SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » माधव घिमिरेको छन्दसाधना
gsishailendu

माधव घिमिरेको छन्दसाधना

Sahitya SagarBy Sahitya SagarJuly 18, 2021No Comments17 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा. शैलेन्दुप्रकाश नेपाल
शैलेन्दुप्रकाश नेपाल (२०१८ मङ्सिर २९, कटुञ्जे, भोजपुर) नेपाली साहित्यका विशिष्ट कवि एवम् समालोचक हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेपाल पारिवारिक रूपमै साहित्यिक वातावरणमा हुर्किएका प्रतिभा हुन् । उनको पहिलो रचना फूलहरू–कविता, २०३९) हो । उनका प्रेमपूजा (२०३९), नमिता सुनीता (२०४३), कल्पनाकुसुम (२०४४), विन्देश्वरी (२०४१) वेदना बोल्छ (२०४२), दिग्बोध (२०४३), जानकी विरह (२०५३) जस्ता आधा दर्जन अधिक खण्डकाव्य कृति प्रकाशित छन् । यी काव्यहरूगीतिलयका काव्य र शास्त्रीय लयका काव्यका रूपमा सुपरिचित छन् । फुटकर कविता र काव्यको साधना हुँदै महाकाव्य साधनामा सफलता प्राप्त गरेका नेपालका जुनू (२०४८), अनामिका (२०५६) र डायना २०६१) जस्ता महत्वपूर्ण महाकाव्य कृतिहरूप्रकाशित छन् । नेपालको कलम बालसाहित्यका बहुविधामा पनि त्यत्तिकै सक्रिय छ । विद्यालयतहदेखि महाविद्यालय तहसम्मका विविध पाठ्यपुस्तक लेखनमा पनि त्यत्तिकै सक्रिय देखिन्छ । समीक्षा समालोचनातर्फ राममणि आ.दी व्यक्ति र कृति (२०५०), पारख प्रयत्न (२०५४), राष्ट्रकवि माधव घिमिरे (२०६१), मुनामदन समालोचना (सम्पा, २०६६) जस्ता कृतिहरूप्रकाशित छन् । नेपाल प्रायोगिक समालोचनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका सम्पादनमा विविध स्मृति एवम् अभिनन्दन ग्रन्थहरूपनि प्रकाशन भएका छन् । तीमध्ये नेपालको एकीकरण र पृथ्वीनारायण शाह (२०६३), कृष्णकुमारी मनोरथ नेपाल स्मृतिग्रन्थ (२०६६), यात्री स्मृतिग्रन्थ (२०७५) आदि उल्लेख्य छन् । त्रिभुवन विश्वविद्यायलका प्राध्यापक नेपाल माधव घिमिरेकै काव्यका विषयमा विद्यावारिधि प्रतिभा हुन् । सिर्जना समीक्षा र सम्पादनका तिनै क्षेत्रमा त्यत्तिकै सक्रिय र सफल पनि छन् । साहित्य सागरको प्रस्तुत अङ्कमा नेपालको ‘माधव घिमिरेको छन्द साधना’ शीर्षकको शोधपरक समीक्षा समेटिएको छ । यस अध्ययनबाट नेपालले माधव घिमिरेले शास्त्रीय र लोक छन्दको प्रयोग गरेको र शास्त्रीय छन्दमध्ये अनुष्टुप छन्दलाई बढी सङ्ख्यामा प्रयोग गरेको, छन्दगत संरचनालाई हेर्दा शार्दूलविक्रीडितकै उपयोग बढी भएको, सबभन्दा कम पृथ्वी छन्दको प्रयोग गरेको, मन्दाक्रान्ता छन्दमा उत्कृष्ट र लोकप्रिय कविता लेखे पनि खण्डकाव्य चाहिँ रचना नगरेको, मुख्य रूपमा अनुष्टुप्, उपजाति, शार्दूलविक्रीडित र मन्दाक्रान्ता छन्दलाई मन पराएको र उनको कवित्व पनि उपर्युक्त चारवटै छन्दमा जीवन्त रूपमा प्रवाहित रहेको निष्कर्ष निकालेका छन् । छन्दकै कारण उनका कविता रसात्मक भएको र घिमिरेले मूलतः शृङ्गार, वीर र करुण रसका कवितालाई भावानुकूल छन्दमा नचाउन सक्ने कविका रूपमा मूल्याङ्कन गरेका छन् । —सम्पा.
