यादव भट्टराई (२०२४ कार्तिक २९, बौघा गुम्बा पाल्पा, पुपुत्र: बालकृष्ण भट्टराई र नेत्रकुमारी भट्टराई) युवा पुस्ताका सक्रिय स्रष्टा, द्रष्टा, साहित्यिक सङ्गठक एवम् उन्नायक प्रतिभा हुन् । २०३८ सालमा ‘म त आगो हुँ’ शीर्षकको कविता अङ्कुर स्मारिकामा प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका भट्टराईका दिशाहीन यात्राका हरफहरू (२०५५) कवितासङ्ग्रहका साथै विभिन्न सम्पादित कृतिहरू प्रकाशित छन् । उनले दायित्व, वैजयन्ती जस्ता पत्रिकाका सथै अन्य विविध पत्रिकामा अतिथि सम्पादक र सल्लाहकार सम्पादकका रूपमा नेपाली साहित्यिक सञ्चार क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । उनले विविध साहित्यिक सङ्घसंस्थासँग आवद्ध रहेर नेपाली साहित्यको साङ्गठानिक विकासमा पनि त्यत्तिकै योगदान दिएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा तीनवटा मुक्तक रचना समेटिएका छन् । यी रचनाले नेपाली समाज र राष्ट्रका विविध विसङ्गत पक्षलाई समेट्न सकेका छन् ।
– सम्पा. |
हुन्छ हुन्न ?
अमृत र विष छान्ने मुटु हुन्छ हुन्न होला
मान्छेलाई एकै मान्ने मुटु हुन्छ हुन्न होला
जानैपर्छ सबै छोडी को छ यहाँ अजम्मरी-
देश दुख्दा दुख्न जान्ने मुटु हुन्छ हुन्न होला !
—
हेर्दाहेर्दै
हज्जारौँ सहिदको बलिदान खेर जाँदै छ हेर्दाहेर्दै
राजनीतिले देशलाई भीरतिर लाँदै छ हेर्दाहेर्दै
मृत्यु आफैँ पहरा बसेको छ जनजीवनको अहो-
छानामाथिको घामलाई खग्रासले खाँदै छ हेर्दाहेर्दै।
—
धतुरो र गुलाफ
झुटको आकाशमा सत्यको सुगन्ध कहाँ डुल्छ
दानवको स्वभावभित्र मानवता कहाँ खुल्छ
सोच्न ढिला भएन र स्वार्थभन्दा माथि देश-
रोपेर धतुरो बगैँचामा गुलाफ कहाँ फुल्छ !