- आख्यान
सरस्वती पाण्डे ‘सरस’ (जन्मस्थान : धुनिबेसी –९, धादिङ हाल : चन्द्रागिरि –८, काठमाडौँ) युवा पुस्ताकी सशक्त कथाकार हुन् । उनले कानुनतर्फ एल.एल.बीका साथै नेपाली विषयमा स्नातकोत्तर गरी दर्शनाचार्य तहमा अध्ययनरत छन् । उनको रुचि कथा, कविता लेखन र साहित्यका विभिन्न विधा पठनमा केन्द्रित छ । शिक्षण पेसामा संलग्न सरसको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा पनि परिसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘पिपासु’ शीर्षकको कथा समेटिएको छ । यस कथाले नेपाली समाजमा व्याप्त घरेलु हिंसाको उत्खनन गर्दै त्यसको तीव्र विरोध गरेको छ । सरस स्वयम् कानुनकी विद्यार्थी भएर पनि कानुन वा प्रशासन सम्म पुग्न नसकेका महिला र निमुखाहरूका समस्यालाई आफ्ना कथामा जीवन्त रूपमा प्रस्तुत गर्छिन् ।
-सम्पा. |
तपाईंहरूले मेरो कुरा पत्याउनुहुन्न । त्यसैले मैले लेखेर छोडेकी छु । जसले पढ्छ उसले पक्कै पत्याउँछ ।
मलाई थाहा छ । त्यो गिद्धले बजारभरि गलत हल्ला फिजाउँनेछ । मलाई गाउँले, आफन्त, साथीभाइ साराले थुक्नेछन् । जसले थुक्छ, यो पढ्नेले सुनाएपछि पक्कै विश्वास गर्छ । अनि खुल्छ म नहुनुको रहस्य ।
पर्दाभित्रको मानिसको चरित्र बुझ्न त्यो पर्दा उघार्नुपर्छ । पर्दा उघार्न हिम्मत चाहिन्छ । शरीर बलियो तर मन कमजोर भएकाले त्यो रहस्यमय पर्दा उघार्न त के त्यतापट्टि फर्कनसमेत हिम्मत गर्दैनन् । मैले लाख बाजी त्यो मैलो, धुन नमिल्ने र झिकेर फ्याँक्न पर्ने पर्दा खोलेँ । देख्ने आमा थिइन् । उनले केही गर्न सकिनन् । उनलाई मभन्दा प्यारो भो त्यो मैलो आबरु । त्यसपछि म बाध्य भएँ । यो कदम उठाउन ।
०००
आमा ! तिमीप्रति अथाह प्रेम छ मेरो । एकैछिन भए पनि यो सुन्दर संसार हेर्ने सौभाग्य जो पाएँ । मलाई कोहीसँग धेरै नजिक भएर बोल्ने अनुमति थिएन । त्यसैले म सधैँ स्कुलमा चुपचाप बस्थेँ । मेरो मौनताको कारण बुझ्न कोही आएनन् । अझ त्यो मौनताले ज्ञानीको उपनाम पाएँ । त्यसैले सर, मिसबाट धेरै माया पाएँ । साथीहरूबाट पनि उस्तै माया पाएँ । उनीहरूको माया पाउनुको कारण चाहिँ उनीहरूले सधैँ मेरो गृहकार्य सार्न पाउँथे ।
यी मायाले मलाई मेरो गन्तव्यमा पुग्न रोक्छ कि भन्ने डर पनि छ । आफ्नै छोरी पीडामा पौडी खेलिरहँदा पनि तिमीले कुनै हिम्मत गर्न सकिनौ । त्यो भण्डार कोठामा गएर एक्लै रहिरह्यौ । मलाई लगेकी थियौ भने म पनि सँगै रुन्थेँ नि आमा ! कतै कुनै उपाय पो निस्किन्थ्यो कि । तिम्रो सहनशीलताको म कसरी व्याख्या गरूँ । तिमीलाई परिवार खण्डित हुन्छ भन्ने चिन्ता; मलाई म अब सहन सक्दिनँ भन्ने चिन्ता; मेरो चिन्ता तिम्रोभन्दा अघि चितामा पुग्छ आमा ! अनि त्यो भण्डार कोठामा तिम्रो आँसुको आहाल जम्छ । थाहा छैन त्यो आहालबाट तिमी निस्कन सक्छ्यौ कि सक्दिनौ । माफ गरिदेऊ है आमा ! मभित्र तिमीेजस्तो त्यो मैलो आबरु ओढ्ने क्षमता छैन । मलाई माफ गरिदेऊ ।
