- कविता
डा. अमर गिरी नेपाली साहित्यका सिर्जना र समीक्षाका दुवै क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनी सिर्जनातर्फ मूल्तः कवि प्रतिभाका रूपमा सुपरिचित छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एकान्त शीर्षकको कविता समेटिएको छ ।
-सम्पा. |
जब सबै सौन्दर्य
सकिएजस्तो लाग्न थाल्छ जीवनको
जब हजारौँ प्रश्नहरू उठ्छन् मनमा
र टाउको
रोटेपिङ झैँ
फनफनी घुम्न थाल्छ
जब हाहाकार सुरु हुन्छ हृदयमा
जब दुख्छु बेस्सरी
र रुन मन लाग्छ ।
जब मन लाग्छ
आफैसँग संवाद गर्न
म फर्कन्छु एकान्ततिर
फर्किएझैँ चराहरू साँझमा
आ–आफ्ना बासस्थानतिर ।