  ​१. विषय प्रवेश
राष्ट्रकवि माधवप्रसाद घिमिरे (१९७६, लमजुङ) नेपाली साहित्य जगत्का सिद्धहस्त कवि हुन् । आधुनिक नेपाली कविताअन्तर्गत परिष्कारवादी धाराका प्रवर्तक एवम् केन्द्रीय प्रतिभा कविशिरोमणि लेखनाथ पौड्याल तथा स्वच्छन्दतावादी धाराका प्रवर्तक एवम् केन्द्रीय प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सशक्त उत्तराधिकारीका रूपमा माधव घिमिरे सुपरिचित छन् । परिष्कारवादी शैलीशिल्प र स्वच्छन्दतावादी भावधारालाई संयोजित रूपमा वरण गरेर कवि घिमिरेले आफ्नो मौलिक पहिचानसहित नेपाली कवितालाई चिरस्मरणीय बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । विषयवस्तु र भाषालाई परिष्कार–परिमार्जनसहित कलात्मक रूप प्रदान गरेर कविता सृजना गर्नु उनको वैशिष्ट्य हो । “सामान्यतया एक कविता लेख्न म तीन दिन लगाउँछु – पहिलो दिन बतास बन्छु, दोस्रो दिन श्वास बन्छु र तेस्रो दिन बाँसुरीको आलाप बन्छु ।” (नेपाल, २०६१ : १०६) भन्ने घिमिरेको भनाइबाट पनि उनी कलात्मक कवित्वतर्फ सचेत रहेको पुष्टि हुन्छ ।
​​
नेपालीमा उत्कृष्ट कविता, गीत, खण्डकाव्य र गीतिनाटक रचना गरेर माधव घिमिरेले आफ्नो कवित्व साधनालाई विशिष्टता प्रदान गरेको देखिन्छ । कवितात्मक सौन्दर्यका हिमायती कवि घिमिरे भाषा, भाव र लयगत सौन्दर्यप्रति सचेत देखिन्छन् । यस प्रसङ्गमा घिमिरेको छन्दसाधनाबारे सङ्क्षिप्त अध्ययन गर्ने प्रयत्न गरिएको छ ।
२. माधव घिमिरेको छन्दसाधना
२.१ छन्दको परिचय
छन्द लयको स्रोत हो । छन्दले कवितालाई सुमधुर र चिरस्मरणीय बनाउँछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले “छन्द र लयविना कवि र गायक हुँदैन” (देवकोटा, २०६४ : १०६) भनेर कविताका लागि छन्दलाई अपरिहार्य मानेको पाइन्छ । छन्द वा लयलाई मूलतः बद्ध र मुक्त गरी दुई भागमा बाँड्ने प्रचलन छ । बद्ध लयअन्तर्गत शास्त्रीय (संस्कृत) तथा लोक (नेपाली) लयहरूपर्दछन् । शास्त्रीय लयअन्तर्गत वर्णमात्रिक र मात्रिक दुई स्वरूपका छन्द प्रचलित छन् । वर्णमात्रिकमा छन्दको नियम वा प्रावधानअनुसार वर्ण र मात्राको गणना गरिन्छ भने मात्रिकमा मात्राहरूको गणना गरिन्छ । यस्ता छन्दहरूको चिनारी र प्रयोग वैदिक साहित्यमै प्राप्त हुने गर्छ । वर्णमात्रिकअन्तर्गत शार्दूलविक्रीडित, अनुष्टुप्, उपजाति, स्रग्विणी, रथोद्धता, भुजङ्गप्रयात, मालिनी, मन्दाक्रान्ता, शिखरिणी, पञ्चचामर, वसन्ततिलका, तोटकलगायतका असङ्ख्य छन्दहरू प्रचलित छन् । मात्रिकअन्तर्गत आर्या, चौपाईलगायतका छन्द रहेका छन् (ढुङ्गाना, २०५०) । लोक परम्परामा प्रचलित अनेक भाकाहरू नै लोक लय वा छन्दका स्रोत हुन् । झ्याउरे, सबाई, सेलो, रोइला, चुड्काजस्ता छन्द लोक वा गीति छन्द हुन् । यिनलाई वार्णिक छन्द भन्ने गरिन्छ । मुक्त लय वा छन्दअन्तर्गत सबैजसो गद्यकविता पर्दछन् । यस्ता कवितामा अन्तर्लयको व्यवस्था हुन्छ । आदिमहाकवि उदयानन्द अज्र्याल तथा आदिकवि भानुभक्त आचार्यले शास्त्रीय छन्दलाई लोक भाकामा उन्ने स्तुत्य प्रयास गरे । त्यसै परम्पराका सशक्त अनुयायी माधव घिमिरेसम्म आइपुग्दा नेपाली कविताले आफूलाई शिष्ट, प्रवाहशील, गहन र सशक्त बनाउँदै ल्याएको पाइन्छ ।