०००
मेरी हजुरआमा ! मलाई तपाईंले जति कसले बुझ्छ र ? मेरो दु:खको प्रलेप तपाईं नै हुनुहुन्छ । मेरो नजिक आएर मलाई मुसार्नुहुन्छ । अङ्गालो हालेर रुनुहुन्छ । त्यो राक्षसलाई आँखा तर्नुहुन्छ । आमाको मुख हेर्ने दिन त्यसले दिएको मिठाई तपाईंले आँगनमा पुग्ने गरी हुर्याएपछि मलाई तपाईंप्रति विश्वास भएको थियो । तपाईं नै हो मेरो मन बुझ्ने मान्छे ।
तपाईंले कान सुन्नुभएको भए कस्तो हुन्थ्यो । कान नसुने पनि बोल्न सक्ने भएको भए पनि आज यो दिन आउँदैथ्यो होला । तपाईं बोल्न र सुन्न नसक्नुको फाइदा त्यो पशुले उठायो । तपाईंकै अगाडि त्यो पशुले मलाईं चिथर्यो, टोक्यो, लुछ्यो । तर तपाईंले केही गर्न सक्नुभएन है । पिर नगर्नुस् हजुरी यो सबै हिसाबकिताब भगवानले गर्नेछन् ।
०००
मेरी प्यारी बहिनी ! तिमी जन्मदा सबै दु:खी देखिन्थे । “यत्रा सम्पत्ति छ । मालिक छैन ।” गाउँलेले यसो भन्दा, “हामी के त ?” भन्दै म कराएकी थिएँ । तर मैले तिमीलाई साथ दिन सकिनँ । मलाई माफ गरिदेऊ है ? आमाले चार ओटी बहिनी फालेर डाक्टरले छोरो छ भनेपछि जन्मिएकी हौ तिमी । मभन्दा सात वर्ष कान्छी छ्यौ । म गएपछि त्यो गिद्धले तिमीलाई लुछ्छ होला । कसरी सहन्छ्यौ होला माया । यो पिँजडाबाट फुत्केर अर्को संसारमा जाने एउटै विकल्प छ मेरो । त्यो हो म हुनुको अस्तित्व मेटाउनु । म हुनुको अस्तित्व त्यसको वासना पूरा गर्ने आधार मात्र हो भने म किन हुनु ? मैले लगाउने फ्रकको खल्तीमा यो चिठी राखेर जान्छु । यो फ्रक तिमीलाई असाध्यै मनपर्छ । कहिले ठिक हुन्छ भनेर नापिरहन्छ्यौ । ठिक भएको दिन तिमी यो चिठी खोलेर पढ्न सक्ने हुन्छ्यौ । पढेर सारालाई बुझाइदिनू है मेरी माया ।
तिमीलाई अङ्गालो हालेर पेटभरी सुत्न कहिल्यै पाउँदिन म । आधारातमा त्यो गिद्ध आएर मलाई तिमीबाट छुटाएर आफ्नो प्यास मेट्न थाल्छ । म रुन्छु । आमा नसुनेझैँ गर्छिन् । हजुरी आएर ढोकामा हान्नुहुन्छ । कान नसुने पनि, बोल्न नसके पनि उहाँ मेरो आँखाको भाव बुझेर मेरो वरिपरि घुमिरहनुहुन्छ ।
एकदिन दिउँसै त्यो पापीले उहाँकै अगाडि मलाई रित्याएपछि उहाँको त्यस दिनदेखि रातको समेत निद्रा अलप भएको छ । राति पनि मछेऊ आएर बस्नुहुन्छ । त्यो गिद्ध आएर उहाँलाई बाहिर हुत्याउँछ । अनि मलाई लुछ्न थाल्छ, लुछिरहन्छ । त्यसैले माया म सहन सक्दिनँ अब । मलाई तिमीसँग बसेर धेरै कुरा गर्ने रहर छ । अहिले तिमी बुझ्न सक्दिनौ । बुझ्ने भएपछि यो चिठी भेट्नेछ्यौ ।
०००
गोरी ! के गर्दै छ्यौ ?
