मोहन सिटौला अङ्ग्रेजी साहित्यका विद्वान् प्राध्यापक हुन् । उनले नेपाली र अङ्ग्रेजीमा विभिन्न विधाका विभिन्न कृति रचना गरेका छन् । उनको सिर्जनात्मक विधाहरूमध्ये कविता प्रमुख विधा हो । उनकोपरिचय अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी साहित्यसागरका सल्लाहकार पनि हुन् । यहाँ उनको जीवनका याम शीर्षकको कविता समेटिएको छ । यस कविताले जीवनका आयामलाई समेटेको छ । जीवनमा आउने परिवर्तनलाई देखाउँछ । -सम्पा |
(१)
ब्रह्माण्ड सृष्टि सम्पूर्ण परिवर्तनशील छ
मसिना मञ्जरी नाना सारा बढ्छन् बृहत्तर
जीवनी जगका बाला, बृद्ध हुन्छन् त्यसै गरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(२)
कालको क्रम यो गुड्छ चक्रजस्तै निरन्तर
सृष्टिको नियमै चल्छ परिवर्तन खातिर
गतिको नित यात्रामा दृश्य खुल्छन् थरी थरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(३)
चन्चले चक्रको यान नित्य चल्छ अनन्तमा
ससाना फाँटमा छाँट सीप खुल्छन् विभिन्नमा
ममता, सपना, क्रोध मति फेर्छन् परीपरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(४)
जोस, जाँगरको काम, काम प्रेम र शान्तिको
भत्किने खतरा हुन्छ मादमा भ्रम भ्रान्तिको !
प्रवृत्ति घाम छाया झैँ रूप फेर्छ घरी घरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(५)
मया, आनन्द, सम्मान, माता, जनक, बान्धब
बैँस, सम्पनता, जोस, कर्तव्योन्मुखका पद
हुन्नन् पारा सधैँ एकै, साँटिन्छन् स्रोत निर्झरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(६)
वलीदान र सङ्घर्ष, सेवा, संवेदनाहरू
कल्पना, चिन्तना प्यारा, विपना, योजना अरू
त्रासदी बल्न के दिन्थ्यो ? अल्पिल्छन् ती कठैबरी !
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(७)
चक्र हो जीवनी साँच्चै माल्का घुम्दछ पीङ झैँ
रिँगटा झैँ रिँगाए नि, सद्कर्म, भाग्य फूल्दछन्
सत्सङ्ग, पसिना, ध्येय, सद्बुद्धि, शुभ पर्खिई
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(८)
गति हो सृष्टिको नित्य चलायमान कर्मको
मानवी शोध औ बोध,पहिचान्दछ मर्म त्यो
वस्तुस्थिति र दृष्टि नै साँटिन्छन् लय माधुरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(९)
रिस, राग, दया, धर्म विभिन्न राग छन् यहाँ
वैराग, भोग औ भाग अनुराग, विकर्षण
प्रेमाकर्षण वा द्वेष फेरिन्छन् ती सँधैभरि
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१०)
निराला चालका माल सृष्टि पालन गर्दछ
विशाल, सूक्ष्मता भित्र महिमा रूप व्याप्त छ
निरन्तर कतै हुन्न अखण्ड दीपझैँ गरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(११)
अणिमा, लघिमा रूप, गरिमा, महिमामय
अनन्त,अणुका साथ मृन्मयी बीज चिन्मय
नियात्रानन्त गर्दोछ रूप फेर्दै जगत्भरि
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१२)
सत्कर्म सुषमोद्देश्य, पसिना मसिना कणा
छरिन्छन् धरतीमाथि बन्छन् सञ्जीव कामना
फेरिन्छन् रूप सौन्दर्य दृश्य औ भावना भरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१३)
सत्यको रूप आफ्नै छ चाल विचित्र गर्दछ
सतही रूपका भित्र शाश्वत सत्य लुक्दछ
बद्लिन्छन् कार्यका काया, भावका विविधाकृति
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१४)
‘भष्मिभूत..’ भए पश्चात् जुनी फिर्दैन क्यै गरी
कोही भन्छन् पुनर्जन्म दोहोरिन्छ घरीघरी
सन्देह बिघ्न विश्वास दुवै साथ सँधैभरि
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१५)
सम्बन्ध सूत्र साटिन्छन्, सपना, विपनाहरू
विपन्न भाग्य सम्पन्न साटिन्छन् जीवनीहरू
स्थायी नित्य कतै छैन सगरी, स्थल, सागरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१६)
इन्द्रेनीसरिको देह, सोच, कार्य र भावना
सारा साटिन पुग्दाछन् वृत्ति, प्रवृत्ति, कामना
मेरो, तेरो गनी, गुन्दै जुनी जान्छ यसै गरी
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१७)
विद्यार्थी, गुरु, शोधार्थी, तपस्वी, ऋषि औ मुनि
द्रष्टा, स्रष्टा र काव्यार्थी भन्छन् अनित्य जीवनी
ज्ञान, विज्ञान भन्छन् रे ! रूप फेर्छन् सबैथरि
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
(१८)
जन्मको देह जो हुन्छ मृत्युमा त्यो हराउँछ
अर्को जीवनको बाटो आत्माले नै खुलाउँछ
अनन्त क्रम यी चल्ने सृष्टिका सत्य सारथि
मानौँ, जीवनका याम फेरिन्छन् ऋतुका सरी ।
चुहान्डककाडा, आठराई, तेह्रथुम, नेपाल
हाल— अस्टिन् टेक्सस् अमेरिका