२.२ माधव घिमिरेका कविताकाव्यमा छन्दप्रयोग
राष्ट्रकवि माधव घिमिरेले शास्त्रीय तथा लोक छन्दमा कविता, गीत, बालकविता र गीत, खण्डकाव्य तथा गीतिनाटकहरू रचना गरेका छन् । शास्त्रीय छन्द तथा लोक छन्दको सहज प्रयोग गरी सुमधुर र आकर्षक कवित्व सृजनामा उनको सिद्धि देखिन्छ । यहाँ उनका विधा–उपविधागत काव्यकृतिमा प्रयुक्त छन्दहरूबारे चर्चा गरिएको छ ।
२.२.१ कविता
माधव घिमिरेको साहित्ययात्रा कविता लेखनबाटै प्रारम्भ भएको हो । उनले शास्त्रीय छन्दमा कविता रचेको पाइन्छ । उनका नवमञ्जरी (१९९४) तथा चैतवैशाख (२०६०) दुईवटा कवितासङ्ग्रह प्रकाशित भएका छन् । आध्यात्मिक विषयका कविताबाट सृजनयात्रा प्रारम्भ गरेका घिमिरेको पहिलो कवितासङ्ग्रहमा नौवटा शास्त्रीय छन्दोबद्ध कविताहरू संकलित छन् । तिनमा शार्दूलविक्रीडित, वसन्ततिलका, अनुष्टुप् छन्दहरूको प्रयोग पाइन्छ । प्रारम्भिक लेखन भएपनि शास्त्रीय छन्द प्रयोगको अवस्था राम्रै देखिन्छ । दृष्टान्तका लागि केही हरफ हेर्न सकिन्छ :
हे दीननाथ ! प्रभुको गुणगान गाई
सन्मार्गमा बढि सदैव गरी मलाई
मेरो बितोस् नर जन्म अखण्डसाथ
येही छ बिन्ति ‘भवमा नफसूँ’ अनाथ !
(वसन्ततिलका छन्द)
कविबाहेक अर्काले जान्दैन कवि वेदना
गर्भिणी–वेदना केको ? जान्दथी नवयौवना !
(अनुष्टुप् छन्द)
माधव घिमिरेको दोस्रो कवितासङ्ग्रह चैत वैशाखमा जम्मा चौरासीवटा कविताहरू रहेका छन् । यीमध्ये एघारवटा विभिन्न वैदिक ऋचाहरूका भावानुवादका रूपमा रहेका छन् । बाँकी मौलिक विषयवस्तुमा आधारित अधिकांश चर्चित कविताहरू छन् । यी कविताहरूमा विभिन्न शास्त्रीय शार्दूलविक्रीडित, पृथ्वी, दु्रतविलम्बित, शिखरिणी, स्रग्धरा, मन्दाक्रान्ता, मालिनी, पञ्चचामर, उपजाति, अनुष्टुप्, मात्रिक, वसन्ततिलकाजस्ता छन्द प्रयुक्त छन् । यीमध्ये घटीमा पृथ्वी छन्दका ३ श्लोकदेखि बढीमा उपजाति छन्दका एकानब्बे श्लोक रहेका छन् । जम्मा चौरासीमध्ये उपजातिका २२, शार्दूलविक्रीडितका २१ र मन्दाक्रान्ताका १५ कविता छन् भने पृथ्वी, दु्रतविलम्बित, स्रग्धरा र मालिनीका एक–एक श्लोक मात्र रहेका छन् । घिमिरेका ‘राष्ट्रिय झण्डा’, ‘कलमवीर’, ‘वैशाख’, ‘नवयुवक’, चरीलमिनी’, ‘कालीगण्डकी’, ‘गाली गर्दैन सारङ्गी’, ‘दुलही हिमाल : कञ्चनजङ्घा’ जस्ता चर्चित कविताहरू यसै सङ्ग्रहमा छन् । मन्दाक्रान्ता छन्द कवि घिमिरेको पेवा छन्दकै रूपमा भए पनि सङ्ख्यात्मक रूपमा शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप् आदिकै व्यापकता रहेको पाइन्छ । तर उनका अधिकांश लोकप्रिय कविताहरू भने मन्दाक्रान्ता छन्दमै संरचित छन् ।
चौतारीमा वरपिपलको बोट नौलो लगाऊँ
छाहारीका तलतिर बसी गीत यौटा मगाऊँ
आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ! (‘वैशाख’)

