अशेष मल्ल नेपाली साहित्यका बहुविधामा कलच चलाउने प्रतिभा हुन् । उनले नेपाली कविता र नाट्य विधाका विकासमा विशेष योगदान पुर्याएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा मल्लको नाम थाहा छैन भन्छे’ शीर्षकको कविता समेटिएको छ । यस कविताले श्रमशील नारीलाई विम्ब बनाएर नाम पनि थाहा नपाई मिसिन जस्तो खटेर बाँच्ने पात्रका रूपमा चित्रण गरिएको छ । यस कविताले नरी अस्तित्व चेतनाको पक्षपोषण गरेको छ ।
सम्पा. |
घाँसको पहाड पिठ्यूँमा छ
घाम अस्ताउन लागेको छ
र उक्लिरहेकी छे उकालो
नाम सोध्दा ‘थाहा छैन’ भन्छे
परिचय हराएकी
आफैँदेखि टाढा
विनामूल्य जीवन बाँचेकी
को होली ऊ ?
पखेटा फडफडाएर
खोरबाट झिसमिसे झर्दा–नझर्दै
कुचो भएर आँगनभरि बिच्छिने
भर्खर बाह्र नाघेकी
दुलाहा खोज्दै बाबु बेँसी झरेको छ
उकालो चढिरहेकी छे ऊ
जङ्गलका काँडाहरूसँग खेल्दै
फुल्न बिर्सेकी
को होली ऊ ?
चुलो, जङ्गल, कुवा र गोठको स्कुलमा
कसौँडी, गाग्री, घाँस र दाउराका अक्षरहरू पढ्दै
जीवनको परीक्षामा हाम फालेर
सधैँ अनुत्तीर्ण
आफैँलाई बिर्सेकी
थकित
विश्रामहीन यात्रामा हिँडेकी
नाम सोध्दा थाहा छैन भन्छे
को होली ऊ ?