आजको विश्वमा साहित्यलाई कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने बहस चलिरहेको छ । राजनीतिज्ञहरूले यसलाई आफ्नो विचारवाहक विषयका रूपमा लिइरहेका छन् । प्रकाशकहरूले व्यापारका रूपमा लिइरहेकाछन् । साहित्यिक पत्रकारहरूले पत्रिकाका लागि आवश्यक कच्चा पदार्थका रूपमा लिइरहेका छन् । अनलाइन पत्रिकाहरूले भ्युवर बढाउने साधनका रूपमा लिएका छन् । साहित्यको सांस्कृतिक गरिमा भन्दा यसको उपयोगिता अन्तरविषयका विकास र प्रभावमा परिरहेको छ ।
साहित्य उच्च भाषिक कला हो । यसको सांस्कृतिक एवम् समाजशास्त्रीय अध्ययन गरिए पनि यसमा मूल मूल्य साहित्यिक मूल्यकै रूपमा रहन आवश्यक छ । यस मूल पक्षलाई उपयोगितावादले विस्तारै छायामा पारिरहेको छ । यति प्रभाव पारेको छ कि सौन्दर्य शास्त्रको क्षेत्रमा प्रचलित पारिभाषिक शब्दकै रूपमा उपयोगितावाद परिचित छ । यसले आजको विश्वमा मान्छे हरेक वस्तुलाई छिटै र सहज स्थितिमै उपयोग हुने विषय र साधनलाई बढी उपयोगी ठान्ने बन्दै गएको छ । यसले साहित्यलाई पनि उपयोगिता र उपयोगिताविहीन देख्ने फरक दृष्टिकोणको विकास गरेको छ । एउटा समूहले राम्रो भनेको साहित्य अर्को समूहका लागि विनाकामको बनिरहेको छ । एउटा समुदायको स्रष्टाको साहित्य अर्को समुदायका लागि उपयोगविहीन बनिरहेको छ ।
पश्चिमी समाजमा नवउपनिवेशवादी चिन्तनको विकास भएपछि शक्ति र समृद्धिमा रहेका राष्ट्रहरूले विश्वका सानातिना र शक्ति क्षीण भएका राष्ट्रहरूलाई उपभोक्ता बजारका रूपमा मात्र लिन थाले । यो स्थिति आर्थिक क्षेत्र वा विनिमयका वस्तुमा मात्र सीमित रहेन । उनीहरूका दृष्टिमा उपभोक्ताको बजार बन्दै गएको विश्वलाई उपयोग गर्न मिल्ने वस्तुको उत्पादन गर्ने क्रम तीव्र रूपमा विकास भयो । विश्वमा उत्पादित वस्तुको उत्पादन पनि उपयोगिताका दृष्टिले सहज हुने दिशातिर मोडिए । विज्ञान र प्रविधिको सहायताका कारण मान्छेका मूल्यहरू पनि बिस्तारै मेसिनतर्फ केन्द्रित बन्दै गए । उत्पादित वस्तुहरू उपभोक्ताको उपयोगिताको सीमामा बाँधिँदै र धकेलिँदै गए । मान्छे स्वयम् उपयोगिताका आधारमा मात्र प्रत्येक सामानको उपयोग गर्नेतर्फ केन्द्रित बन्दै गयो ।
उपयोगितावादी चेतनाका कारण कुनै पनि वस्तु एकपल्ट उपयोग गर र फ्याँकको अवस्थामा पुग्यो । यसका प्रभावमा कपासका कपडा विस्थापित बन्दै गए । धातु र काठका वस्तुहरू विस्थापित बन्दै गए । समाज काँचको सुन्दरता, प्लास्टिको छरितोपन र फाइबरतिर आकर्षित बन्यो । कागजको सौन्दर्यमा हराउन थाल्यो । यही सूत्रका आधारमा मान्छे विस्तारै अल्छे र