- कविता
शान्ति सापकोटा (स्याङ्जा, सुपुत्री : झवलाल पराजुली र माता बालकुमारी पराजुली) नेपाली साहित्यकी नवप्रवेशी प्रतिभा भए पनि उनले विविध विधामा सफल ढङ्गले कलम चलाउँदै आएकी छन् । उनका बालसाहित्यका साथै कविता विधा केन्द्रित कृतिहरू प्रकाशित छन् । उनी समकालीन नेपाली कविता परम्परामा उल्लेख्य नारी हस्ताक्षर हुन् । उनको कलम शास्त्रीय लयबद्ध कविताका साथै बाल कविताका क्षेत्रमा पनि निकै सशक्त ढङ्गले चलेको छ । उनका चितुवालाई झ्याइँकुटी (२०७२), नारायणीपारि (२०७३), झ्याउँकिरी र जुनकिरी (२०७४), भुइँचालो (२०७४) जस्ता बालकथाकृति प्रकाशित छन् । उनका हाम्रा चाडपर्वहरू (२०७४), मेरो देश (२०७४) जस्ता बाल सन्दर्भ पुस्तकहरू पनि प्रकाशित छन् । यीनका सिसृक्षा (२०७३) र रहस्य (२०७६) जस्ता कवितासंग्रहहरू प्रकाशित छन् । उनी साङ्गठनिक रूपले पनि साहित्य सेवामा समर्पित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको न्याउली शीर्षकको कविता समेटिएको छ । मालिनी छन्दमा संरचित यस कविताले न्याउलीलाई विम्ब बनाई मानव जीवनका सुखदुखका पक्षलाई उजागर गरेको छ ।
-सम्पा. |
रनवन नकरा हे न्याउली दिक्क मानी
मधुर मधुर बल्ने जिन्दगी दुःख ठानी
प्रकृति पनि यहाँको उत्तिकै तापमा छ
हरबखत धुवाँको रापिलो धापमा छ ।
नजर फगत हेरी बाहिरी रूप चाली
ढलपल दिल पारी आसुरी भाव पाली
युगल युगल जोडी सम्झिँदा दङ्ग पर्छौ
जब वर वर हुन्छौ छुट्टिँदा व्यर्थ मर्छौ ।
सललल बगिजाने जिन्दगी सार हुन्छ
निज बिच बिच झुम्दा शान्तिको द्वार खुल्छ
झररर झरनाको स्वच्छ सङ्गीतभित्र
निकट समयमा नै खुल्दछन् वृत्तचित्र ।
सुख सयल छ साथै चिन्नुमा हुन्छ मज्जा
तन, मनसित कस्दै हिंड्नुमा हुन्छ मज्जा
सगरतिर उकालो लाग्नुमा हुन्छ मज्जा
निजसित छ उजेलो जाग्नुमा हुन्छ मज्जा ।
टहटह गिरिभन्दा माथि चम्किन्छ जून
अह१ मगमग चम्पा लम्किइन् प्रेम प्यून
रविकिरण धरामा आउँछन् प्राण प्यारा
हँसमुख सयपत्री, छन् उसै फूल सारा ।
सतह सतह पौडी खेल्न जानेर हुन्न
निरश निरश आँखा आँसु झारेर हुन्न
कसर मसर फाले अर्थको जिन्दगी हो
कुसुमसरि नहाँसे व्यर्थको जिन्दगी हो ।