नारायण निरासी युवा पुस्ताका सक्रिय कविप्रतिभा हुन् ।उनको कलम शास्त्रीय लयढाँचाका कविता र बहरबद्ध गजल सिर्जनामा निकै सशक्त ढङ्गले जमेको छ । साहित्यसागरका अघिल्ला शृङ्खलामा उनको परिचय समेटिइसकेको हुँदा यहाँ उनको सारभूत परिचयसहित एउटा कविता प्रस्तुत गरिएको छ । शार्दुलविक्रीडित छन्दमा संरचित आह्वान शीर्षकको प्रस्तुत कविताले राष्ट्रिय चेतनाको स्वर बुलन्द गरेको छ । -सम्पा. |
गर्छन् राज हिरन्यकश्यपुहरू खोसेर हाम्रो हक
माटो बेच्न तयार छन् मुलुकका गद्दार छन् शासक
सक्छन् रुष्ट बनेर बन्दुक यता ताकेर सोझ्याउन
आऊ निस्क सबै जुटी सडकमा नेपाल जोगाउन ।
रोगाई जनता गरे छटपटी सुन्ला र को क्रन्दन रु
कुर्सीको पछि दौडिंदै छ अगुवा उम्लिन्छ तातो खुन
लागौँ शुम्भनिशुम्भका अघि सरी सङ्ग्राममा होमिन
आऊ निस्क सबै जुटी सडकमा नेपाल जोगाउन ।
बाटो खन्छ छिमेकले वर सरी हाम्रो करेसो थुनी
के बस्छौ चुपचाप मालिक तिमी बन्दै खुनी बैगुनी
कालीको लिपुलिम्पिया रगतले थालौँ न रङ्ग्याउन
आऊ निस्क सबै जुटी सडकमा नेपाल जोगाउन ।
पुर्खाको इतिहास छैन हरुवा बन्दै झुकेको शिर
हामी भक्षक बन्दछौँ दशगजा नाघेर आए वर
जङ्गेपिल्लरपट्टि दुस्मन बढे लागौँ न छ्प्काउन
आऊ निस्क सबै जुटी सडकमा नेपाल जोगाउन ।
तिम्रो होइन दाइजो हिमचुली फोरी नझिक्नू हिरा
फाल्नेछौँ घरका धुरी दलिनका पन्छाउँदै माकुरा
थन्केका तरबार बोक खुकुरी साम्राज्य खेदाउन
आऊ निस्क सबै जुटी सडकमा नेपाल जोगाउन ।
होली वाइनमा डुबे शकुनिको लाग्दैन केही भर
बूढा गोरु धपाउँदै नवयुवा नेतृत्व आफै गर
खोसेको अधिकार क्रान्ति नगरी पाइन्न फिर्ता लिन
आऊ निस्क सबै जुटी सडकमा नेपाल जोगाउन ।