- आख्यान
पुण्य खरेलको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा परिसकेको छ । उनी आफ्नो समयका विशिष्ट स्रष्टा एवम् साहित्यसञ्चारकर्मीका साथै कुशल सङ्गठक पनि हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘वैतर्नी’ शीर्षकको कथा समेटिएको छ । यस कथाले नेपाली सामाजिक समस्यालाई निकै जीवन्त रूपमा प्रगतिशील चेतनाका साथ उजागर गरेको छ ।
– सम्पा. |
कृपानन्दलाई अति नै बुढो भएको बाबुको काज–क्रिया आफूले गर्न नपाइने हो कि भन्ने शङ्काको समाधान भैदियो । साठी वर्षको उमेरमा उसले जुँगादारी सफाचट पारेर ठुँडुलै र मुडुलै भएर बाबुको क्रिया गर्न पायो । आमा त बीस–बाइस वर्ष पहिला नै बितेकी हुन् । असी वर्षको बुढो भैकन पनि स्वास्थ्य आफ्नो भन्दा तन्दुरुस्त देख्ता ‘कतै बाबुले आफ्नो शोकले पो रुनु पर्ने हो कि ! उल्टो पो हुने हो कि !’ भनेर कहिलेकाहीं ऊ ‘सुल्टै होइ देओस् ! पितृ तरन–तारन गरेर नै मर्न पाउँ !’ भन्ने कल्पनामा डुब्थ्यो । भाइमध्येको जेठो कृपानन्दले बाबु–आमाको क्रिया खर्च भनेर अरु भाइहरूको भागबाट उसबेलाकै दश हजार कम्पनी रूपैयाँ छुट्याएको थियो । आमाको काजक्रिया राम्ररी नै गरिएको भए पनि कति दान दक्षिणा बाबु मरेपछि मात्र हुन पाउने नियमले उसले दान गर्न हात बाँध्नु परेको थियो । यसपाला त क्रियाकाजको खलै उठ्ने, मैजारो हुने पल्ट । आफ्नो पनि उमेरले एक किसिम घरले जा–जा वनले आइज–आइज भन्ने बेला भैसकेकै हो । त्यसैले बाबुको क्रिया गर्नु के थियो र ! छोराछोरीलाई आफ्नो क्रिया यसरी गराउनू भनेर देखाउनु थियो । त्यसैले उसले मुठ्ठी खोलेर क्रिया सुरु गरेको थियो ।
वैतर्नीकै दिन दुई वर्षे राम्रो–न–राम्रो रिट्ठाको गेडो जस्तो चिल्लो, बेलको गेडो जस्तो बलियो, वैतर्नी नदीमा भेलै आएको भए पनि तार्न सक्ने कैली बाछी उसले दान गर्यो । यसरी सुरु गरेको दानको कार्यमा उसका छोराहरू भने घाँटीमा हाड झैं भएर अड्किन खोजे, तर उसले छोराहरूलाई हप्कायो– “छोरा जन्माको, हुर्काको यति परत्रका लेखी हो ! हेर नाथु हो ! सुपुत्रले जति हो गर्नु पर्ने पितृको तरन–तारनको काम हो । त्यसदेखि पर्तिर केही छैन । तिमरु, पछि मेरो क्रिया गर्दा रम्ररी गरिदेउला भन्या त यस्ता कुरामा पनि बाधा हाल्छौ ?”
यसरी छोराहरूको मुख जबर्जस्ती थुन्दै ओर्दै उसले शैया दान गर्यो, भू–दान गर्यो, आफूसमानको सून दान गर्यो, साँढे–साँढी छोड्यो । उसको ल्याकतभन्दा धेर दान गर्यो । तेरौंका दिन उसले निकै जना बाहुनहरूको मुख उज्यालो पारिदियो । चेलीबेटी, ज्वाइँचेला, भाञ्जाभाञ्जी सबै एक–न–एक थोक पाएर फ्रफुल्लित भए । वर्ष दिन क्रिया बार्ने र एकुतिष्टीदेखि मात्र फुकाउने गरी उसले धेरै वारना गर्ने पर्यो । अचेल ऊ कसैका घरमा जाँदा खाटमा, कुर्सीमा, टुलमा बस्तैन । भैंमा बस्छ । कसैका घरमा पानीसम्म खाँदैन । स्वयंपाक्य खान्छ । गाडीमा यात्रा गर्दैन । जुत्ता लगाएको छैन । छोपो ओडेको छ । एकसरो सेतो कमेज र सुरुवालमा उसले तीन सय पैंसठ्ठी दिन कटाउने निधो गरेको छ ।
ठुलै काम नपरी यो अप्ठ्यारो बेलामा कतै नजाने उसको विचारलाई जित्ने काम आइलाग्यो उसलाई । घामको दिन । छाता–जुत्ता उसले वर्ष दिनको लागि थान्को लगाएको छ । पानी नै नपरी घुम बोकेर हिड्ने कुरा पनि भएन । फेरि पानी त हैन, घाम नै लाग्ने छाँटले उसलाई अलिक खुसी पारेको छ । त्यसैले कमेज र सुरुवाल भिरेर उसले घरबुढीलाई भन्यो– “ए ठुलीकी आमा ! म चाक्सीबोटेकाँ पुगेर आउँछु । बेलुका कतिबेला हुन्छ ? गाईलाई बाछो–साछो लाउन ओर्न लाउनू है ! म कतिबेला आइपुग्छु !”
