- कविता
झाँक्रीखोले आफ्नो पुस्ताका विशिष्ट कवि प्रतिभा हुन् । उनको कलम विविध सिर्जनात्मक विधाका साथै समीक्षाका क्षेत्रमा पनि चलिरहेको छ । साहित्यसागरका अघिल्ला शृङ्खलामा उनको परिचय समेटिइसकेकाले प्रस्तुत शृङ्खलामा उनको ‘जमरा लगाऔँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले दशैँ पर्वका सांस्कृतिक मूल्यबाट देशभक्तिको भावना अभिव्यक्त गरिएको छ ।
-सम्पा. |
दुर्नाम थाम्ने शिर हैन हाम्रो
यो देश हाँक्ने अगुवा नराम्रो
वद्नाम गर्ने गुटबाट भागौँ
टीका लगाऔँ जमरा लगाऔँ ।। १
च्याँखे छ कुर्सी झगडा पियारो
यी धुन्धुकारीसित आँत हार्यो
चाहिन्न दुस्शासन–तन्त्र फालौँ
टीका लगाऔँ जमरा लगाऔँ ।। २
पाटी न साटी जनता नलागौँ
उद्योग सत्कर्म गरेर जागौँ
नेता नचिन्ने मतदान त्यागौँ
टीका लगाऔँ जमरा लगाऔँ ।। ३
कुख्यात नेता घिन गर्न थालौँ
आवास वा गाँस सुधार्न थालौँ
नेपाल निर्माण निमित्त जागौँ
टीका लगाऔँ जमरा लगाऔँ ।। ४
दर्बार हत्या क्रुर चाहिँदैन
लोभी र पापी अघि लाइँदैन
हत्या छिपाए नजिकै नजाऔँ
टीका लगाऔँ जमरा लगाऔँ ।। ५
नौलो उषा छैन सुबाहु गाँस्ने
नेता कुनै छैन हिमाल हाँस्ने
नारा सुनी दिक्क ! कृतघ्न मासौँ
टीका लगाऔँ जमरा लगाऔँ ।। ६