मैले हेरे पनि नजरले दाग मेरो नलाग्ने
मैले भोगे पनि हृदयले भाग मेरो नलाग्ने
ओहो यौटा कुसुम पनियो जीउँदो ज्योति जस्तो
कस्तो मीठो अनुभव भनूँ, या भनूँ प्रीति जस्तो !
(‘दुलही हिमाल : कञ्चनजङ्घा’)
छन्द प्रयोगका दृष्टिले कवि घिमिरेका पहिलो चरणपछिका कविताहरू परिष्कृत र उत्कृष्ट बन्दै गएको पाइन्छ । शास्त्रीय छन्दलाई भानुभक्तले झैं लोक भावानुकूल सहज र सरस बनाउँदै अगि बढ्नु घिमिरेको विशेष खुबी ठहरिन्छ । ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार दिने’ उनको ध्येय वा मान्यतालाई रचनाहरूले पुष्टि गरेको देखिन्छ ।
२.२.२ गीत
राष्ट्रकवि माधव घिमिरे सुप्रसिद्ध गीतकार हुन् । लोकभाकालाई सरल, सहज शब्द विन्यासद्वारा गम्भीर भावविधानतर्फ लैजानु उनको खास पहिचान हो । नेपाली प्रकृति, संस्कृति र ग्रामीण जीवन पद्धतिका मार्मिक सन्दर्भहरूलाई हृदयस्पर्शी अभिव्यक्ति दिनु उनको गीतिरचनाको उपलब्धि हो । नेपाली लोकभाकालाई साहित्यिक उचाइ प्रदान गर्ने कार्य महाकवि देवकोटाबाट भएको हो । उनीपछि राष्ट्रकवि घिमिरेकै योगदान यस पक्षमा सर्वोपरि देखापर्छ । घिमिरेका डेढ सय गीतहरूको सङ्ग्रह ‘किन्नरी किन्नरी’ वि.सं. २०३३ मा आएको हो । त्यसपछि पनि उनले निकै मर्मस्पर्शी गीतहरू लेखेका छन् । नेपाली गीति साहित्यलाई जनमानसमा भिजाउन घिमिरेको अविस्मरणीय योगदान रहेको छ । शब्दशैलीगत सरलता र भावगत गहनता उनका गीतिरचनामा निहित रहेको पाइन्छ । प्रत्येक शब्दले पाठक/श्रोतालाई विचलित तुल्याउने क्षमता घिमिरेका गीतहरूले प्रदर्शन गरेका छन् । नेपाली पहाडी, हिमाली प्रकृति र ग्रामीण जीवनशैलीलाई हुबहु टिपेर गीत रचना गर्नमा उनी सिद्धहस्त छन् । नेपाली लोकभाकाहरू खासगरी झ्याउरे, सेलो र सबाईका लयमा उनका गीतहरू उनिएका छन् । अन्य भाकाहरू पनि छिटपुट रूपमा प्रयोग गरेको पाइन्छ ।
नेपाल आमा ! कहीँ छौ घाम ! कहीँ छौ छाया हे,
परन्तु सारा सन्तानमाथि एउटै माया हे !
(झ्याउरे छन्दलय)
गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली
जय जय जय हे नेपाल
सुन्दर शान्त विशाल !
(सेलो छन्दलय)
शीतको थोपा अल्मलियो फूलको तरेलीमा
तिम्रो आँसु छिपेको छ मेरै परेलीमा !
(सबाई छन्दलय)
२.२.३ बालकविता/गीत
माधव घिमिरे चर्चित बालसाहित्यकार पनि हुन् । उनले थुप्रै बालकविता/गीतहरूको रचना गरेका छन् । बालबालिकाका मनोविज्ञान, चञ्चलता, व्यवहार, जिज्ञासाजस्ता सन्दर्भलाई उपयुक्त शब्दशैलीका माध्यमबाट अभिव्यक्ति दिनमा उनी दक्ष छन् । उनले शास्त्रीय छन्द प्रयोग गरी कतिपय बालकविता रचेको पाइन्छ । खासगरी घामपानी (२०१०) सङ्ग्रहमा रहेका ‘भक्भके’, ‘डोको’, ‘हिमचुली’, ‘नदी’, खेलौना’, ‘धुव्रको कथा’ जस्ता रचना शास्त्रीय छन्दमा रचिएका छन् । यिनमा उपजाति, अनुष्टुप् छन्दहरू प्रयुक्त छन् । अन्य रचनाहरू लोकलयमा संरचित देखिन्छन् । ‘बालालहरी’ (२०२५) का सबै रचना लोकलयमा आबद्ध छन् । ‘सुनपङ्खी चरी’ (२०५३) तथा ‘बिजुले र बिजुला’ (२०६३) पनि लोकलयमै आधारित छन् । बालभाषाको प्रयोगद्वारा बालबालिकालाई मनोरञ्जन र नैतिक शिक्षा दिने उद्देश्यले रचिएका घिमिरेका जम्मा १०६ बालरचनामध्ये ६ वटा मात्र शास्त्रीय छन्दमा छन् भने एक सय रचना विभिन्न लोकभाकामा रहेका छन् । लोकभाकालाई बाल तथा प्रौढ साहित्यमा सहजता साथ प्रयोग गरेर घिमिरेले नेपाली लयको मौलिकतालाई प्रतिष्ठित बनाउने काम गरेका छन् । सरल र आकर्षक भाषाशैली प्रयोग गरी बालहृदयलाई आकर्षित गर्ने काम उनले गरेको पाइन्छ । लयगत सुमधुरतालाई सुकोमल शब्दावलीले सहज रूपमा वरण गरेका उनका बालरचनामा नेपाली प्रकृति, संस्कृति, बालरुचि, व्यवहार र स्वभावलाई विषयवस्तु बनाएको पाइन्छ ।