“किन ?” बुढी आमैले नकारात्मक जिज्ञासा राखिन्, “के पर्यो नि त्यस्तो फेरि नगई नहुने यस्ता भदौका घामका बेलामा ? छाता न जुत्ता ! ज्यानै दिनुपर्ने के काम परेको छ र त्यस्तो ?”
“जाइ दिउँला भनिहालें । भनेपछि थाप्लामा आइलागि हाल्यो । आफैं बोलेको कुरा आफैं कसरी उल्लङ्घन गर्नु र फेरि !” भन्दैभन्दै कृपानन्द बाटो लाग्यो । साउन–भदौका घाम, व्याख्या गर्नै पर्दैन, विशेषण लगाउनै पर्दैन । त्यसमाथि आज घामले यस्सो एकैछिन् धोतीसम्म लगाएनन् । कृपानन्द न छाता न जुत्ता धारो र कुवाको पानीले छाती चिस्याउँदै हिंड्न छोडेन । मुडुलो टाउको घामले कुन दिनको रिस फेरे जतिकै गरे ।
दुबैपट्टि रहरीका अग्ला बोटले ढाकेको बाटामा, घामले हपक्क टिपिहाल्ला झैं भएको बोलमा, कृपानन्दले टाउकामा बाँधेको टालाले पसिना पुछ्यो र फेरि त्यो टालो तालुमा राख्यो । यस्तै बेलामा कसैले गोरु कुटाइ “स्वाँठ्–स्वाँठ् !” कुटेको आवाज उसका कानमा पर्यो । उसका कान ठाडाठाडा भए । सुन्यो– “पित्र बसाहा ! … वैतर्नी साँढे ! … स्वाँठ्–स्वाँठ् ! … बज्याको वैतर्नी !! स्वाँठ्–स्वाँठ् !! … लुखा ! लुखा ! खाइस् पितृ ! … बज्याको वैतर्नी ! मर् ! मर् ! मरिस् ? …” कृपानन्दलाई स्वर चिनेको जस्तो पनि लाग्यो । तर एकिन गर्न उसले सकेन ।
हिंड्दाहिंड्दै अलिक अगाडि रहरबारीका माझमा उसका आँखा परे । उसैले वैतर्नी दान गरेको बाछी अरु दुई वटा बाछीसँग खतिवडा पुरोहित पो लड्डी गर्दैछन् । मक्किई सकेका सत्र गाँठा भएका पगाहाहरूमा आफ्नो धोतीसोती, खुट्टा अल्झाएर कताको जिली न कताको गाँठी भएका छन् पुरेत बाजे । कृपानन्दले वैतर्नी दान गरेको कैली कोरली अगाडिका घुँडा र टाउको भुईँमा पसारेर आँखा फुस्रा पारेको छ । जीउभरि सुम्लैसुम्ला छन् । दान गर्दाको त्यस्तो लालगेडी जस्तो बाछी रूपी भुत्ल्याएको जस्तो भएको छ । तीन वटा डोरी एकै हातमा समातेका पुरेत बाजे बाछा तान्न खोज्छन् एकातिर, तर्सिएका बाछा भाग्न खोज्छन् अर्कातिर । कृपानन्द उनका छेउमा आइपुगेको भेउ पुरेत बाजेले पाएकै थिएनन् । फेरि लाठी बर्षाउन थाले पसारिएका बाछीमाथि । ‘स्वाँठ् ! स्वाँठ् ! … मर् ! बज्याको वैतर्नी ! बरु ढुक्क त हुन्छ ! बुढो गोरु मर्यो भकारो खनियो ! पितृ साँढे ! स्वाँठ् ! स्वाँठ् … मर् !”
