सम्पादकीय
नेपाली भाषालाई संस्कृत भाषाबाट विकसित भाषा भनिए पनि यो भाषा प्राकृत भाषाहरूबाट विकसित भाषाहरूमध्ये एक हो भन्ने मत पनि त्यत्तिकै प्रवल देखिन्छ । नेपाली भाषाको पृष्ठभूमि के हो ? यो भाषा बसरी विकास हुँदै आयो ? यस भाषाको मूल सम्बन्ध कुन कुन भाषामा छ भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । हामी यो जिज्ञासाको सही समाधानमा अझै पुग्न सकेका छैनौँ ।
नेपाली भाषा संस्कृत भाषाबाट विकसित भाषा हो कि प्राकृत भन्ने मत चलिरहेकै छ । जोन बिम्स (सन् १८७२) ले नेपाली भाषालाई प्राकृत भाषाबाटै विकसित भाषाहरूमध्ये एक भाषा हुन सक्ने सङ्केत गरेका छन् । उनका अनुसार वैदिक युगदेखि नै एकअर्काले बुझ्ने र बोल्ने प्रकृतिका प्राकृत भाषाका अनेक भाषिकाहरू जीवन्त थिए । तत्कालीन पण्डित एवम् बुज्रुकहरूले तत्कालीन समाजमा प्रचलित प्राकृत भाषामध्ये संस्कृत भाषालाई मानवीकरण गरेको अनुमान धेरैको छ । यस भाषाको नाम संस्कृत पनि पण्डितहरूले जुराइसकेका थिएनन् । त्यही प्रचलित तर नाम पाइनसकेको तत्कालीन भाषामध्ये मानक भाषालाई पाणिनिले संस्कृत भाषाका रूपमा नामाकरण गरे (पृ. ३) । निम्बसका दृष्टिमा त्यही नामले संस्कृत भाषा स्थापित भयो । जुन भाषा सर्वसाधारणका लागि नभई पण्डित र शासकका पहुँचमा रह्यो । सर्वसाधारणका बोलचालका लागि विविध प्राकृत भाषाहरू नै प्रचलनमा थिए । यो सन्दर्भ नेपाली भाषाको पृष्ठभूमि र मूल जरो पहिल्याउन निकै सहायक देखिन्छ ।
नेपाली भाषा संस्कृत भाषाबाट विकसित भाषा हो भन्ने पक्षलाई पूर्ण रूपमा पुष्टि नगरी प्राकृत भाषाका विभिन्न भाषाहरूमध्ये एक भाषाका रूपमा विकास भएको मान्न सकिने देखिन्छ । संस्कृत प्राकृत भाषाहरूमध्ये पुरानो मानिन्छ । यो भाषा शासकहरू एवम् पण्डितहरूको भाषा भएकाले त्यसको प्रभाव अन्य भाषामा पर्नु स्वाभाविक देखिन्छ । पूर्वीय वैयाकरण पाणिनिले मानकीकरण गरेपछि संस्कृत भाषाको रूप स्थिर बन्यो । पछि यस भाषामा केही परिवर्तन आए पनि यो भाषा खासै बदलिएन तर अन्य भाषाहरू बदलिँदै आए । संस्कृत भाषा नबदलिई आफ्नो स्वरूपमा बलियो भयो भने अन्य भाषा बदलिनाले ती भाषाहरू संस्कृतबाट प्रभावित हुनु स्वाभाविकै देखिन्छ । नेपाली भाषाका सम्बन्धमा यो प्रक्रिया चलेको देखिन्छ ।
संस्कृत भाषाको उत्पत्तिबारे पनि विविध धारणा छन् । भाषिक इतिहासका सन्दर्भमा हामीले हाम्रो इतिहास आफै सुरक्षित गर्न नसक्ता विदेशी लेखकका लेख र अनुसन्धानलाई आधार मानेर अगाडि बढ्नुपर्ने अवस्था छ । जोन बिम्बस (१८७२) का अनुसार पाणिनी नै मानक संस्कृत भाषाका जनक हुन् (पृ. ५–८) । यसो भन्दा पूर्वीय प्राचीन भाषाको इतिहास खुम्चने सम्भावना पनि रहन्छ । अर्का विद्वान् टर्नर (सन्. १९३१) को शब्दकोशको तुलनामूलक परिशिष्टले पनि यस पक्षलाई पुष्टि गरेको छ । नेपाली भाषाका शब्दहरू अरू भाषाका तुलनामा संस्कृत भाषासँग बढी मिलेको देखिन्छ । उनको खोजअनुसार ५६२० वटा शब्द संस्कृत भाषासँग मिलेको देखिन्छ (पृ. ६५७–९३३) । यसको कारण नेपालीहरू हिन्दुधर्मावलम्बी बढी भएकाले यस भाषाको सम्बन्ध वेद, उपनिषद्, पुराण र अन्य धार्मिक एवम् हिन्दू दर्शनका ग्रन्थबाट प्रभावित हुन सक्ने विद्वान्हरूको अनुमान छ । नेपाली भाषामा प्रयोग हुने वैज्ञानिक र पारिभाषिक शब्दावलीमा संस्कृत भाषाकै धातु, प्रतिपदिक, उपसर्ग र प्रत्ययको प्रयोग भएको देखिन्छ ।
