गणेश भट्टराईको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी बहुमुखी प्रतिभा हुन् । पछिल्लो समय उनी लघुकथा सिर्जनामा निकै सफल देखिएका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘अधिकार’ शीर्षकको लघुकथा समेटिएकोे छ । यस लघुकथामा नेतृत्वमा रहने मानिस र कानुन बुझेका मानिसले नै अधिकारको दुरूपयोग गरिरहेको पक्ष उद्घाटन गरिएको छ ।
-सम्पा. |
स्नातक तहको परीक्षा चलिरहेको थियो । आज मानव अधिकार विषयको परीक्षा रहेछ । परीक्षार्थीहरू परीक्षा दिइरहेका थिए । धैरैको ध्यान परीक्षा हलमा क्यामेरा राखिएको छ छैन भन्नेमै थियो । यसपालि परीक्षा दिन स्थानीय तहका सरकार प्रमुख, प्रदेश सभाका सदस्यलगायत राजनीतिक व्यक्तित्वसमेत आएका थिए । केन्द्राध्यक्षले परीक्षा स्थलललाई निकै व्यवस्थित बनाएका थिए ।
परीक्षा दिन आएका परीक्षार्थी बिसदेखि साठी वर्ष उमेर समूहका थिए । महिला, पुरुष र अपाङ्गता भएका विद्यार्थी पनि थिए । परीक्षा दिन आएकामध्ये एक जना बाक्ला लुगा लगाएकी महिला प्रश्नपत्र पाउनसाथ हडबड गरिरहेकी थिइन् । आधा घण्टापछि उनले भनिन्, “मलाई पानी दिनुहोस् ।”
हलका निरीक्षकले पानी दिए । त्यस बेलासम्म उनले कापीमा थोरै मात्र लेखेकी थिइन् ।
एक घण्टा बितेको घण्टी बज्यो । केही परीक्षार्थीले हलबाहिर जान अनुमति मागे । उनीहरू शौचालयतिर लागे । बाक्ला लुगा लगाएकी महिला पनि अनुमति मागेर बाहिर निस्किन् ।
महिला भ¥याङको तल्लो सिँढीमा खुट्टा राखेर माथिल्लो सिँढीमा बसिन् । उनी स्वेटरका गोजी र छातीका कुनाकानीतिरबाट साना साना चिट निकालिन् । प्रश्नपत्र हेर्दै तिनलाई देबे्रतिरको गोजीमा राख्न थालिन् । सी.सी. क्यामेरा हेरिरहेका केन्द्राध्यक्ष्य यो देखेर त्यहीँ आइपुगे ।
उनले महिलालाई भने, “दिदी, के गरेको यो । परीक्षा दिन आउनुभएको छ । कानुनको परीक्षा दिने मान्छे ! यसो गर्न मिल्छ ? यी सबै मलाई दिएर हलमा जानुहोस् ।”
उनले कुनै असहज नमानी भनिन्, “देख्नुभएन मेरो अवस्था । मेरो जिउ हेर्नुहोस् त ! शौचालय जान सकिन त म के गरौँ । तपाईँलाई थाहा छैन परीक्षा कसरी लिनुपर्छ भन्ने !”
केन्द्राध्यक्षले महिलाको शरीर राम्ररी हेरे । उनले कानुनको पढाइको अर्थ बुझेर केही नबोली फर्के । महिलाले पुनः छातीका कुनातिरबाट कागजका टुक्रा निकाल्ने व्रmमलाई निरन्तरता दिइन् ।