- कविता
खोलाघरे साहिँलो नेपाली साहित्यका सिर्जना, अन्वेषण, समीक्षण र सङ्गठनका बहुआयामबाट नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘सन्तान थरी थरीका शीर्षकको स्रग्धरा छन्दमा संरचित कविता समेटिएको छ । यस कविताले नेपाली राजनीतिक वृत्तका बहुमुखी चरित्र उजागर गरिएको छ ।
-सम्पा. |
मूर्ती चोर्ने कुनै छन्,अतिशय धनले पूर्ण नै छन् तथापि
तृष्णाले गाँजिएको मन अझ तिनको बन्छ लोभी र पापी
थुप्राका माथि थुप्रो जतिजति थपियोस्,थप्न नै खोज्छ फेरि
मर्दा के साथ जाला क्षणिक छ दुनियाँ यत्ति हेर्दै नहेरी ।
कोही छन् राज्य ठग्ने कल छल बलले शक्तिमा जम्न खोज्ने
खप्तै दुर्नाम भारी ,अपयश र घृणा शासकै बन्न रोज्ने
कोही बन्छन् सुराकी गुपचुप रहँदै रच्दछन् ती वितण्डा
मिल्छन् पार्दै बहाना सहजसित मिले अंश वा भागबण्डा ।
हत्या गर्ने हजारौं जन अति निमुखा, भद्र निर्दोषलाई
ती हत्यारा सबै छन्, डटफट छ बडो शानमा छन् रमाई
सर्वेसर्वा हुने ता जति पनि कलुषी, भ्रष्ट वा तुच्छ नै छन्
यस्तैका तुच्छताले पतनतिर गई देश डुब्दो छ झन् झन् ।
बिक्छन् सामान्य मान्छे घरिघरि सहजै भोटका लागि बिक्छन्
बिक्छन् नेता र मन्त्री कमिशन र कुनै गूटका लागि बिक्छन्
बिक्छन् खोला र नाला, जमिन, जन, चुरे स्वार्थका लागि बिक्छन्
धेरै के भन्नुपर्ला छलसँग विधि वा न्याय औ नीति बिक्छन् ।
आफ्ना चल्लाहरूको युगयुग खिचलो यो कतिञ्जेल चल्ला ?
चल्ला छन् चोर, चम्चे, चतुर–तर छुचा, चल्छ दुर्नाम, हल्ला
यी चल्लाले गरेको चिउचिउ पिरलो, कष्ट हट्नेछ केले
भन्छिन् नेपाल आमा हरसमय दु:खी, देख्छ खोलाघरेले !