संस्कृत मात्र होइन नेपाली भाषाका निकट देखिने अरू थुप्रै भाषाहरू छन् । टर्नरका अनुसार संस्कृतपछि सबै भन्दा निकट साइनो भएको भाषा हिन्दी देखापर्छ । नेपाली भाषासँग हिन्दीका ५२५० शब्द रहेको तथ्य छ । यो तथ्य कसरी रह्यो भन्ने सम्बन्धमा नेपाली भाषा बोल्ने वक्तासँग पूर्व, दक्षिण र पश्चिमतिर हिन्दीभाषी वक्तासँगको संसर्ग हो भन्ने बुझाइ छ । यसका साथै हिन्दी भाषाका समाचार, पत्रपत्रिका, पुस्तक, चलचित्र, लोककथा, लोकोक्ति, गीत र आरतीसमेतको प्रभाव रहेको मानिन्छ । यसका साथै नेपालीहरू शिक्षा, व्यापार, रोजगारी, पर्यटन, तीर्थ पर्यटन आदिका कारण भारतीय भूमिमा पुग्नु यसको अर्को कारण हो । यसलाई सामाजिक सांस्कृतिक सम्बन्धका आधारमा हुने प्रभावका रूपमा बुझ्न सकिन्छ । नेपाली भाषासँग अन्य भाषाको ऐतिहासिक सम्बन्धको आधार पनि बलियो छ ।
टर्नरकै खोजअनुसार ऐतिहासिक दृष्टिले भारोपेली भाषाका ५५, भारतीय आर्य परिवारका ४७० र प्रकृत भाषाका ३४७८ शब्दहरू नेपाली भाषासँग मिल्दा छन् । ऐतिहासिक सम्बन्धभित्र यसको बन्धुत्वको आधारलाई पनि लिन सकिन्छ । नेपाली भाषाका भगिनी भाषाहरू थुप्रै छन् । तीमध्ये पञ्जावी भाषासँग ३५२१ शब्दहरू मिल्दाजुल्दा भेटिएका छन् । नेपाली भाषालाई टर्नरले पश्चिमी भेगबाट विकसित भएको मानेका छन् । यस तथ्यले नेपाली भाषाको भगिनी सम्बन्ध अन्वेषणका लागि पनि मार्ग प्रसस्त गरेको छ ।
ग्रियर्सनले छैटौँ शताब्दीपछि सपादलक्ष प्रदेशमा बसाईँ सरेको प्रसङ्ग उठाएका छन् । यो हिमाञ्चल प्रदेशको चम्बादेखि पश्चिम नेपालसम्मको भूगोल हो । यस भूगोलका मानिसका अन्तरघुलनले नेपाली र पञ्जावी भाषा एकअर्कामा मिल्दाजुल्दा जस्ता लाग्छन् । पञ्जावी र हिन्दी भाषाका शब्दलाई नेपाली भाषाले भगिनी भाषाका रूपमा आत्मसात गरेको छ । यसैगरी गुजराँतीका ३२५५, मराठीका ३२४०, सिन्धीका २८०८ शब्दहरू नेपाली भाषासँग मिल्दा जुल्दा भएको तथ्य छ । भगिनी सम्बन्धका भाषाका कुमाउनी, गढवाली, कस्मिरी आदि भाषालाई लिन सकिन्छ ।
उक्त तुलना जसरी नै भौगोलिक सम्बन्धका भाषाहरूसँग पनि नेपाली भाषाको तुलना गर्न सकिन्छ ।
यहाँ उठाउन खोजिएको प्रश्न यति मात्र हो कि नेपालीलाई संस्कृत भाषाबाट विकसित भाषाका रूपमा लिँदा र प्राकृत भाषाहरूमध्येकै भाषाका रूपमा लिँदा यसको इतिहास कहाँ बलियो हुन्छ । यथार्थत : यो खासमा कस्तो भाषा हो भन्ने विषयमा नेपाली भाषावैज्ञानिकहरूकै अनुसन्धानको खाँचो छ । टर्नर, हन्र्ले, जुल्ज ब्लख, मासिका आदिका चिन्तन कतै संस्कृत भाषालाई नै साधारण भाषाका रूपमा देखाउने प्रयासमा त छैनन् ? चटर्जी (सन् १९२६) का अनुसार संस्कृत भाषा उत्पत्तिको समय इसापूर्व १५०० देखि ५०० सम्म हो (पृ. ९) । यो आधार पनि कति भरपर्दो छ ? ई.पू. १४ औँ शताब्दीमा वर्तमान इराक राज्यमा पनि संस्कृत भाषाको अवशेष फेला परेको जे ब्लोच आदि विद्वान्को मत छ (पृ.११) । यी पक्षहरू पनि नेपाली भाषाको जरो पहिल्याउन सहायक हुने देखिन्छ ।