सानी नदी पर्वतबाट झर्छिन्
हाहा र हूहू वनभित्र गर्छिन् !
(‘नदी’, घामपानी)

टालाटुली बटुली
कति राम्री पुतली
सानी पनि छैन रे
ठुली पनि छैन रे
जीउ सुत्त परेकी पहेँली र पातली
(बालालहरी)
कुखुराका चल्ला
फोरी फुलका डल्ला
ओहो ! हुलका हुल
सधैँ आइरहो ! सधैँ आइरहो !
(सुनपङ्खी चरी)

म्याउँ म्याउँ म्याउँ
आमा, म्याउँ म्याउँ
गिलासको दूध अलिकति खाऊँ
कति मिठो भनी मुख मिठ्याई जाऊँ ।
(बिजुले र बिजुला)

२.२.४ खण्डकाव्य
माधव घिमिरेका हालसम्म नौवटा खण्डकाव्यहरू प्रकाशनमा आएका छन् । नौमध्ये छवटा खण्डकाव्य शास्त्रीय छन्दमा संरचित छन् भने तीनवटा लोकलयमा आबद्ध रहेको पाइन्छ । शास्त्रीय छन्दअन्तर्गत शार्दूलविक्रीडित, शिखरिणी, उपजाति, अनुष्टुप् छन्दको प्रयोग भएको भेटिन्छ । यीबाहेक उषाचरित्र (चम्पूकाव्य, १९९८) र दुर्गा सप्तशती (अनूदित काव्य, २०५८) पनि उनले प्रकाशनमा ल्याएको पाइन्छ । उषाचरित्रमा फाटफुट रूपमा शास्त्रीय तथा लोकलयका कविता गीतको प्रयोग पाइन्छ । शास्त्रीयअन्तर्गत वसन्ततिलका, उपजातिका श्लोकहरू रहेका छन् । दुर्गा सप्तशतीमा अनुष्टुप् छन्दको प्रयोग भेटिन्छ । उनको पेवा मानिएको मन्दाक्रान्ता छन्दमा भने कुनै खण्डकाव्य रचेको पाइँदैन । लोकलयका तीनवटा खण्डकाव्यमध्ये पापिनी आमा झ्याउरेमा, नयाँ नेपाल सेलोमा र गौँथली र गजधम्मे सबाई लयमा आधारित छन् । शास्त्रीय छन्दका खण्डकाव्य र तिनमा प्रयुक्त छन्दहरूको सूची यसप्रकार छ :
   ​गौरी                  १२४ श्लोक                        शार्दूलविक्रीडित छन्द

राजेश्वरी             १०० श्लोक                        ९५ शार्दूलविक्रीडित, ५ शिखरिणी छन्द
   राष्ट्रनिर्माता         १२८ श्लोक                        उपजाति छन्द
   धर्तीमाता            १२० श्लोक                        उपजाति छन्द
   बोराको परदा      ९८ श्लोक                         अनुष्टुप् छन्द
   इन्द्रकुमारी          २०० श्लोक                       अनुष्टुप् छन्द
खण्डकाव्यकार घिमिरेले आफ्ना चर्चित खण्डकाव्यहरूमा मूलतः तीनवटा शास्त्रीय छन्दलाई प्रयोग गरेको देखिन्छ । शार्दूलविक्रीडित, उपजाति र अनुष्टुप् छन्दलाई सहजतासाथ प्रयोग गरिएको छ । अनि काव्यको विषयभावलाई सहज–स्वाभाविक ढङ्गमा अभिव्यक्त गराउन उपयुक्त छन्द रोजेको बुझिन्छ । नमुनाका लागि केही श्लोकहरू हेर्न सकिन्छ :
यी रोए पनि दुःख लाग्छ – यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन – यिनले बिर्से नि आमा भनी
को हेलो अब हर्षसाथ – यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ – यिनले फुर्की नखेले पनि !
(शार्दूलविक्रीडित छन्द, गौरी)
मेरा प्वाँख नकाट, रंग ऋतुका आएर छुन्छन् यहाँ
मेरा कान सधैँ अनागत नयाँ संगीत सुन्छन् यहाँ
देओ उड्न मलाई वीरहरूकी ‘रानी’ म मौरीसरि
बोकी ल्याउँछु दूर देशतिरका अज्ञातमा माधुरी !
(शार्दूलविक्रीडित छन्द, राजेश्वरी)
मलाइ ता सुन्दर लाग्छ भाइ !
हिमाल सर्वोपरि मुस्कुराई
त्रिसप्त गङ्गा बहने बलेँसी
छाया डुलेका वनशैल बेँसी !
(उपजाति छन्द, राष्ट्रनिर्माता)
ढुङ्गो र माटो जलभित्र अग्नि
यो अन्नबाली फलभित्र अग्नि
बर्सेर ज्योतिर्मय अग्नि–बीज
जीवन्त जस्तै हरएक चीज !
(उपजाति छन्द, धर्तीमाता)

बिहानै भुलुका बोल्छ काने कुर्र गरेसरि
तर्केर भाग्दछन् तारा, झर्केर दिन उठ्दछ !
(अनुष्टुप् छन्द, बोराको परदा)

पाएको छैन बोलीमा बोली मिस्न अझै पनि
सर्माएर पसीनाले भिजेकी सुन्दरी बनी !
(अनुष्टुप् छन्द, इन्द्रकुमारी)

ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना–शक्ति संसारमा कैल्यै हुँदैन विफल !
(झ्याउरे लय, पापिनी आमा)

केवल बाह्र थरको
गाउँमा उनी बसेनन्
कोल्टाको फूल कोल्टैको
धूलामा उनी खसेनन्

नेपाल हुन्थ्यो सपना
नभए पृथ्वीनारान !
(सेलोलय, नयाँ नेपाल)

आधा धर्ती, आधा आकाश, कल्ले किन रच्छ
दुई फ्याक बनी ईश्वर आपैmँलाई खोज्छ ।
(सबाई लय, गौँथली र गजधम्मे)