बाछी पुरै भुइँमा पसारियो । सुम्लाले बाछी बिरूप देखियो । कृपानन्दको मुटु काटियो । अब धैर्य थामिरहन सकेन । उसले मुख फोर्यो– “होइन पुरेत बाजे ! यो केको बिजोक देखा’को ? एउटाएउटा गरेर लैजाँदा त यो बिजोक हुने थिएन नि ! खोइ यी बाछीलाई पशु हुन् भनेर जानेको तपाईंले ? तपाईं त त्यत्रो पढेको पण्डित मान्छे ! छक्क पर्नु ! …” कृपानन्दले ठाठाडै जस्तै भन्यो ।
“अझै पुगको छैन यी बज्याआ वैतर्नीहरूलाई ! मार्नुपर्ने वैतर्नी साँढे !” पुरेतको बाछामाथिको रिस टाकुराबाट ओर्लिएकै थिएन ।
आफैंले वैतर्नी दान गरेको बाछीलाई एक पल्ट होइन, दुई पल्ट होइन, शब्दैपिच्छे त्यसरी ‘बज्याको वैतर्नी’ भन्दै गाली गर्दा कृपानन्द रिसले आगो भयो र भन्यो– “राम्रै दान थाप्ने बेलामा त आफ्नै बाबुआमाको शोक बोक्या झैं कालो–नीलो हुन्छौ । आफैंले पाउन अनेकन निहुँ गर्छौ । एउटा रिजाल राती पितृ झैं गर्दै “मोहोर मोहोर मलामीलाई सैया रिजाललाई !” भन्दै क्रियापुत्रीहरूलाई सुनाउँथ्यो अरे । पाइ सकेपछि चाहिं यो के तमासा हो ! अनेक–अनेक गरुढ र सरुढ सुनाएर, धर्म र कर्म सुनाएर मान्छे नाङ्गो पार्छौ । मान्छेको झिटीझाम्टी सोहोरेर अनि यो आफलताफल !” यति भन्दै गएर डोरी खुस्काएर त्यो बाछीको डोरी आफ्नो हातमा लियो र सोध्यो– “खोइ ! यसलाई कहाँ बाँध्ने ?”
पुरेत बाजेले अलिक तल बाछा बाँध्ने खुल्ला ठाउँ देखाए । बाछा डोर्याएर अलिक तलतिर पुगेपछि पो कृपानन्द तीन छक्क परे । एक दर्जन जति बाछीहरू कोही हाड र छाला भैसकेका, कोही छेरेर पुच्छरको भाग पुरै रयालिएको गोबरमा डुबेका, कोही ढल्न आँटेका छन् भने अर्कातिर अझै आठ–दश वटा माऊ गाईहरू कोही लैना, कोही बकेर्ना, कोही थारा, कोही बाछा पाउन आँटेका जस्तो बिस्याहारका वस्तु देखिन्छन् । कृपानन्दले वैतर्नी नदी त यही पो होला कि झैं ठान्यो । उसका मनमा लाग्यो– “अघाएको बाहुनलाई चिनी तीतो” भनेको यही हो । त्यस्तो राम्रो आँखाको लालगेडी दिएको त यस्तो पारेको छ, बिजोक ! मताने जेठालाई झलक्क सम्झ्यो । कस्तो ढिपी गरेको थियो– ‘म पनि उक्सिन्छु, तिमीलाई पनि हुन्छ’ भन्थ्यो । मनमा लाग्यो– ‘यस टपरेलाई दिएर हेर ! आफैले दिएको आफैंलाई कस्तो सराप !!’
बाछो एकाछेउमा लगेर खुटिदियो र यसो सुम्सुम्याएर हेर्यो । बाछाले पनि कृपानन्दलाई चिने झैं गरेर हेर्यो र पोल लगाए झैं गर्यो । उसका आँखाबाट झरेका आँसुले गह लछ्याप्रै भिजेका थिए । कृपानन्दको मुटु कुँडियो । उसलाई बाछीले दुःख पोखे झैं लाग्यो । मानौं ऊ– “तिम्रो बाबुलाई स्वर्ग पुर्याउन दिनहुँ सैयौं कोर्रा खाइरहेछु, दिनहुँ छाला उक्किइ रहेछन् । कहिले यस नरकबाट मुक्ति पाइएला ? थाहा छैन । मान्छेले काटेर दिएको घाँसको न्यास्रो लागेको छ ।” भन्दै छ । कृपानन्दका आँखाबाट एक्कासि आँसु बरर्र झरे । उसले कवोल गर्यो– ‘आइन्दा पुरेतलाई म एउटै बाछो पनि दान गर्ने छुइन ।’
घामले टाउको तातेर अर्कातिर उसको होसहवास उड्न आँटेको थियो । अझ उसले चाक्सीबोटे कहाँ पुगीवरी फर्केर घर पुग्नु थियो । उसले आँसु पुछ्तै पाइला छिटछिटो उठायो । यही बेला उदाङ्गिएको लाज पचाउन पुरेत बाजे बोले– “कतातिर नि जेठा बा ? कहिल्यै नआउने मान्छे ! फेरि सारै हतार छ जस्तो गर्नु भयो नि !”
“हतारै छ, पुरेत बाजे ! त्यहीं चाक्सीबोटेकहाँ पुगौं भनेर ! फेरि घर नपुगी हुँदैन ! आफूले सबै कुरा वारना गरेको तपाईंलाई थाहै छ !” कृपानन्दले रिस चपाउँदै बोल्यो र भन्दैभन्दै अलि टाढा पनि पुगिसक्यो ।
कृपानन्दको आँखामा बाछाको त्यो अवस्था भूत भएर पस्यो । उसका छोराहरू दान र धर्मको विरोध गर्दै के–के भन्थे । “बाहुनलाई दिएर काहीं मरेको मान्छेले पाउँछ ?” भन्थे । “बरु गरिबलाई दिनू नि ’” भन्थे । आज उसलाई पनि बरु छोराहरू नै ठीक भन्दा रहेछन् कि झैं लाग्यो