पेशल आचार्यको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा कवि एवम् निबन्धकारका रूपमा स
मेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनका डन र सुहागरात जस्ता दुई वटा लघुकथा समेटिएका छन् । यी दुवै लघुकथाले राजनीतिक विसङ्गतिको पर्दाफास गरेका छन् । -सम्पा. |
सहरको नामी डन मारियो
पुलिसले भन्यो –पुलिस इन्काउन्टरमा मारियो । डनहरूको समाजले भन्यो –पुलिसले मारेर इन्काउन्टर भनेको हो ।
भूपू पुलिस अफिसरले पत्रिकामा लेख नै लेखे । लेखको सार यस्तो थियो – नेता र डनको प्रेसर पुलिसलाई कस्तो हुन्छ – त्यो त पुलिसले मात्र फिलिङ गरेको हुन्छ ।
देशमा त्यतिखेर बाढीपहिरो र अन्य आपराधिक घटनाहरू पनि घटेका थिए । पत्रिकाले डनको मृत्युलाई बाइलाइन समाचार, फिचर र लेखका रुपमा बेचे । यस्तो लाग्थ्यो कि डन बाँचेर भन्दा मारिएर बढी क्यास भएको छ –सहरमा ।
अर्को दिन संसद अवरुद्ध पार्दै सत्तारुढ दलका सांसदले भने –मानिसको बाँच्न पाउने मानवाधिकार हनन भयो । पछि बुझ्दै जाँदा थाहा भयो । मारिएको डन सत्तारुढ पार्टीका तिनै नेताको चुनाव जिताउने प्रमुख कार्यकर्ता थियो ।
नेताले डनको छाता ओडेपछि थाहा भयो नेता र अपराधको जालो कस्तो हुँदो रहेछ ।
—
सुहागरात
चुनाव जितेपछि नेता खुसी भए । धेरै वर्षदेखि उनले नजितेको चुनाव क्षेत्रमा फेरि एकपटक रौनक आयो । कुखुरा भुत्ल्याइए । खसी काटिए । राँगा लडे । बियर र रक्सीका बिर्का खोलिए । माहौल यस्तो भयो कि सबै खुसहाल देखिए ।
एकाएक नेतापत्नीको मुहारमा कालो बादलको धर्सा देखियो ।
नेताले पत्नी खुसी पार्नका लागि बेलुका खुसुक्क कानमा भने – अब तिमीले चाहे अनुसार सांसद विकास कोषको रकम चलाउन पाउने भयौ ।
जनताका नेताको यो भनाइपछि एक्कासी नेता पत्नीको मुहारमा चन्द्र रश्मिको कान्ति छायो ।
उनले भनिन् –हजुर अब हाम्रो सुहागरात सुरु भयो ।