उपयोगितामा विश्वास गर्ने बन्दै गयो । यस किसिमको उत्पादन र उपयोगले केही हदसम्म मानिसको मानसिकता सहज र सुरक्षित पनि अनुभव भयो । मानिसका अभावका बिच सहज प्राप्तिको बोध पनि भयो । मान्छेलाई आवश्यक वस्तु सस्तो र सुलभ जस्तो पनि भयो । यद्यपि यसरी उत्पादित उपयोगी वस्तुको उपयोगको अवधि क्षणिक बन्दै गयो । उपयोगको वस्तु पनि एक देशीय, आञ्चलिक र स्थानीय बन्दै गयो । यसरी मान्छेलाई थाहै नपाई तातो, न्यानो र रङ्गीन अनुभूति प्रदान गर्न उपयोगितावाद सफल भयो । उपयोगिताका आधारमा मानिसलाई विश्वस्त पनि बनाउँदै गयो । तर विस्तारै नजानिँदो गरी वस्तुको सत्य र शास्वत सामर्थ्यको मूल्य ध्वस्त बन्दै गयो । यस किसिमको नवउपयोगिताको क्षणिक लाभतर्फ आकर्षित बन्दै गएका कारण आजको विश्व उपयोगितावादतिर पूर्ण रूपमा समर्पित बन्यो । यसले समाजमा प्रभाव र अवधारणाको रूप लिँदै उपयोगितावादको रूप लियो । यसको प्रभाव साहित्य र संस्कृतिमा पनि पर्यो ।
साहित्य शास्त्रमा पनि विश्वको अर्थबजारमा देखिएको यो उपयोगितावाद हावी बनिरहेको छ । हामी यसको नमुनाका रूपमा नेपाली बजारमा नुनको विज्ञापन गरी लेखिएका कवितालाई बुझ्न सक्छौँ । कुनै पार्टी र गुटका लेखकले आफ्ना नेताको विचारलाई आधार मानेर साहित्य सिर्जना गरेको पनि देखियो । गणतन्त्रपूर्वको नेपालको राष्ट्रगान राजाको स्तुति केन्द्रित हुनु पनि यसकै एउटा उदाहरण थियो । रचना यति समयभित्र दिनु पर्यो । रचनाको आयतन मेरो पत्रिकाको सीमामा अट्ने हुनु पर्यो । रचनाको भाषा बौद्धिक भन्दा पनि सबैले बुझ्ने हुनु पर्यो । रचनाको स्तर मैले बुझ्ने हुनु पर्यो । रचनाको विषय र उद्देश्य यस्तो सीमामा हुनु पर्यो । रचनाको उद्देश्य आन्दोलन, अभियान वा राजनीतिलाई काम दिने हुनु पर्यो । यो छन्द यो रसमा हुनु पर्यो ।
हाम्रामा साहित्यको उपयोगितावाद पार्टीगत लेखनमा देखिइराखेको छ । लेखक पनि पार्टीपिच्छेका र तिनका लेख वा कविता पनि पार्टीका उद्देश्यलाई सघाउने हुनु पर्यो । गणतन्त्र पक्षधर हुनु पर्यो । राजतन्त्र पक्षधर हुनु पर्यो । त्यस रचनामा कला मूल्य होस्, नहोस् एउटालाई राजाको विरोध भए पुग्यो र राम्रो भयो । अर्कालाई राजाको जय गाए पुग्यो र राम्रो भयो । यस्तो उपयोगितावादले साहित्यलाई उच्च कलामूल्य र चेतनाको साहित्य भन्दा उचाल्ने र पछार्ने विषय बनायो । यस रापचापले साहित्य साहित्यभन्दा बढी कुरा र नारा बनिरहेको छ । अहिलेकै लागि आवश्यक लेखनमा परिणत भइरहेको छ । अखबारी र समाचारमूलक बनिरहेको छ । पत्रिका वा प्रकाशकले भने जस्तै मात्र लेखिदिने र छापिदिने चलन बढ्दो छ । यो सबै प्रभाव उपयोगितावादको हो । उपयोगितावादको सिर्जन प्रभावको परिणति हो । यस्ता कार्यहरू यही उपयोगितावादबाट प्रेरित रहेका छन् ।
