गणेशप्रसाद भट्टराई (२०२७, इलाम, सुपुत्र : धर्मानन्द भट्टराई र टीकादेवी भट्टराई ) नेपाली साहित्यका प्रतिभाशाली लेखक हुन् । उनी सिर्जना, समीक्षा, पाठ्यपुस्तक लेखन जस्ता बहुमुखी क्षेत्रमा सक्रिय छन् । नेपाली र इतिहास विषयका स्नातकोत्तर भट्टराईको साहित्ययात्रा २०४७ सालमा चियावारी भित्ते पत्रिकामा ‘म’ शीर्षकको निबन्ध प्रकाशन गरेर आरम्भ भएको थियो । उनका कुलचन्द्र कोइराला दृष्टिकोण एवम् विश्लेषण (२०५४) समीक्षा कृतिका साथै राजसंस्था हिमाली अधिराज्य नेपालको जीवन्त सम्पदा (२०५४) निबन्धङ्ग्रह प्रकाशित छ । उनका निबन्धहरू विभिन्न पाठ्यपुस्तक र पत्रपत्रिकामा छरिएर रहेका छन् । दर्जनौँ विद्यालय तहदेवि विश्वविद्यालय तहसम्मका पाठ्यपुस्तक लेखक भट्टराईको सिर्जन सामर्थ्य विस्तारै लघुकथामा जम्दै गएको देखिन्छ । उनका सञ्चयन (२०५५), संवरण (२०५८), संवर्द्धन (२०६१) जस्ता लघुकथासङ्ग्रह प्रकाशित छन् । जुनसुकै विषयवस्तुलाई समाएर चोटिला लघुकथा सिर्जना गर्न सक्ने भट्टराईको प्रस्तुत शृङ्खलामा ‘हावा’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले उदण्ड युवाको चरित्रले समाजलाई पार्न सक्ने असरलाई उद्घाटन गरिएको छ । कथामा प्रस्तुत गरिएको हावा विम्ब निकै सशक्त छ ।-सम्पा. |
वैजनाथ आफूलाई जान्ने बुझ्ने ठान्छ । एसइई गर्नासाथ उसलाई बाबुले एउटा साइकल किनिदिएका छन् । ऊ यही साइकलमा चढेर गाउँघर डुल्छ । कहिलेकाहीँ नजिकको बजार पनि पुग्छ ।
वैजनाथले एक दिन साइकलको पछाडि बाख्राको पाठो बाँधेछ । उसले जोडले साइकल चलाउँदा पाठो कुद्न सकेनछ । पाठाको घाँटीमा डोरी कसिएर पाठो घिस्रएछ तर उसले घिसार्दै कुदाएछ ।
“ए वैजनाथ ! पाठो मरिसक्यो । यो विद्वान् हेर्दैनहेरी साइकल कुदाइरहेछ । दिमाग खुस्कियो कि क्या हो ?” लीलानाथले साइकल रोक्दा पो वैजनाथ झसङ्ग भएछ ।
वैजनाथको स्वभाव पनि उद्दण्ड थियो । उसलाई धेरै कुरा थाहा थिएन तर जान्ने भएर बोल्नुपथ्र्यो । मुसखियाको छोरो भएकाले कसैले गाली गर्न भने सक्दैनथे । सबैले उसको नाम हावा राखिदिएका थिए ।
वैजनाथ एक पल्ट सहर गयो । रात परिसकेको थियो । आकाशमा जून झुल्किसकेको थियो । ऊ आफ्नो गाउँ पुग्न हतार हतार साइकल हाँक्दै थियो ।
चौबाटामा साइकल रोकेर ट्राफिक प्रहरीले भन्यो,“भाइ, साइकलमा बत्ती बाल्नुहोस् । यस सहरमा राती हिँड्दा साइकलमा पनि बत्ती बाल्नुपर्छ ।”
“किन बाल्ने नि बत्ती ! आकाशमा जून छ । फेरि मैले बाटो देखेकै छु । मलाई चाँडो घर पुग्नु छ । तपाईँको सहरको नियम तपाईँ सँगै राख्नुहोस् । म मुखियाको छोरो हुँ । गाउँकै नियमअनुसार साइकल चलाइन्छ । मलाई पनि साइकल चलाउने नियम थाहा छ ।” वैजनाथले भुइँमा एउटा खुट्टा टेकेर साइकल अड्याउँदै भन्यो ।
ट्राफिक प्रहरीले प्रतिवाद गरेन । उसले साइकलको पाङ्ग्रातिर हे¥यो र अगाडिको पाङ्ग्राको हावा खुस्काइदियो ।
“ए ए, किन हावा खुस्काएको ?यहाँ हावा हाल्ने ठाउँ छैन । म कसरी घर जानू ?”
“हावा हाल्ने ठाउँ नभएर के भो त भाइ ! वायुमण्डलमा हावा प्रशस्तै छ नि ! चलिहाल्छ नि साइकल ! बिस्तारै जानुहोस् है, दुर्घटना होला ।”
ट्राफिक प्रहरी आफ्नै कामतिर लाग्यो ।