- कविता
खोलाघरे साहिँलोको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी गद्य र पद्य दुवै लयढाँचामा सफल कविता सिर्जना गर्न सक्ने प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘दर’ शीर्षकको कविता समेटिएको छ । अनुष्टुप छन्दमा संरचित यस कवितामा तीजको दरलाई आलम्बन बनाएर समकालीन राजनीतिक विसङ्गतिमाथि तीव्र व्यङ्ग्य गरिएको छ ।
– सम्पा. |
दर भाउ नमिल्नाले मिल्दैनन् सब बाँदर
झुण्डझुण्ड बनेका छन् दर–का–दर बाँदर
दर–मा–दर मिल्नाले मिल्नेछन् नव बाँदर
एउटै दरका हुन्छन् मिलेमा सब बाँदर ।
दरपीठ भएको नै एम्सीसी जालको दर
चार वर्षे भयो टुङ्गो छैन सद्दर बद्दर
भदौरे जलझैँ वर्षे डलरे दर दर्दर
दर बाँदरको मिल्छ हुनेछ अनि सद्दर ।
कालीगण्डकीमा फल्ने,पाक्ने डलरको दर
हन्तकालीहरूलाई बन्छ अमृतझैँ दर
ठुला साना सबै एकै दरका पार्न बाँदर
अविलम्ब उताबाट आउलान् गडफादर
गडफादरले तोक्छन् सबै बाँदरको दर ।
बन्लान् मखमली झट्ट छोडी खद्दर बाँदर
छलीले छालीले भर्छन् आफ्नो उदरको दर
चर्चा, हल्ला ठूलो गर्छ बिचरो तीजको दर ।
बालिका, यौवना,वृद्धा सारामा समआदर
समभाव दिई आओस् आाजका दिनको दर
दर–मा–दर पक्का होस् आफ्नै यो तीजको दर
ढकनी खीरमा बाक्लो लगाऊन् दर–मा–तर ।
फनकफोकथुम – ४, इलाम