- मुक्तक
रुद्र ज्ञवाली (२०२० असोज १, ग्वादी छ, कोदौली गुल्मी, सुपुत्र: रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवाली ) नेपाली साहित्यका बहुविधामा कलम चलाउने बहुमुखी प्रतिभा हुन् । निजामती सेवमामा आबद्ध ज्ञवाली २०४५ सालको मधुपर्कमा अस्तित्वबोध शीर्षकको लघुकथा प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका ज्ञवालीका निर्वासन (२०५८), विवरुका कथाहरू (२०६६ सह) कथासङ्ग्रहका साथै सपना फुल्ने रातहरू (२०६१) गजलसङ्ग्रह, उन्मुक्त आकाश (२०६६) मुक्तकसङ्ग्रहलगायत कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ज्ञवालीका समसामयिक विषयवस्तुलाई टिप्न सक्ने तीनवटा मुक्तक समेटिएका छन् । यी मुक्तकले क्रमश: मानवीय स्वभाव, स्वअस्तित्व र स्वास्थ्य समस्यालाई केन्द्रमा राखेका छन् ।
-सम्पा. |
१.
मिठो पाए जसले पनि थपीथपी खान्छ देखेकै हो
राम्रो फूल जसले पनि चुँडालेर लैजान्छ देखेकै हो
ङ्याक्ने त कमजोरलाई हो समयले र दुनियाँले पनि
बन्चरोले रुख छान्दा पनि सोझो नै छान्छ देखेकै हो ।
२.
झुकेन, झुकाईँदैन यो ठाडो शिर यत्ति थाहा छ
यसरी त सम्मिँदैन जीवनको भीर यत्ति थाहा छ
आफैसङ्ग बाहेक कत्ति छैन गुनासो कसैसङ्ग पनि
म चाहिएको हुँ फगत मेरै खातिर यत्ति थाहा छ।
३.
सप्तरङ्गी सपना सुनाउनुभयो आभारी छु
बहुअर्थी योजना सुनाउनु भयो आभारी छु
खै कुन्नि किन हो अस्पताल सञ्चालकले पनि
दिर्घायुको कामना सुनाउनु भयो आभारी छु।