पाँचथर स्रष्टा मञ्च काठमाडौँ र नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरले ११२ औँ लक्ष्मीजयन्ती एवम् दीपावली २०७७ को अवसर पारेर मङ्सिर २ गते देवकोटा विषयक विमर्श, रचनावाचन एवम् शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । भर्चुअल माध्यमबाट सम्पन्न गरिएको सो कार्यक्रम पाँचथर स्रष्टा मञ्च काठमाडौँका अध्यक्ष रमेश शुभेच्छुको सभाध्यक्षता र प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा पाँचथरमा जन्मिएर देशका विभिन्न ठाउँमा र विदेशमा पुगेका साहित्यकारहरूको सहभागिता थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हेमनाथ पौडेल र भारतको कालिम्पोङका लेखक नवीन पौडेलको सहभागिता रहेको थियो ।
कार्यक्रमा मञ्चका अध्यक्ष सुभेच्छुले सबैलाई स्वागत गर्दै जन्मभूमिको मायाले राजधानीमा खोलिएको स्रष्टा मञ्च र जिल्लामै दशकौँ अघिदेखि सक्रिय संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले पाँचथरका डिल्लीराम तिम्सिना, स्वामी प्रपन्नाचार्य, भानुभक्त पोखरेल, अम्बर नेम्बाङ आदिको स्मरण गर्दै वर्तमानमा सक्रिय वैरागी काइँला, राजेन्द्र सुवेदी, खगेन्द्र सङ्ग्रौला, गोविन्दराज भट्टराई, कृष्ण धराबासी, चन्द्रकुमार सेर्मा आदिको योगदानको चर्चा गर्नुभयो । पाँचथरले साहित्य सिर्जना र सांस्कृतिक संरक्षणमा दिइराखेको राष्ट्रिय योगदानको उजागर गर्दै पाँचथरलाई सिर्जनाका लार्गि उर्वर भूमिका रूपमा चिनाउनुभयो । नौलो साहित्यिक बिहान प्रतिष्ठानका सचिव प्रेम ओझाले मोफसल र जिल्ला एवम् विदेशमा रहेका पाँचथरका स्रष्टाहरूलाई एकै ठाउँमा जोड्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रमुख अतिथि एवम् पाँचथर स्रष्टा मञ्चका सल्लाहकार प्रा. राजेन्द्र सुवेदीले आफ्नो जन्मभूमिका स्रष्टालाई देवकोटा जयन्ती र उज्यालोको पर्व दीपावली पर्वका अवसरमा भर्चुअल भेट्न पाएकामा खुसी व्यक्त गर्दै सबैमा शुभकामना दिनुभयो । उहाँले देवकोटाका विविध आयामका विषयमा चर्चा गर्दै देवकोटालाई अद्वितीय प्रतिभाका रूपमा चिनाउनुभयो । उहाँले पाँचथरका स्रष्टाको राष्ट्रिय देनका विषयमा र जन्मभूमिको महत्वका विषया प्रकाश पार्नुभयो । कार्यक्रमका विशेष अतिथि हेमनाथ पौडेलले देवकोटाका बमुमुखी व्यक्तित्वका विषयमा चर्चा गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानले देवकोटाको घर जग्गा खरिद गरी देवकोटाका नाममा संग्रहालय निर्माणको अभियान आरम्भ गरेको जानकारी दिनुभयो । कार्यक्रममा वाचित कविताको समीक्षा अर्का विशेष अतिथि कालिम्पोङका स्रष्टा नवीन पौडेलले गर्नुभएको थियो । उहाँले पाँचथरका स्रष्टाहरूमा देखिने सिर्जनात्मक नवीन प्रवृत्तिको चर्चा गर्दै ती रचनासँग प्रतिनिधि नेपाली र भारतीय नेपाली कविताका रचनाहरूको तुलना गर्नुभयो । कार्यक्रममा कृष्ण धराबासी, डा. देवीक्षेत्री दुलाल, सुरेन उप्रेती, कुमार यात्रुलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नौलो बिहान साहित्यिक प्रतिष्ठानका अध्यक्ष्य रामप्रसाद चापागाईँले सबै सहभागीहरूमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा शिवप्रसाद सञ्जेल, रामप्रसाद चापागाईँ, प्रेम ओझा , गोपीकृष्ण ढुंगाना, विन्दु दाहाला मुकदर्शक, गीता सापकोटा, एकराज भण्डारी, सुरेन उप्रेती रवीन तिम्सिना कोर्काली, सूर्य अधिकारी, वीरेन्द्र नेपाल, सन्दीप राई झझल्को, बी.डी चाम्लिङ, चन्द्रप्रसाद पोखरेल, मीना राई, गणेश तिम्सिना, दीपक काफ्ले, राजेन्द्र दाहाल, मधु केरुङ, वासुदेव अधिकारी, कुमार यात्रु, चन्द्र ओझा, विनोद तिम्सिनालगायतले समसामयिक कविता वाचन गर्नुभएको थियो ।