२.२.५ गीतिनाटक
माधव घिमिरे सर्वश्रेष्ठ गीतिनाटककार हुन् । गीतिनाटकमा उनको कवि व्यक्तित्व र कवित्व शैलीको विशेष छाप परेको पाइन्छ । संख्यात्मक र गुणात्मक दुवै रूपमा नेपालीमा गीतिनाटक लेखन, प्रकाशन र प्रदर्शनमा उनको वर्चस्व रहेको पाइन्छ । उनका हालसम्म सातवटा गीतिनाटक प्रकाशनमा आएका छन् । उनका गीतिनाटकहरू शास्त्रीय तथा लोक दुवै स्रोतका छन्दलय प्रयोग गरेर रचिएका छन् । शास्त्रीय छन्दलयलाई पनि संवादात्मक सुकोमलतामा ढाल्न सक्नु उनको विशेष खुबी हो । घिमिरेका गीतिनाटक र तिनमा प्रयुक्त छन्दको विवरण यसप्रकार छ :
शकुन्तला – अनुष्टुप् छन्द (शास्त्रीय)
मालती मङ्गले – विविध लोकलय
विषकन्या –विविध लोकलय
अश्वत्थामा – मूलतः अनुष्टुप् छन्द र आंशिक लोकलय
हिमालपारि हिमालवारि – विविध लोकलय
देउकी – विविध लोकलय
बालकुमारी – विविध लोकलय
गीतिनाटककार माधव घिमिरेले आफ्ना दुईवटा गीतिनाटकमा मात्र शास्त्रीय स्रोतको अनुष्टुप् छन्द प्रयोग गरेको र बाँकी पाँचवटामा विविध लोकलय (खासगरी झ्याउरे, सबाई र सेलो) लाई प्रयोग गरेको पाइन्छ । लयगत प्रस्तुतिलाई यसरी हेर्न सकिन्छ :
आमा ! आश्रममा फर्की नभन्नू अपमान यो
नतोड्नू ध्यानमा मग्न बाबाको मुसकान त्यो ।
गृहस्थी ता तपस्या हो, तपस्या गर्दछे भनी
भन्नू दोटै सखीलाई बिर्सन्न कहिल्यै पनि !
(अनुष्टुप् छन्द, शकुन्तला)

फुट्तै छ आँसु, फाट्तै छ छाती, फाट्तैन धरती
मंगलेबिना उभिन्छे कहाँ, एकली मालती !
(झ्याउरे लय, मालती मंगले)

विषको प्याला प्यूँदाप्यूँदै अमृत पो पिएँ
यो बैंशैंमा मरिसकी म कसरी जिएँ !
(सबाईलय, विषकन्या)
दौडिरै‘छु डढेलो झैँ सल्केर म स्वयं पनि
जहाँ टेकूँ त्यही जल्छ हरियो धरती पनि !
(अनुष्टुप् छन्द, अश्वत्थामा)
भिक्षुनी बन्न हुँदैन नानी ! बैंसको बेलैमा
रूपकी बत्ती बलिनै रहू प्रीतिको तेलैमा !
(झ्याउरे लय, हिमालपारि हिमालवारि)
चाँदनीको फूलै फुल्यो विनाबोटै कस्तो !
मलाई पनि चढाइद्यौन फूल यौटा त्यस्तो !
(सबाई लय, देउकी)
देख्नेलाई छिनैभरिको
पर्नेलाई जुनीभरि हो !
(सेलो लय, बालकुमारी)

२.३ माधव घिमिरेको छन्दसाधनागत प्राप्ति
राष्ट्रकवि माधव घिमिरे शास्त्रीय (संस्कृत) तथा लोक (नेपाली) लयछन्दका सफल र सशक्त प्रयोक्ता हुन्, सिद्धहस्त स्रष्टा हुन् । आदिकवि भानुभक्तले झैं घिमिरेले शास्त्रीय छन्दहरूलाई नेपाली प्राकृतिक–सांस्कृतिक सहजशैली वा भाकामा समीकरण गरेर नेपालीका जिब्रामा झुन्ड्याउने विशेष क्षमता प्रदर्शन गरे । तसर्थ उनका कविताहरू नेपाली समाजमा बढी भिजेका छन्, स्मरणीय छन् र लोकप्रिय पनि छन् । विषय र भाषागत परिष्कार–परिमार्जनको कला उनले कविशिरोमणि लेखनाथबाट ग्रहण गरेका हुन् । अझ सूत्रमा गहन सन्देश प्रस्तुत गर्ने कला त उनले संस्कृतका महाकवि कालिदासका कविताबाट सिकेका हुन् अनि पछि उनी भारतीय कवि रवीन्द्रनाथ ठाकुरबाट पनि प्रभावित बने । कालिदास, रवीन्द्रनाथ र महाकवि देवकोटाका स्वच्छन्दतावादी भाव प्रणयनबाट घिमिरेको कवित्वको चुरो विशेष बन्न पुगेको हो । यसर्थ अन्तर्बाह्य दुवै खालको आकर्षण घिमिरेका कवितामा पाइन्छ । लोकलयका रचनाहरू त नेपाली समाजमा भिज्नु स्वाभाविकै हो । घिमिरेका गीतहरू भाषागत सरलता हुँदाहुँदै भावगत गहनताले परिपूर्ण हुने गर्छन् । लोकभाकालाई सहजीकरण गर्दै तिनलाई साहित्यिक गरिमा–गहनता प्रदान गर्नु नै उनको मौलिकता हो । उनी कवितालाई कविको लयात्मक अभिव्यक्ति मान्छन् (नेपाल, २०६१ : १०६) ।

