धर्म पोखरेल नेपाली साहित्यका कविता विधामा त्यसमा पनि शास्त्रीय लयढाँचाका कविता रचना गर्ने प्रतिभा हुन् । उनका कवितामा तीव्र लयचेतना पाइन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा पोखरेलको छिमेकी शीर्षकको कविता समेटिएको छ । शिखरिणी छन्दमा संरचित यस कविताले छिमेकीका विम्बमा छिमेकी मुलुकलाई सङ्केत गर्दै देशभक्तिको भावना अभिव्यक्त गरेको छ ।
सम्पा. |
छिमेकी यो तिम्रो प्रगतिपथको बाधक छ नि
छिमेकी नै भन्थे म त चुप रहेँ दुष्ट नभनी
हलो, दाँदे, गैँती, मल, बिउ, कुटो, हल्लुँड, जुवा
दिएँ माग्दा आगो, दुध, घिउ, पिठो, चामल, चिया !!१!!
फुके, गाई, भैंसी, नजिक छ उही ल्याउँछ कुरा
खसी, बोका, बाख्रा अवसर मिले चोर्छ कुखुरा
गरा, आँठा, आली खुरुखुरु सिमाना सब मिची
सधैँ आफू हिँड्ने सडक पनि पार्यो किचिमिची !!२!!
लग्यो पेवा पार्यो नद, जल र बत्ती, वन, बुटी
गर्यो नाकाबन्दी मुलुक र बनायो हुटहुटी
खुसीले नाच्दै ऊ छ्मछम गरी मान्दछ मजा
दुख्यो मेरो आफ्नो हृदय तलभित्रै दशगजा !!३!!
म नालापानी या टनकपुर, टिस्टा भनिरहेँ
सिधै आयो खायो सहज `लिपु´ फिस्टा बनिरहेँ
म अल्मोडा, सुस्ता, पशुपतिसँगै चस्चस दुखेँ
र कालापानीको अपहरित माटो लिन चुकेँ !!४!!
दिएकै हो छोरी जनक मनले रामसँग ता
न नाता सम्धीको न त अब रह्यो ज्वाइँ ममता
न मामा भान्जाको न त अब कुनै साहिनु रह्यो
गयो गिर्दै गिर्दै मन नजरमा राक्षस भयो !!५!!
बिरामी आफैँ ऊ सफल बिजुवा डाक्टर उही
बसाई काँधैमा रिससित थचार्ने पनि उही
हितैषी हो मेरो सहन नसकी व्याकुल छु म
झिकूँ वा थन्क्याऊँ टलल खुकुरी भन् समय तँ ? !!६!!
धर्म पोखरेल – ललितपुर