- कविता
भावकेशर बराल युवा पुस्ताका कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको श्रीमानको फैसला शीर्षकको कविता समेटिएको छ । यस कविताले न्यायिक विसङ्गतिको विरोध गरेको छ ।
-सम्पा. |
श्रीमान् !
किर्ते मिसिल खडा गरी
मेरो निष्पक्ष पक्षका विरूद्धमा
विधानका धारा र उपधारा खुलाउँदै
जालसाजीपूर्वक अभियोजन गरिएको हो अभियोगपत्र
तसर्थ म विनम्र निवेदन गर्छु
विधानका ऐजन ऐजन धाराउपधारा आकर्षित हुनुपूर्व
यो मुद्दा बदरभागी छ श्रीमान् ।
श्रीमान् !
मेरो पक्ष मुद्दाको एउटा पक्ष मात्र होइन
यो विधानको सर्वाेच्च रक्षक पनि हो
जुन विधानको शपथ खाएर
यतिबेला हामी उत्रिएका छौँ बहसपैरवीमा
जुन विधानको शपथ खाएर
श्रीमान्ले तामेली गरिराख्नुभएको छ आदेश
र, जुन विधानको हवाला दिएर
अविच्छिन्न चलिरहेको छ यो देश
सोही विधानका जन्मदातालाई प्रतिवादी बनाएर
कसरी चल्न सक्छ खुल्ला इजलासभित्र सुनुवाइ ?
स्मरण रहोस् स्वीकार छैन मेरो पक्षलाई
तसर्थ म नम्रतापूर्वक जिकिर गर्छु
अदालतबाट कुनै बेरीतको आदेश हुनुपूर्व
विपरीत परमादेश जारी होस् श्रीमान् ।
श्रीमान् !
म स्मरण गराउन चाहन्छु
यही पक्षको वारिस भएर इजलास पस्नुभएको त्यो दिन
चाहे अदालतभित्र घुसेको होस् राजनीति
अथवा राजनीतिभित्रै पसेको होस् अदालत
अकारण बकबक गर्दै छन् एमिकस क्युरी
र, विबन्धनको तघारो हाल्दै छन् अधिवक्ताहरू
मेरो प्रश्न छ यस सम्मानित जुरीसमक्ष
इजलास प्रवेशपूर्व किन दरपीठ गरिएन यो रिट ?
अदालतलाई न्यायिक जानकारी हुनुपर्ने हो
कानुनी र तथ्यगत प्रश्नको बन्दी बनेर
नजाने कुन नजिर स्थापित गर्न खोज्दै छ इजलास ?
तसर्थ म विनयपूर्वक जिरह गर्छु
इजलासबाट प्रतिकूल न्यायको सम्पादन हुनुपूर्व
प्रतिलिपि पुनरावलोकन होस् श्रीमान् ।
श्रीमान् !
शक्तिको पृथकीकरण र सन्तुलन नै खल्बलिने गरी
विपक्षलाई मेरो पक्षका विरूद्धमा
न्याय खोज्ने हकदैया प्राप्त हुने छैन
किनकि मेरो पक्ष मुद्दाको एउटा पक्ष मात्र होइन
यो विधानको सर्वोच्च रक्षक पनि हो
यतिबेला इजलासकै फैसलामा अडिएको छ भविष्य
तसर्थ म शिष्टतापूर्वक सावधान गर्छु
सडक तपाईँ न्यायमूर्तिको प्रतिरोधमा जल्नुपूर्व
पूर्णपाठ सदर गरियोस् श्रीमान् ।