साहित्यका केही उपयोगितावादी पक्षहरू उदाहरणयोग्य छन् । जस्तो कि नारी दविस आसपासको समय आयो नारीकेन्द्रित कविता लेखिदेऊ, समाज वा राजनीतिक जागरणको मौसम आयो त्यही विषय केन्द्रित कविता, कथा लेखिदेऊ । संविधान निर्माणको काम आयो निर्माणमा सघाउने लेखिदेऊ, संसद् स्थापनाको समय आयो त्यसलाई सघाउने लेखिदेऊ, विघटनको बेला आयो त्यसलाई सघाउने लेखिदेऊ । यो समूहका उद्देश्यअनुरूपको लेखिदेऊ । यहाँ बहुदलीय पार्टी व्यवस्थाअनुरूप फलानापार्टीको हित हुने, फलाना पार्टीको तेजोबध हुने, संविधान बन्ने, संविधान नबन्ने, मधेस समेट्ने, पहाड समेट्ने, दलित चेतना बोक्ने, जनजातिको आवाज समेट्ने, ब्राह्मण समाजको चेतना नसमेट्ने, हिन्दू, मुस्लिम, क्रिस्चियन, किराँत आदि धार्मिक उद्देश्य समेट्ने कविता लेखिदेऊ उपयोगितावादको साहित्यिक प्रयोग हो । हुँदा हुँदा व्यक्ति स्तुतिमा कविता लेखिदेऊ, संस्था स्तुतिमा कविता लेखिदेऊ, कुनै वस्तुको विज्ञापनमा कविता लेखिदेऊ । मेरो अभियान यो हो यसलाई सफल बनाउने कथा लेखिदेऊ, मेरो वाद यो हो यसलाई समेटेर निबन्ध लेखिदेऊ । मेरो संस्थाको उद्देश्य यो हो यसलाई समेटेर नाटक वा टेलिफिल्म लेखिदेऊ । फलानालाई सम्मान गर्नु पर्यो उसको सम्मान पत्रको व्यहोरा कवितामा लेखिदेऊ । यस्ता आग्रहले फस्टाएको उपयोगितावादका फाइदा केही भए पनि साहित्यका मूल्यहरू कमजोर बनिरहेका छन् । यसले साहित्यको उपयोगिता त मौलायो तर यसको कलात्मक मूल्य क्षीण हुँदै गयो । यसका सांस्कृतिक मूल्यहरू ध्वस्त प्रायः बन्दै गए । यस दृष्टिले विस्तारै उच्च कलात्मक नेपाली साहित्य पनि सङ्कुचित बन्दै र पार्टी, वर्ग र गुट साहित्यका घेरामा खुम्चिदै आएको स्थिति व्यापक बन्दै गएको छ ।
उपभोक्तावादी चिन्तनले सिर्जनासँगै समीक्षालाई गाँजिसकेको छ । यहाँ कसैका किताब निस्कँदा खोजी खोजी समीक्षा गर्ने र कसैका किताबको समीक्षा नै नगर्ने साहित्यिक सञ्चारकर्मी विकास भइरहेका छन् । लेखक पनि सत्तापक्षीय भए, सम्पतविाल भए उसको कृतिको मूल्य र मूल्याङ्कन फरक पर्न थालेको छ । उपयोगितावादकै कारण असाहित्यकार साहित्यकार र साहित्यकार असाहित्यकार बनिरहेका छन् । कृति विमोचनका समारोहहरू होटलमा भए चर्चामा आउने र साधारण ठाउँमा भए नआउने भइसकेको छ । जतासुकै उपयोगिताको वर्चश्व बढिरहेको छ । समस्या शास्त्रीय र कलामूल्य ध्वस्त बनिरहेको छ ।
–सम्पादक