ओहो ! दिदी तपाईं कसरी यहाँ ?
के म आउन हुन्न र ?
हुन्छ, एक्कासी आउनुभयो । खबर पनि नगरी ।
भिनाजुलाई हिजो फोन गरेकी थिएँ । भन्नुभएन र ?
त्यो गिद्धले किन भन्थ्यो । म मिन्स भएकोले छट्पट्टिएर हिँडेको छ । हिजो राती आएर मेरो सबै लुगा फुकाल्यो । प्याड सकिएकोले टालो हालेकी थिएँ । मेरो तिघ्राभरि रगत देखेपछि,“भन्न पर्दैन ?” भन्दै उठेर हिँड्यो । म पेट दु:खेकोले रातभरि निदाउन सकिनँ । हजुरीले सकिनसकी तातो पानी र चिनी ल्याएर दिनुभयो । त्यो खाँदा झ्यालबाट उज्यालोले मलाई स्पर्श गरिसकेको थियो । त्यसपछि उठेँ ।
“गोरी ! के भयो ? के सोचेकी ? तँ त छुट्टै भइछेस् । आँखा कति गाडिएको, रातभरी निदाउँदिनस् कि के हो ?” दिदीको प्रश्नले म अवाक् भएँ । दिदी नआएको झन्डै चार वर्ष भएको थियो । म त्यतिखेर मोटी, राम्री थिएँ । गौरी नाम भए पनि गोरी भएकोले सबैले मलाई गोरी नै भनेर बोलाउँछन् । त्यो गिद्धले कोपर्न थालेको पनि तीन वर्ष पुग्न लाग्यो । अनि त मेरो शरीर मेरो रहेन ।
०००
गोरी अघि के लेख्दै थिस् नि ! खै त्यो कापी ?
केही लेखेको छैन दिदी । होमवर्क हो ।
खै त हेरौँ । तेरो अक्षर साह्रै राम्रा लाग्छन् मलाई । मेरो अक्षर त कसैले बुझ्दैन ।
के हेर्नु दिदी अक्षर त्यही त हो नि ।
ले न ले, कि चिठी लेख्दै थिस् । तेरो पाराले त होमवर्क हो भन्दैन त ।
दिदी पनि के के सोच्नुहुन्छ है ।
खै ले कापी नत्र भिनाजुलाई भन्दिन्छु ।
म कापी दिन बाध्य भएँ । दिदी त्यो पानासम्म नपुगे पनि हुने भनेर म हेरिरहेँ । अन्तत: दिदी त्यो पानामा पुगेर अडिनु भयो । “कति राम्रो लेख्छेस् गोरी, तेरो जस्तो अक्षर मेरो भएको भए । म कति खुसी हुन्थेँ ।” “म अर्को कापी दिन्छु । त्यो कापी यता दिनुस् त दिदी ?” म दिदीले भर्खर लेखेको त्यो पानाको अक्षरहरू नपढून् भनेर अर्को कापी झिक्न थालेँ ।
दिदीले मतिर हेर्नुभयो । “के लेखेकी यस्तो ?” म फेरि मौन भएँ । दिदीले पुरै पढ्नुभयो । म दिदीलाई हेरिरहेँ । हजुरी पनि नजिकै आउनुभयो । मेरो लुगा सार्दै राक्षसले दाँत गाडेका छातिका डामहरू देखाउँदै रुन थाल्नुभयो । भान्जी भन्दै आमा पनि आउनुभयो । दिदीको खुट्टामा ढोग्नुभयो । “पत्तै नदिकन आउनुभयो त भान्जी ?” आमाले सोध्नुभयो । “मामा भन्न पनि लाज लाग्न थाल्यो । तपाईंको लोग्नेलाई हिजै भनेकी थिएँ माइजू ! भन्नुभएन र ?” आमाको मुहार कागतीझैँ अमिलो देखियो । “हैन के भयो भान्जी ? किन यसरी बोल्नुभएको ?” आमाले त्यही अमिलो मुहार पारेर सोध्नुभयो ।
