इन्दिरा गौतम (ओदालगढी, असम भारत, सुपुत्री ः तोयाप्रसाद उपाध्याय र घृतमाया देवी, सन् १९७२ जनवरी ४, असम भारत) युवापुस्ताकी सक्रिय स्रष्टा प्रतिभा हुन् । स्नातक तहसम्मको शिक्षा लिई अध्यापन पेसामा संलग्न गौतम कथा, कविता लेखनमा रुचि राख्छिन् । उनी असम नेपाली साहित्य सभाकी ओदालगढी साखाकी सभानेतृ हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा खुसी’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले कोरोना महामारीबाट बच्न गरिएको लकडाउनका कारण निम्न वर्गीय मानिसका समस्यालाई देखाएको छ ।
– सम्पा. |
लकडाउनले सबै हाट–बजारहरू बन्द छन् । खाद्यान्नको मूल्यले आकाश छोएको छ । दिनदिनै ज्याला–मजदुरी काम गरेर खाने गोरे जस्ता मान्छेको त हरिबिजोग भएको छ । गोरे मनमा एक भारी खाँचो बोकेर थोरै पैसाले आवश्यक सामग्री किन्न बजार छिरेको मात्र थियो ।
एघार बज्न दश मिनेट मात्र बाँकी छ । एघार बजेबाट सारा असममा लकडाउन हुन्छ । तोकिदिएको समय अगि नै घरभित्र छिर्नै पर्छ । एक मिनेट ढिलो भएमा पुलिसको ताजन पाइन्छ । पुलिस सिटी बजाउँदै समयको सङ्केत दिन थालेपछि उसलाई लाग्छ आज पक्कै धुलाई हुने भो ।
हतार हतारमा गोरे आवश्यक साग–सब्जी किन्न बाटोमा फिँजाएका सब्जीवालासँग दरभाउ मिलाउन लाग्छ । पाँच रूपियाँको अमिलमा आवश्यक सामान पनि कटौती गर्नुपर्ने सोच्न थाल्यो ।
एक्कासी पछिबाट पुलिसले गोरेलाई तात्तिने गरी हान्यो । गोरे बोल्न नपाई पुलिसले भन्यो ः लकडाउन समयको पावन्दी थाहा छैन ? पसलेले डरले आत्तिएको झ्वाँकमा एकपल्ला जति आलु र भएभरको सब्जी गोरेले थापिरहेको झोलामा भराउँदै पसले बिजुली गतिमा पसलै छोडेर भाग्यो ।
गोरेले जसोतसो झोला उचाल्दै आफ्नो ढाड छाम्यो । उसलाई लौराको बाहिरी दुखाई भन्दा भोकको भित्री दुखाइले पीडा थियो । झोलाभित्र परिवारको सात दिनको खुसी भरिएको देखेर खुसीको मुस्कानसहित घर फक्र्यो ।