“हाम्रा भावलाई जति छन्दले बहन गर्न सक्छ त्यति अरूले गर्न सक्तैन (घिमिरे, २०४९ : २६)” अनि “छन्दले कवितालाई स्थायित्व दिन्छ (नेपाल, २०६१ : १०६)” भन्ने धारणा राख्ने कवि घिमिरे कविताका लागि छन्द अर्थात् लय मूल कुरा भएको बताउँछन् । छन्दको आकर्षणका बारेमा उनको तर्क छ, “छन्दलाई कवितामा ढाल्नु कसैलाई सम्झेर सुसेली हाल्नुजस्तै हो (नेपाल, १०८) ।” त्यसो हुनाले वर्तमानमा कवि माधव घिमिरे र छन्द (शास्त्रीय र लोक) एक अर्काका पर्याय वा पूरक बन्न पुगेका छन् भन्दा अन्यथा हुँदैन । यसै मर्मलाई आत्मसात् गरेर हुन सक्छ महाकाव्यकार माधव वियोगीले राष्ट्रकविमै केन्द्रित भएर ‘छन्दशिरोमणि’ (२०६०) महाकाव्य प्रस्तुत गरेका छन् ।
माधव घिमिरेले शास्त्रीय छन्दमा बालकविता, कविता, खण्डकाव्य र गीतिनाटक रचना गरेका छन् । उनकाकविताकाव्यमा प्रयुक्त शास्त्रीय छन्दहरू एक दर्जन रहेको पाइन्छ । तिनका नाम र श्लोकसङ्ख्या यसप्रकार छन् :
१) अनुष्टुप् – ३५६ (गीतिनाटकका श्लोकलाई यहाँ गणना गरिएको छैन,
खण्डकाव्य–२, कविता २२, गीतिनाटक–२)
२) उपजाति – ३३९ (खण्डकाव्य–२, कविता –२२)
३) शार्दूलविक्रीडित – ३०५ (खण्डकाव्य–२, कविता – २१)
४) मन्दाक्रान्ता – ८४ (कविता–१५)
५) वसन्ततिलका – ३४ (कविता – ४)
६) शिखरिणी – ३३ (खण्डकाव्य–५, कविता –७)
७) पञ्चचामर – १८ (कविता – २)
८) मालिनी – ११ (कविता – १)
९) स्रग्धरा – १० (कविता – १)
१०) द्रुतविलम्बित – ७ (कविता – १)
११) मात्रिक – ६ (कविता – २)
१२) पृथ्वी – ३ (कविता – १)

माधव घिमिरेले अनुष्टुप् छन्दलाई बढी सङ्ख्यामा प्रयोग गरेको देखिए पनि छन्दगत संरचनालाई हेर्दा शार्दूलविक्रीडितकै उपयोग बढी भएको बुझिन्छ । सबभन्दा कम पृथ्वी छन्दको प्रयोग देखिन्छ । मन्दाक्रान्ता छन्दमा उत्कृष्ट र लोकप्रिय कविता लेखे पनि खण्डकाव्य चाहिँ रचना गरेको भेटिँदैन । उनले मुख्य रूपमा अनुष्टुप्, उपजाति, शार्दूलविक्रीडित र मन्दाक्रान्ता छन्दलाईमनपराएको बुझिन्छ । अन्य छन्दमा त्यति रुचि भएको पाइँदैन । उनको कवित्व पनि उपर्युक्त चारवटै छन्दमा जीवन्तरूपमा प्रवाहित रहेको पाइन्छ । घिमिरे शृङ्गार, वीर र करुणरसका कविस्रष्टा हुन् । भावानुकूल ढङ्गमा छन्द प्रयोग गर्ने कुशलता उनमा पाइन्छ । लोकलयमा उनले मूलतः तीनवटा (झ्याउरे, सेलो र सबाई) को प्रयोगमा रुचि देखाएका छन् र उच्च सफलतासमेत प्राप्त गरेका छन् । उनी तीव्र वेगमा कविता लेख्दैनन्, त्यसैले छन्दप्रयोगमा उनले विशेष कुशलता देखाएको पाइन्छ । कतैकतै नेपाली शब्दलाई कथ्यरूपमा ढाल्ने सामान्य प्रयत्न गरिए पनि भाषा, भाव र लयलाई नियमसंगत बनाएर प्रयोग गर्न कवि घिमिरे सिद्धहस्त देखिन्छन् । घिमिरे बद्धलय खासगरी वर्णमात्रिक (शास्त्रीय) र वार्णिक (लोक) छन्दका साधक हुन् । मात्रिक छन्दलयतर्फ उनको खासै रुचि देखिँदैन । उनले मुक्त लय वा गद्य शैलीमा कविता सृजना गरेको पाइँदैन । नेपाली कविता–गीतलाई छन्दलयका दृष्टिले सहज, सरस, सुमधुर, सुकोमल, शिष्ट र जीवन्त बनाउनु नै उनको विशिष्टतम प्राप्ति हो । कविता, गीत, बालगीत–कविता, खण्डकाव्य र गीतिनाटक जेसुकै रचना गरेपनि कवि घिमिरेको मौलिक शिल्पले चमत्कार देखाएकै पाइन्छ । भावगत उडानमा प्रवृत्त रहने महाकवि देवकोटाका लोकलयका रचनामा समेत शास्त्रीय शैलीको प्रभाव तीव्र देखिन्छ भने भावगत स्थिरतामा जोडदिने राष्ट्रकवि घिमिरेका शास्त्रीय काव्यकृतिमा पनि लोकशैली वा भाकाको प्रभाव भेटिन्छ । छन्दलयगत प्रस्तुतिलाई विशेष महŒव दिने घिमिरेको भाषाशैली सहज भइकन आलङ्कारिक रहेको देखिन्छ भने बिम्बप्रतीकको प्रयोगमा सहजता, स्वाभाविकता र विशेष आकर्षण देखापर्छ । छन्दसिद्धि प्राप्त गरेका घिमिरे महान् छन्दशिल्पी हुन् ।

