सरुभक्तको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली साहित्यमा बहुमुखी प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनका तीनवटा मुक्तक समेटिएका छन् । यी मुक्तकले नेपालको वर्तमान राजनीतिक विसङ्गतिको पर्दाफास गरेका छन् ।
-सम्पा. |
एक
कपाल फुलेका नानीहरूले देश खेलिरहेछन्
नसहेर एकार्कालाई सकेसम्म पेलिरहेछन्
न इतिहासको चिन्ता छ, न भविष्यको चिन्ता छ
अज्ञानी बबुराहरूले चर्को विकिरण झेलिरहेछन् ।
दुई
कपाल फुलेका नानीहरू थाङनामा सुतिरहेछन्
बिउँझेपछि हाई काढ्दै थाङनामा मुतिरहेछन्
न इतिहासको चिन्ता छ , न भविष्यको चिन्ता छ
बबुराहरूले अरूलाई के आफैलाई लुटिरहेछन् ।
तीन
कपाल फुलेका नानीहरू मित्रदेशका यात्रामा छन्
देशभित्र भन्दा विदेशतिर हावा ठीक मात्रामा छन्
न इतिहासको चिन्ता छ, न भविष्यको चिन्ता छ
बबुराहरू जहिले पनि हाँडीगाउँको जात्रामा छन् ।