- कविता
निर्मोहीव्यास (बारा, कलैया भवानीपुर २००९ साल भदौ ४ गते कुसेऔँसी, पुरा नाम वेदव्यास उपाध्याय) सिर्जना र समीक्षा दुवै क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । निर्मोही व्यासको खास नाम वेदव्यास उपाध्याय भएता पनि साहित्यमा उहाँ निर्मोही व्यासका रूपमा सुपरिचित छन् । आफ्नै पिता नरनाथ न्यौपानेबाट पाठ्यपुस्तकमा रहेका छन्दोबद्ध कविता महाभारत भीष्मपर्वका कतिपय श्लोकले प्रभावित गरेर साहित्य सिर्जनामा लागेका व्यास कविताकै क्षेत्रमा निरन्तर समर्पित रहे । सन् १९७० मा पहिलो पुस्तककार कृति बेहुली अन्माएको घर (कवितासङ्ग्रह, २०३३) प्रकाशन गरी साहित्यिक यात्राको थालनी गरेका व्यासका सरिता (काव्य, २०३६), एलबमका पानाहरू (उपन्यास, २०४३), नौ पाइला (नियात्रासङ्ग्रह,२०४६), स्वयम्भूका आँखाहरू (कथासङ्ग्रह, २०४७), ठोरीको एलबम (नियात्रा,२०४८), झलझली आँखामा (नियात्रा,२०५१), सम्भवामि युगे युगे (संस्मरणसङ्ग्रह, २०५३), सेरोफेरो सबै मेरो (नियात्रा,२०६१), साँचेको सम्झना (संस्मरण, २०६८) र बोधिबृक्षको छायामा (कवितासङ्ग्रह, २०६९) जस्ता विविध कृतिहरू प्रकाशित छन् । उनले आख्यान, कविता र निबन्ध विधामा कलम चलाएका छन् । उनको मूल विधा भने कविता नै हो । साहित्यसागरको प्रस्तुत शृङ्खलामा व्यासको खलनायक नायक हुन्छ जहाँ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपालको राजनीतिक विसङ्गतिको पर्दाफास गरिएको छ । यस कविताले खलनायकलाई नायक मान्दा देश उँभो लाग्न नसकेको पक्ष उद्घाटित छ । -सम्पा.
१
खलनायक नायक हुन्छ जहाँ
अधिनायक लायक हुन्छ जहाँ
जनता करिया गनिइन्छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?२
ऋणका गठरी जनका शिरमा
सुनका ढुकुटी ठगका घरमा
छल लूट र झूट अपार जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?३
जति मानिस मार्न सक्यो उति नै
पद उच्च र शान र मान हुने
ढँटुवा लुटुवा अगुवा छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?४
अपराध हजार हुने दिनहुँ
छ खुनी जुन, त्यैसँग डाडु-पन्यू
नटुवा लठुवा मुखिया छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?५
छ रजाइँ जहाँ महिषासुरको
कुन पुछ्दछ आँसु बलात्कृतको ?
छिनमै सुन पित्तल हुन्छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?६
छ लिलाम नियाँ र निसाफ जहाँ
पथ-भ्रष्ट प्रदर्शक बन्छ जहाँ
गुड गोबर भेद गरिन्न जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?७
निलिराख्तछ साँध अजिङ्गर जो
उसकै स्तुतिगान र पाउ मल्यो
गुरुमन्त्र सुनाउँछ भाट जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?८
लुटिँदै सब प्राकृत वैभव छन्
जन शोषित, गर्दभ पोषित छन्
कुल-धर्म र संस्कृति रुन्छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?९
युव-शक्ति पलायित दूर हुने
घर बालक वृद्ध रुङेर रुने
छ परिस्थिति दारुण रुग्ण जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?१०
निज देश बुझीकन देवपुरी
शिरमा उरमा पनि देश धरी
रिपुवृन्द समस्त परास्त गरी
मुहुडाभरि नूतन दीप्ति भरी११
उठ जाग बचाउन लाज युवा !
सुतुवा बिउँझाउन लाग युवा !
अब डुब्छ कि डुब्छ कि झैँ छ डुँगा !
कृपया पतवार सम्हाल युवा