- लघुकथा
साहित्यसागरका विभिन्न अङ्कमा दिव्य गिरीका लघुकथा र अन्य रचना समेटिएका छन् । उनको परिचय पनि समेटिइसकेको छ । उनको कलम पछिल्लो समय लघुकथा सिर्जनामा निकै सक्रिय छ । प्रस्तुत शृङ्खलामा गिरीको ‘लिपिस्टिक’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले पुरुषका बाध्यात्मक अवस्थाको अलि फरक ढङ्गले प्रस्तुत गरेको छ ।
-सम्पा. |
उनी एक दिन बिराएर जुत्तामा पालिस लगाउन आउँथे । कुनै निजी कार्यालयमा जागिरे थिए सायद । सधैँ नीलो पाइन्ट, कालो जुत्ता अनि सेतो कमिजमा टाई लगाएका हुन्थे ।
जब म उनको जुत्तामा पालिस लगाउन सुरु गर्थें उनी चुरोट सल्काउँथे । उनी मैले दिएको थोत्रो चकटीमा उभिएर चुरोट पिउँथे । जुत्ता पालिस गरेको ज्याला पचास रूपैयाँ भए पनि उनी मलाई केवल चालीस रूपैयाँ मात्र दिन्थे । उनी भन्थे– ‘’महिना दुई महिनामा एक पटक पालिस लगाउनेसँग सय लिए पनि फरक पर्दैन, म त हप्तामा दुई दिन लगाउँछु । चालीस रूपैयाँ दियो नभन्नु होला ।’
नियमित ग्राहकलाई भट्काउने कुरा पनि भएन । अरूहरूको जुत्ता टल्काउन जस्तो मिहिनेत पनि पर्दैनथ्यो । थोरै पालिस र चार पाँच पटक घोटेपछि जुत्ता टल्किहाल्थ्यो ।
एक दिन उनी नवदुलही लिएर आए ।
‘यिनको जुत्ताको हिल हल्लिएछ । हेर्दा नयाँ नै हो तर धेरै पुरानो परेछ क्यारे । मर्मत गर्न मिल्छ नि ?’ उनले भने ।
मैले नवदुलहीको अनुहारमा हेरें । गोरो अनुहारमा रातो लिपिस्टिक निकै चम्किएको थियो ।
तीन महिनापछि उनी आए ।
‘धेरैपछि मात्र आउनु भो’? कतै बाहिर जानु भा’थ्यो कि?’ मैले सोधेँ ।
‘कतै गएको होइन । अब पहिलेको जस्तो हप्तामा दुई पटक जुत्तामा पालिस लगाउने पैसा मसँग छैन । किनभने श्रीमतीले दिनदिनै लगाउने लिपिस्टिक किन्नको निम्ति पैसा जोगाउनु पर्यो नि । आफ्नो जुत्ता मात्र टल्काएर भएन ।’ उनले हाँस्दै भने ।