजारी विरुद्ध उजुरी दिन्छिन् । पुजारीले मुखियासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको धाक देखाएर छानबिनलाई प्रभावित पार्न खोज्छ । तर अनुसन्धान रोकिँदैन ।
परिस्थिति पुजारीका पक्षमा हुँदैन । पीडित महिलाको घाउचोट, गुप्ताङ्ग, वीर्य आदि परीक्षण गरिन्छ । परीक्षणबाट उनी बलात्कृत भएको पुष्टि हुन्छ । त्यसपछि पुजारीलाई हिरासतमा लिएर प्रहरीले न्यायालयमा पेश गर्छ । त्यसबिचमा धेरै चलखेलहरू हुन्छन् । यद्यपि पीडित पक्षले न्यायालयको फैसला पर्खनुको विकल्प थिएन । धैर्यताका साथ प्रतिक्षा गर्छन् । अन्ततः लामो समयको अन्तरालपछि न्यायालयले आफ्नो फैसला सुनाउँदै भन्छ–
“बलात्कृत महिला स्वयम् चरित्रहीन स्त्री हुन् ।”