- लघुकथा
त्रिलोचन ढकाल नेपाली राजनीति र साहित्यमा परिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी पछिल्लो समय बाक्लै लघुकथा सिर्जना गरिरहेका छन् । प्रस्तुत शृङ्खलमा ढकालको नटबोल्ट शीर्षकको कथा प्रस्तुत गरिएको छ । यस कथामा नेपाली राजनीतिको पछिल्लो झाँकी प्रस्तुत गरिएको छ ।
-सम्पा. |
जङ्गलको राजाले भाषण गर्दै थिए । जनावरहरूलाई धेरै उखानटुक्का सुनाए । जङ्गल तालीको गडगडाहटले गुञ्जयमान भयो । उनले आफूलाई आलोचना गर्ने मित्रहरूलाई उडाउन पनि छोडेका थिएनन् । उनीसँग त्यस्तै सुहाउँने खालका गाउँखाने कथाहरूको पनि कमी थिएन । तालीले फेरी हल्लिएको थियो परिवेश ।
उनको घोषणा सकिएपछि भुइँबाट प्रश्न उठ्यो ।
‘ती दुई स्यालले त तपाईंलाई सत्ताच्युत गर्ने भनेका छन् । तपाई के गर्नुहुन्छ ?’
‘ती दुई स्याल ? दुईओटा नटबोल्ट खस्तैमा जेट विमानको उडान रोकिँदैन । त्यस्ता खिया लागेका नटबोल्ट खसे खसुन् ।’
उनका मुख्य सल्लाहकार फोनमा कुरा गरिरहेका थिए । सायद जङ्गलभन्दा बाहिर सम्पर्क गरेका होलान् । फोन गरिसकेपछि उनले नेताका कानमा मुख जोडेर सबैले सुन्नेगरी भने– ‘दुईओटा नट-बोल्ट खसेपछि जेट विमान दुर्घटनामा परिसक्यो रे । ह्वारह्वार्ति आगो बलिरहेको छ रे ! तिनै दुईओटा नट-बोल्ट हल्लेपछि दुईओटा हेलिकप्टर खसिसके रे । अरू दुई ओटा पनि आकाशमा ढुनमुनाउँदै छन् रे ।’
सुन्नेहरू अलमल्ल परे ।
आनन्दआश्रम, स्याङ्जा