चूडामणि रेग्मी (१९९३ चैत्र २९, संखुवासभा, हालःचन्द्रपुर झापा, सुपुत्र : खिलेश्वरीदेवी रेग्मी र पीताम्बर रेग्मी) नेपाली साहित्यमा सिर्जना, समीक्षा, साहित्यिक पत्रकारिता र सङ्गठनका बहुआयामका साथ समर्पित प्रतिभा हुन्। उनका भावना (लघुकाव्यसङ्ग्रह, २०५०), यक्षको पोखरा प्रवास (२०६४) जस्ता काव्यकृति प्रकाशित छन्। उनको कलम आख्यान विधामा पनि त्यत्तिकै सफलताका साथ चलेको छ। उनका पहिलो यात्रा (२०१२), भुमरी (२०३६) नेपाली कथा साहित्य (सहलेखन २०१४), चावी (२०५६) जस्ता कथाकृति प्रकाशित छन्। उनका निबन्धतर्फ साधना (२०३०) धुनमा घुन (२०३५), घुमेका कुरा (२०५६), आँखा र मनका पाइलाहरू (२०६३), वितेकाहरूको सम्झना (२०६३), एउटा छाता दिनुहोला है ! (२०६४), मन भित्र र मन बाहिर (२०६४), गफाडीका गफ (२०६३), गजवाष्टक १०८ (सवाई, २०५१), अर ! उदेक लाग्दा कुराहरू र गजवाष्टक (२०५६) आदि कृति प्रकाशित छन्। उनका निबन्धमा संस्मरणात्मक, हास्यव्यङ्ग्यात्मक शैलीमा नेपाली समाजका बहुमुखी पक्षहरू समेटिएर आएको देखिन्छ। उनको कलम समीक्षातर्फ पनि उत्तिकै चलिरहेको छ । पारिजात : परिचय र मूल्याङ्कन (२०५०), कृती र कृति भाग १ (२०५३), कृति र कृति भाग २ (२०५६), बाइस समालोचना ( २०५६) चिन्तन र समालोचना (२०५९), समालोचनाको वटुलो (२०७३ ), अध्ययन र आँखा (२०७५), चूडामणिका कलममा कमलमणि : व्यक्तित्व र कृतित्व (२०६४) आदि प्रकाशित छन्। उनले प्रगतिवादी र जीवनीपरक समीक्षाचेतनालाई आत्मसा गर्दै आएका छन्। रेग्मीका सम्पादनमा विश्व शाक्यका हास्यव्यङ्ग्य कृतिहरूको मूल्याङ्कन (२०६२), यथार्थ यात्रा भाग १ (२०६६), केदार सत्यालका समग्र कृतिको अध्ययन (२०७० ) जस्ता कृतिहरू प्रकाशन भएका छन्। रेग्मीका नेपाली टुक्काहरूको अध्ययन (२०४१), नेपाली भाषा र व्याकरणका केही विषय : केही छलफल (२०५२), तत्सम शब्दको वर्ण विन्यास (२०५३), दृष्टि पनि सृष्टि पनि (२०६९ ) जस्ता कृतिहरू प्रकाशित छन्। उनको अग्रसरतामा छात्रदूत (वाराणसेय संस्कृत छात्र परिषद्को वार्षिक मुखपत्र (२०१३) कस्तुरी (सामयिक सङ्कलन २०२५), जनवार्ता साहित्यिक (२०२० केही समय), मोती (साहित्यिक सामयिक सङ्कलन २०२३ र २०२४), छहारी (द्वैमासिक २०१५), युगज्ञान सप्ताहिक (समाचारपत्र२०२६–२०४८) धारा (मेची महाविद्यालयको वार्षिक मुखपत्र, २०२४), अध्ययन (मेची महाविद्यालयको वार्षिक मुखपत्र, २०३६), जुही (साहित्यिक त्रैमासिक २०३८ देखि ७० सम्म जम्मा ७२ अङ्कसम्म) यथार्थ कुरा पाक्षिक (२०५२–२०६२ जम्मा ४७ अङ्क), युगज्ञान प्रकाशन (२०३०–२०४२) आदिको सम्पादन पनि गरेका छन्। उनले जूही पत्रिकामार्फत नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदान उल्लेख्य रहेको छ। उनले जुही प्रकाशनमार्फत २०५०–२०७० भित्र ६२ वटा पुस्तक प्रकाशन भएका छन्। ती पुस्तकको भाषा सम्पादन र प्रकाशकीय लेखनमा उनको सक्रिय भूमिका देखिन्छ। उनले साहित्यसेवावापत अनेक मान सममान र पुरस्कार पनि पाएका छन्। उनी आफू सिर्जना गर्ने भात्र नभई अन्य प्रतिभा र विशेषतः नयाँ प्रतिभाहरूलाई अभिप्रेरित गर्ने प्रतिभा हुन्। उनी अहिले पनि निरन्तर लेखिरहेका र प्रकाशन गरिरहेका छन्। उनका समग्र कृतिहरू पुनः ग्रन्थन भएर प्रकाशन भइरहेका छन्। साहित्यसागरको प्रस्तुत शृङ्खलामा रेग्मीका नौवटा मुक्तक समेटिएका छन्। रेग्मीले मुक्तकलाई त्रितुकान्त सिर्जनाका रूपमा मात्र भन्दा पनि आवश्यकताअनुसारका तुकान्त पदको प्रयोग गरी आफैमा पूर्ण चार हरफे मुक्त वा बद्ध लयको लघुकविता रचनाका रूपमा प्रस्तुत गरेका छन्। रेग्मीका यी मुक्तकले समसामयिक बहुमुखी समस्याहरूलाई सम्बोधन गरेका छन्।
–सम्पा.
