- कविता
डा. अमर गिरी (२०१७ भाद्र २७, दाङको घोराही उपमहानगरपालिका–२, निमुरिया) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम सिर्जना र समीक्षाका दुवै आयाममा सन्तुलित ढङ्गले चलिरहेको छ । उनी सिर्जनातर्फ मूलतः कवि प्रतिभा हुन् । कविताबाहेक समीक्षा र सौन्दर्यशास्त्रमा पनि उनको रुचि देखिन्छ । २०३१ सालमा बनारसबाट प्रकाशित हुने सन्देश पत्रिकामा ‘आमा’ शीर्षकको कविता प्रकाशित गरी नेपाली साहित्यमा औपचारिक सिर्जना यात्राको थालनी गरेका गिरीका हालसम्म घाम छेक्ने पहाड (२०५५), तर पनि हामी जीवितै छौं (२०६४), दुःसाध्य समय (२०६४), शब्दहरूको बिचमा (२०७१), समय संवाद (२०७३) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित भएका छन् । यिनका ‘समय, समाज र संस्कृति’, ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ र ‘भूमण्डलीकरण र साहित्य’ जस्ता समीक्षात्मक कृतिहरू पनि प्रकाशित छन् । उनी प्रगतिशील संस्कृति निर्माण र प्रगतिवादी सांस्कृतिक आन्दोलनका अग्रणी पनि हुन् । उनका काव्य, समालोचना र सौन्दर्यशास्त्रका दुई दर्जन कृतिहरू प्रकाशित छन् । झन्डै चार दशकदेखि पत्रकारिताका क्षेत्रमा र प्राध्यापन क्षेत्रमा क्रियाशील रहँदै आएका गिरी विभिन्न साहित्यिक र सांस्कृतिक संघसंस्थाहरूमा सम्बद्ध छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा गिरीको ‘कहाँ हेरौँ’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा मुलुकमा परिवर्तन आएर पनि लक्षित वर्ग र समुदाय लाभान्वित हुन नसकेको यथार्थ निकै विम्बात्मक रूपमा अभिव्यक्त छ ।
-सम्पा. |
एउटा छेउमा पुरानो खाट
भित्तामा झुण्ड्याइएका
केही पुराना तस्बिरहरू
एउटा सानो दराज र सन्दुस
केही भाँडाकुँडा
एउटा सानो गृहस्थी
सबै अटाएको छ यसमा
यही एउटा कोठा
हाम्रो सम्पूर्ण जिन्दगी ।
यही कोठामा
हामी एक–अर्कालाई प्रेम गर्छौं
जीवनका सुख–दुखलाई बाँड्छौँ
यही कोठामा
भोलिको सपना साँचेर
वर्तमानको पीडालाई बिर्सन खोज्छौँ
बेरोजगारी र महङ्गीले
थलिएको हाम्रो शरीर
हाम्रो मन
भोलि त यसो नहोला कि भनेर
हलुङ्गो हुने प्रयत्न गर्छौँ।
हामी बैँसालु छौँ
तर हाम्रो बैँस
अलि पहिल्यै निख्रिसक्यो भन्दा हुन्छ
हाम्रा कण्ठहरू
बैँसका गीतहरू गाउन सक्दैनन्
हाम्रा खुट्टामा
बैँसको गति छैन
हाम्रो बोलीमा
बैँसको प्रवाह छैन
बैँसको ओज छैन हाम्रा हातहरूमा
कति चाँडै मरिसक्यो
हाम्रो बैँस
कति चाँडै मरिसके
हाम्रा रहरहरू
कति चाँडै बुढा भइसक्यौँ
अचम्म लाग्छ आफैँलाई
अचम्म लाग्छ
गरिबीले
कति चाँडै बूढो बनाउँदो रहेछ मानिसलाई
र भित्र भित्र दुःखको
नदी बग्न सुरु गर्छ ।
जीवनको यो तस्बिर माझ
कोही हामीलाई
शिक्षकले झैं बुझाउन खोज्छ
लोकतन्त्र के हो
संविधान के हो
बुझाउन खोज्छ
हामीले प्राप्त गरेका
उपलब्धिहरू के हुन्
तर हामी कसरी बुझौँ यी सबै
कहाँ हेरौँ–
आफ्नै जीवनमा
वा आफू जस्तै
अरूको जीवनमा
कहाँ हेरौँ ?
हामीलाई यी सबै
हाम्रो जिन्दगीमाथिका
मजाक जस्ता लाग्छन्
जसले हामीलाई गिज्याउँछन्
र हाम्रा घाउहरूलाई
अझ गहिरा बनाउँछन् ।