- कविता
बन्धु पोख्रेल विविध क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनी अमेरिकामा बसेर नेपाली भाषा र साहित्यको सेवा गरिरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘सत्तान्ध’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राजनीतिक विसङ्गतिका साथै सत्ता स्वार्थको भण्डाफोर गरेको छ ।
-सम्पा. |
देख्दैन सत्ताले
देशको सीमा मिचिएको
थाहा पाउँदैन सत्ताले
विदेशीबाट आफू थिचिएको,
रुन्छ यस्तो देखेर स्वाभिमानी देशभक्त
जति रोए पनि
सत्ताले देख्दैन
सत्ता अन्धो हुन्छ ।
नेतृत्वलाई सधैँ
टाँसिइरहन मन लाग्छ सत्तामा,
स्वार्थी नेतृत्व लिप्त रहन्छ
कमिसन र भत्तामा,
कृतिम अभाव गराइन्छ
महँगीले आकाश छुन्छ,
यो सबै सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
सत्तामा पुगेपछि
हरेकले ठान्छ आफूलाई दक्ष,
इमान्दार कार्यकर्तालाई
उही सम्झन्छ प्रतिपक्ष,
पार्टीको अधोगति देखेर
कार्यकर्ता थाप्लो ठोकेर रुन्छ,
सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
सत्ता मख्ख पर्छ
प्रशंसाका गीत र रोधीमा
स्वाभिमानी आफ्नैलाई
गन्न थाल्छ बिरोधीमा,
स्वार्थीले लोभ देखाएर
लाभ लिने तानाबाना बुन्छ,
सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
जन हितका सुझाव बिरुद्ध
खेल्न थाल्छ जुहारी,
पदमा ल्याउँछ धुपौरे
प्रेमिका, श्रीमती वा बुहारी,
भ्रष्टाचार गर्न उक्साउँने
हरदिन आफ्नो लाभ गुन्छ,
सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
युवाले परदेशमा बगाएको पसिना
देख्छ मूल्यविना
देशभित्रै रोजगारीका कुरा
ठान्छ झिना मसिना,
सच्चा नागरिक परदेशमा
रातदिन देश सम्झेर रुन्छ,
सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
बुझ्दैन पीडा
बाकसमा फर्किनेका परिवारको
गणना गर्छ
झिटीगुन्टामा लगाउने भन्सारको
युवा सन्तान परदेशमा रुन्छ
वृद्ध बुबा घरदेशमा रुन्छ,
आँसु सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
जत्ति लुटे पनि हुँदैन
कहिले सत्तासीन तृप्त,
बेथितिले वौद्धिक जगत्
स्वयम् हुन जान्छ विक्षिप्त,
भ्रष्ट र लुटेरा हाइहाइ हुन्छ
बौद्धिक जगत् उपेक्षित हुन्छ,
यो उपेक्षा सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
हिस्सा पाए पुग्छ कर्मचारीलाई
जे गर्न पनि छुट
सत्तासिनसँगको साझेदारीमा
गर्न मिल्छ ब्रह्मलुट,
स्वाभिमानी कर्मचारी
परिवार पाल्न नसकेर रुन्छ,
सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।
सत्ता मात्र देख्छ
वरिपरी बसेर गाउने गाइने
सत्ता मात्र सुन्छ
वरिपरी बजेको स्तुतीगान,
सत्तालाई हुन्छ जनता
आफ्नै पक्षमा भएको भान,
देशभक्त नागरिक
देशको बेहाल देखेर रुन्छ,
सत्ताले देख्दैन,
सत्ता अन्धो हुन्छ ।