टिकाराम गोपाल भित्रीकोटी कानुन एवम् साहित्य क्षेत्रमा परिचित प्रतिभा हुन् । भारत–नेपाल जनमैत्री सांस्कृतिक मंच–कोलकाताका उपाध्यक्ष भित्रीकोटी (सुपुत्र: भक्तजीत भित्रीकोटी र : श्रीमती सावित्री भित्रीभोटी, २०१३/०९/०९, कोलकाता ) को पुर्ख्याैली नेपाल हो । उनका पुर्खा ज्यामिरे खानी गाउँ, नाङ्गथली रामेछापबाट कोलकाता गएका थिए । उनको पुर्ख्याैली थलो वर्तमान भौगोलिक विभागजअनुसार लिखु तामाकोसी गाउँ पालिका, वडा नं. ०६, रामेछाप पर्दछ । उनी अहिलो तुलसी गाउँ, मिथिला नगरपालिका, वडा न ११, धनुसाका वासिन्दा पनि हुन् । उनले अखिल भारत प्रवासी नेपाली संघ, भारत–नेपाल जनमैत्रि सांस्कृतिक मंच (कोलकाता), संयुक्त नेपाली वेलफेयर ट्रष्ट आदि संस्थासँग संलग्न भएर नेपाली जाति र नेपाली साहित्यको विकास गरिरहेका छन् । नेपाली संगम पत्रिकाको सम्पादन गर्नका साथै कविता, कथा, लेख, संस्मरण, नियात्रा आदि रचना गरेका छन् । उनी नेपाली, हिन्दी, बाङ्गला, अङ्ग्रेजी भाषामा दख्खल राख्दछन् । उनको लाज कविता सङ्ग्रह प्रकाशित छ । उनका कविताहरू बिहानी पत्रिकामा प्रकाशन भएका छन् । साहित्यसागरको प्रस्तुत अंकमा भित्रीकोटीको गरिबको सपना शीर्षकको कविता समेटिएको छ । यस कविताले निम्न वर्गीय जनजीवनलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
मिठो सपना बोकेका
ती धमिला आँखाहरू
हेरी रहेकाछन् टुलुटुलु
भोलिको उज्यालो ।
खरको झुप्रोभित्र गुडुल्केका
ती मानव अनुहार
टटेनपुर घाममा
भोलि जोतिन बाध्य हुन्छ
तर पनि हेर्न चाहन्छ
भोलिको उज्यालो ।
कुटो, कोदालो
हँसिया, खुर्पा
बारीको डल्ला फुटाउँदै
माटो लागेको हातले
पसिना पुछ्दै
मुख रङ्ग्याउँदै
बारिको डिलमा बसेर
खिएका दाँतले
कोदोको रोटी चपाउँदै
रूखको छायामा बसेर
थोरै सुस्ताउदै
सपनी देख्छ फेरी
भोलिको उज्यालो।
सपनीको निरन्तरतासंगै
बगी रहन्छ जीवनको निरन्तरता
हातखुट्टाले साथ छोड्दै छन
तर काममा जोतिन बाध्य छ ।
एउटा भाको छोरो
बाँदरको पुच्छर
लौर न हतियार
आशा थियो राज्यको
तर मौन छ सरकार
भन्छन् चारैतिर छ अरे
गणतन्त्रको झिलिमिली
उसलाई मात्र एउटा राँको दरकार
बिन्तिपत्र चारैतिर चढायो
कसैले राखेन सरोकार
तर पनि झिनो आशा लिएर
धमिलो आँखाले
सपनी देख्छ
भोलिको उज्यालो ।