दिनेश अधिकारी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न अङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको विश्वासको यात्रा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राजनीतिक यथार्थको उद्घाटन गरेको छ । -सम्पा. |
निर्वाचनमा
विश्वासको मत प्राप्त गरेपछि
अविश्वासको उसको जीवन- यात्रा शुरु भयो
प्रतिपक्षी माथिको उसको अविश्वास
सत्ताको सिँढी चढ्दै जाँदा
कार्यकर्ता हुँदै
क्रमश:
प्रतिस्पर्धी समकालीन साथी
र, दलका प्रभावशाली नेताहरूमाथि बढ्दै गयो
सत्ताको सबैभन्दा शक्तिशाली आशनमा जब बस्यो उ
ज- जसले काँध दिएर उसलाई त्यहाँ पुर्याए
सबै दाउपेच थाहा भएको कारण
तिनीहरूलाई नै उसले
अविश्वासको पहिलो घेरामा राखेर हेर्न थाल्यो
सुरक्षा खोज्दै जाँदा
कार्यकक्ष बाहिर राख्ने गरेको पहरा
केही दिनपछि नै
हतियार सहित आफ्नो सयन – कक्ष बाहिर पनि उभ्याउन
थाल्यो
छोराछोरीसंग त बिचार नै मिल्दैन
अर्कैकी सन्तान हो स्वास्नी पनि
राती/ रातभरि पनि काममा जुट्नु पर्ने बहानामा
भित्रबाट गजबार लगाएर छुट्टै कोठामा सुत्न थाल्यो
सास फुल्ने समस्याले गाँजेको छ अहिले उसलाई
चिकित्सकहरू माथि पटक्कै विश्वास छैन
उ सोच्दैछ –
कसैले झुक्याएर कुनै दिन कुपथ खान दिएको त थिएन?
होइन भने यो सास
किन उसको ईच्छाको प्रतिकूल भएर आएको छ?
सत्ताको स्वभाव नै शायद यस्तै हो –
हुने भए
आफ्नै सासलाई पनि आफूबाट अलग्याएर
अझै केही दिन
उसले सत्ताको वागडोर सम्हाल्ने थियो !