ऐतिहासिक दृष्टिले संस्कृत भाषाको प्राचीन ग्रन्थ ऋग्वेददेखि उपनिषद्, रामायण, महाभारतको रचना काल कहिले हो ? उता इरानका शासक रुद्रदामनको १५० ई. मा लेखेको अभिलेखलाई संस्कृतको इतिहासको आधार मान्ने (बोच, सन् १९६५, पृ. १४) लाई नै पाश्चात्य विद्वान् आधार मानिरहेका छन् । यसरी हेर्दा पाणिनीपूर्व संस्कृत भाषाको इतिहास थिएन भन्ने पश्चिमाहरूको प्रयास र पछिल्ला तथ्यलाई आधार मान्ने प्रयासबाट संस्कृत भाषाको इतिहास खुम्च्याइनु हुँदैन र यससँगै नेपाली भाषाको विकासको ऐतिहासिक आधार पनि खुम्च्याइनु हुँदैन । चटर्जी (सन् १९२६)का अनुसार इस्वीको १००० देखि मात्र आधुनिक आर्यभाषाको विकास भएको हो (पृ.१७) । यही समय आसपास नेपाली भाषाको उत्पत्ति भएको तर्क नेपाली भाषावैज्ञानिक माधव पोखरेलको रहेको छ (पोखरेल, पृ. १६) । भारतीय आर्य भाषामध्ये जोन बिम्सले चन्द बरदाईको पृथ्वीराज रासउलाई नव्य भारतीय आर्यभाषाको पहिलो ग्रन्थ (१० औँ शताब्दी) मानेका छन् । यस आधारबाट पनि संस्कृत र नेपाली भाषाको इतिहास वस्तुत : खोजिनुपर्छ । यस खोजले अन्य भाषाको इतिहास खोज्न पनि सघाउ पुर्याउँछ ।
नेपाली भाषाको इतिहास १३औँ शताब्दीपछि मात्र लिखित रूपमा फेला पर्छ । त्यसअगाडि यसको लिखित स्वरूप फेला पर्दैन । अठारौँ शताब्दीपछि मात्र यस भाषाले साहित्यिक स्वरूप पाएको इतिहास छ । नेपाली भाषालाई लोकभाषा, नेपाल भाषा, पर्वती, पाख्या, पर्वतिया, पहाडिया, खस, खस कुरा, खस बोली, उत्तरी गौडीय, गोर्खाली, गोरखाली भाषा, गोरखा भाषा, प्राकृत भाषा हुँदै नेपाली भाषाका रूपमा विकास भएको इतिहास छ । नेपालमा खुलेका संस्थामध्ये गोरखा भाषा प्रकाशिनी समितिको नाम पछि केही भारतीय प्रवासी नेपालीको सल्लाहअनुसार नेपाली भाषा प्रकाशिनी समिति राखेको बुझिन्छ । यी केही तथ्यहरूलाई आधार मानेर नेपाली भाषाको उत्तपत्ति र यसको विकासबारे ऐतिहासिक विमर्शको खाँचो छ । नेपाली भाषावैज्ञानिकहरूले विदेशी अन्वेषकका आधारलाई मात्र लिनुभन्दा पनि आफ्ना विवेक र पूर्वीय भाषिक अनुसन्धान पद्धतिहरू अपनाएर यस भाषाको मौलिक इतिहास बनाउन सक्छन् र सकून् ।
प्रमुख सन्दर्भ
पोखरेल, शैलजा (२०७४). नेपाली भाषाको सामाजिक इतिहास (पृ.१–१२६). जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास. माधवप्रसाद पोखरेल (सम्पा.), चूडामणि पोखरेल र दयाराम श्रेष्ठ (का.सम्पा). ललितपुर : कमलमणि प्रकाशन ।
Beams, J. (1872). A Comprarative Grammar of the Modern Aryan Languages of India. London: Trubner.
Bloch, Jules (1965). Indo-Aryan Form the vedas to modern times. Paris: Adrien-Maisonneuve.
chattargi, S.K (1926). The Origin and development of the Bengali Language. Calcutta: Calcutta University Press.
Grierson, G.A (1916). Lingustic Survaya of India. Vol 9, Part 4. Delhi: Motilal Banarasidass.
Hoernle, Roudolf (1880). A comparative Grammar of the Gaudian Languages. Amsterdam: Philo Press.
Tourner, RL and DR Turner (1931). A comperative and Etymological Dictionary of the Nepali Language. London: Kegan Paul Trench Trubner.
Masica, C.P. (1991). Indo–Aryan Languages. Cambridge : Cambridge University Press