३. निष्कर्ष
राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली काव्यजगत्का सुन्दर शिल्पी हुन् । उनको छन्दसाधनाको सन्दर्भलाई सामान्य रेखाङ्कन गर्दा उनले पूर्वीय संस्कृत परम्पराका विविध शास्त्रीय छन्दलाई विशेष कौशलसाथ उपयोग गरेको पाइन्छ । एक दर्जनजति छन्दमा कलम चलाए पनि खासगरी शार्दूलविक्रीडित, उपजाति (इन्द्रबज्रा र उपेन्द्रबज्राको संयोजित रूप), अनुष्टुप् र मन्दाक्रान्ता छन्दमा उनको पकड रहेको र प्रयोगमा सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उत्कृष्टता प्रदर्शन भएको देखिन्छ । फुटकरकविता, खण्डकाव्य र गीतिनाटकमा प्रयुक्त शास्त्रीय छन्द वा लयले लोकलयझैं सुकुमारता, प्रवाहशीलता र सहजता प्राप्त गरेको भेटिन्छ । त्यसैगरी उनले विभिन्न लोकलय खासगरी झ्याउरे, सेलो र सबाई लयमा प्रशस्त गीत, खण्डकाव्य (गीतिकाव्यसमेत) तथा गीतिनाटक रचना गरी नेपाली मौलिक लयलाई साहित्यिक गरिमा प्रदान गर्ने कार्य प्रशंसनीय रूपमा गरेको पाइन्छ । शास्त्रीय स्रोतको मात्रिक छन्दलयतर्फ रुचि नदेखिनु र मुक्तलय (गद्यशैली) मा कविता सृजना नगर्नु उनका सीमा हुन् । शास्त्रीय शैली र लोकभाका एवम् भावनालाई सहज र आकर्षक रूपमा समीकरण गरेर साङ्गीतिक माधुर्य प्रदान गरी कविता प्रवाहित गर्नु कवि घिमिरेको महनीय कला हो । यस पक्षमा आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, महाकवि देवकोटा साथै संस्कृत महाकवि कालिदाससमेतका शैलीबाट घिमिरे अनुप्राणित भएको बुझिन्छ । उनको कवित्वको विशिष्ट प्राप्ति छन्दलयगत सुमधुरता,सहजता, सरसता, सुकोमलता र शिष्टता नै हुन् । भावानुकूल छन्दलयको व्यवस्थामा उनी निपुण देखापर्छन् । यसैले उनको कवित्व जीवन्त बन्न पुगेको हो । लामो काव्ययात्राका क्रममा प्रशस्त काव्यकृति प्रस्तुत नगरे पनि उपलब्ध कृतिबाट उनको साधनाले विशिष्टता र जीवन्तता प्राप्त गरेको स्पष्ट हुन्छ । राष्ट्रकवि माधव घिमिरेको छन्दसाधना नेपाली काव्यजगत्मा आदर्श मानक बन्न पुगेको छ ।

सन्दर्भसूची
उपाध्याय, केशवप्रसाद (२०५६), तीन कविका तीन काव्य, ललितपुर : साझा प्रकाशन ।
घिमिरे, माधव (२०४९), आफ्नो बाँसुरी आफ्नै गीत, काठमाडौँ : साझा प्रकाशन ।
ढुङ्गाना, गोविन्दप्रसाद शर्मा (२०५०), छन्दोहार, पाँचौ संस्करण, काठमाडौँ : साझा प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०६४), लक्ष्मी निबन्धसङ्ग्रह, सत्रौँ संस्क., ललितपुर : साझा प्रकाशन ।
नेपाल, शैलेन्दुप्रकाश (२०६१), राष्ट्रकवि माधव घिमिरे, काठमाडौँ : गण्डकी सामाजिक गुठी ।

डा. शैलेन्दुप्रकाश नेपाल
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 196
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.