०००
“माइजू के पारा हो यस्तो ? गोरीलाई त तपाईंहरूले जिउँदै मार्नुभएछ । हेर्नोस् त गोरीको हालत ?” आमा डाँको छोडेर रुन थाल्नुभयो । “भान्जी म कसरी भनूँ हजुरलाई ? म पलपल मरिरहेछु । मलाई किन काल आएन । आफ्नै छोरीको यस्तो हालत हेर्नुपरेको छ । म कहाँ जाउँ ? कसलाई भनूँ ? घरेलु हिंसा विरुद्धको अभियानमा भाषण गर्दै हिँड्छ । समाजमा उसकै ठूलो नाम छ । ” “कसैलाई भनिस् भने तैले तेरा यी दुवै छोरी देख्न पाउँदिनस् ।” भनेर दिनदिनै मलाई तर्साउँछ । “म ओल्लो घाट न पल्लो तिरको भएकी छु ।
उनी भनिरहिन् ‘छोरीलाई साथ दिउँ भने यही देख्न पाएको अनुहार पनि देख्न पाउँदिन कि भन्ने डर छ । त्यसैले चुपचाप बसेकी छु ।” आमाको आँखाबाट पीडाका आँसु खसिरहेको थियो । “आमा किन रुनु भएको ?” बहिनी पनि रुन थाली । हामी सबै जना एकअर्कालाई हेर्दै केही बेर रोयौँ । हजुरीले मेरोे हात दिदीको हातमा राखिदिनुभयो । उठेर जाओ भन्ने सङ्केत गर्नुभयो ।
साँझको सात बजिसकेको थियो । गिद्ध घरमा मुन्टेको थिएन । आमा खाना बनाउन थाल्नुभयो । बहिनीले के बुझी कुन्नी अध्याँरो मुख लगाएर हजुरीसँग टाँसिइरही ।
०००
“गोरी कसरी सह्यौ ? यति ठुलो पीडा । कति भयो ?
“तीन वर्ष भयो दिदी । सहनुको विकल्प खोज्दै थिएँ । हजुर आउनुभयो ।” दिदीको प्रश्नको उत्तर दिएँ ।
“आफैलाई सिध्याउनु भनेको झन् ठूलो भूल गर्नु हो गोरी । अब तिमी दुर्गा बन्नुपर्छ । त्यो महिसासुरलाई यत्तिकै छोड्नु हुन्न । भोलि पुलिस चौकी जानुपर्छ । अब त म आएकी छु । तिमीलाई न्याय नदिइकन म यहाँबाट कतै जान्नँ ।” दिदीको बोलीमा आक्रोश थियो ।
रातको नौ बज्न लाग्दा पनि त्यो अझै आएको थिएन । “माइजू खाना पस्किनुस् त्यो राक्षसलाई किन पर्खनु ?” आमाले खाना पस्कनुभयो । खाना खान किन सकिन्थ्यो र सबैले जुठो मुख लगायौँ । आमाले म सुत्ने कोठाको भुईँमा ओछ्यान लगाउनुभयो । रातभर कुरा गरेर बस्यौँ । त्यो राक्षसको कुनै अत्तोपत्तो थिएन । दिदी आएको थाहा पाएर मलाई कोपर्न पाउँदिन भनेर नआएको होला भन्ने ठानेँ मैले ।
०००
आँखा झिमिक्क नगरी रात बित्यो । दिदी आएकोमा कता कता मलाई राहत मिलेको अनुभूति भइरहेको थियो ।