|
त्यो होला कि राम्रो मान्छे टोपी ढल्काउँछ !
अझ यो पो होला जौडे ! कत्रो भिड लाउँछ !
सवै उस्तै !उस्तै आए ! हामी लाटा ठान्ने !
अव हेर ! वाठालाई सोझै पछारिन्छ !इतिहास भासमा
प्रतिक्रियावाद सधैं सधैंको
मुस्काउँछौ के इतिहास हेर !
कस्ता कता छन् ? कति भासिया छन् ?
काला हुने अक्षर छन् भरे त !
हेर्दा कतै कतै लाग्छ हाम्रो देश समाज यो
फेरियो !अघिको छैन !अर्को नै छ सवै अहो !
राजनीति पनि अर्कै !तर छक्क परें म पो !
चालनीति उही थाङ्ने ! के मख्ख !लाज लाग्छ ! हो !
भित्रभित्रै साष्टाङ्ग छ !
आँ आँ गर्छन् ! खाँ खाँ ! गर्छन् तिघ्रे लाट्ठे पनि
जदौ ! सलाम ! झुकी गर्छन् हनुमान् नै भई !
ठाडे जुग आयो ! भन्छन् लाटा सोझाहरू !
भित्रभित्रै साष्टाङ्ग छ ! वाहिर लाटाहरू !
होला केही भनेको त !
होला केही भनेको त! भाका र भाषा सवै लय
कता कताको जस्तो नै देश ङ्याक्नेतिरै पद !
’जी’ प्यारो ! ’जिउ ’वा राम्रो ’ज्यु ’पुरानो भयो कि वा !
धारावाहिक हेर्ने छन् ! धारावाहिक चित्र छन् !
कोही माथि उठे !
’कोही माथि उठे !’भनेर पहिले गायौं निकै गीत नै
उठ्ने दङ्ग थिए! सुन्यौँ नि !अहिले डङ्गै लडे तीअरे !
धेरै पारि पुगे ! भनेर भनिएका नै यतै वारि रे !
’थोत्रो थाल पिटेर !’ शान्त मनले वस्ने यहीं छौं!यतै!
यतिले त पुगेन लौ !
गर्मीले त पोल्यो पोल्यो ! यो जाडोले चिल्यो !
वुढेस त काल रेछ ! अत्याउने यस्तो !
यो सरक ओखती र केही वृत्ति दिन्छ !
’यतिले त पुगेन लौ ! ’प्रकृतिले भन्छ !
क्या ! विचित्र !
गडवड कति के के ? ती गनी साध्य छैन!
अव पनि ढुकिरेछौ! दाउ लाग्ने भुतुक्क !
कति कति अरू जस्तै हौ तिमी एक प्राज्ञ
गनिकन सव छक्कै नै परे क्या ! विचित्र !
उज्यालो त झर्छ ! झर्छ !
जति ढाँट ! जति उफ्र ! कालो हट्छ ! हट्छ !
हाम्रा जनकवि भन्थे उज्यालो त झर्छ ! झर्छ
जति ढाँट अन्याय त् खुल्छ ! खुल्छ ! खुल्छ ! !!
पक्ष विपक्षका हेर ! तिम्रो भेद खुल्छ !
***
भद्रपुर, झापा