भागीरथी श्रेष्ठ (२००५ असोज १४ गते गुल्मी रिडीबजार) नेपाली आख्यान क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । ले स्नातक सम्मको शिक्षा हासिल गरेकी श्रेष्ठको सिर्जन यात्रा २०२३ सालमा रूरू पत्रिकामा ” प्रबल इच्छा” शीर्षकको कथा प्रकाशित भएपछि आख्यानबाटै आरम्भ थियो। उनका मालती (उपन्यास-२०३३) यौटा यस्तो आकाश (उपन्यास-२०४६,) क्रमश (कथासङ्ग्रह-२०४४,) मोहदंश (२०४४), रङ्गीन पोखरी (२०५०), विभ्रम (२०५०), भूमिगत (२०६३,) रातो गुलाफ (२०६५) जस्ता कथासंग्रह प्रकाशित रहेका छन्। लुम्बिनी अञ्चलस्तरिय साहित्य सम्मेलनमा प्रथम-२०२३ ”रत्नश्री स्वर्णपदक-२०४३,सर्वोतम कथाकार (टेलिभिजन प्रतियोगिता ) २०४४, मैनाली कथा पुरस्कार-२०४८, प्रतिभा पुरस्कार२०५५, नूरगङ्गा साहित्य पुरस्कार २०५८, दायित्व वाङ्ममय पुरस्कार २०५९, पुर्ण-कृष्ण स्मृति साहित्य पुरस्कार २०७७, पाल्पा वाङ्ममय प्रतिष्ठानबाट सम्मान जस्ता विभिन्न मान सम्मान र पुरस्कार पाइसकेकी श्रेष्ठ अहिले पनि निरन्तर साहित्य सिर्जनामा सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको रङ्गीन पोखरी शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथामा राजनीतिक प्रभावले प्रत्येक मानिसलाई कसरी गाँजिरहेको छ भन्ने पक्षलाई रङको पोखरीका प्रतीकमा समेटेको छ ।
सम्पा. |
ऊ समाजमा रङ्गहीन भएर बाँच्न चाहन्थ्यो । आफ्नो स्वच्छपन सबैलाई पहिचान गराउने उसको इच्छा थियो, किनभने तटस्थता उसलाई मन पर्थ्यो तर उसको वरिपरि अनेक रङ्गका पोखरीहरू थिए, जुन पोखरीहरूमा मान्छेहरू आआफ्नो रुची अनुसार र एउटा खास रङ्गको हुँ भन्ने देखाउन हाम्फाल्थे तर उसलाई ती रङगीन पोखरीहरू प्रति कुनै आस्था र विश्वास थिएन । ऊ सम्झन्थ्यो, ती रङ्गीन पोखरीहरूको पानीमा विश्वासघात, जाल-फरेब, विकृति र ईर्ष्याका कडा रङ्गहरूले भरिएको छ । अब ती पोखरीहरूबाट टाढै बस्नु नै कल्याण…। तर जब यी पोखरीहरूमा मान्छेहरू हाम्फाल्थे, तब पानीको छिटाहरू उफ्रेर उसको शरीर बेढङ्गी बनाइदिन्थे, जसले गर्दा ऊ यही रङगको हो भनेर छुट्याउन गाह्रो पर्थ्यो ।
उसको शरीरभरि लागेको अनेक रङ्गको छिटाहरू देखेर मान्छेहरू भन्थे, “यो मान्छेमा कुनैखास रङ्ग छैन र यो आफ्नो अवसर अनुसार हरेक पोखरीभित्र डुबुल्की मार्दो रहेछ । आफ्नो पहिचान नभएको मान्छे !
अन्त्यमा हार खाएर उसले सोच्यो, रङ्गहीन भएर यो समाजमा बाँच्न गाह्रो रहेछ । अनेक पोखरीको रङगको छिटा खाएर बिनासित्तै बदनामी हुनुभन्दा कुनै एउटा रङ्गको पोखरीमा डुबुल्की मार्नु राम्रो । चाहे त्यो रङग निर्मम, विभत्स र विकृतिले भरिएको नै होस् । विकृतिपूर्ण रुपले लिएर बाँच्नु नै आजको जीवनशैली हो । नत्र भने उसले कुनै स्रोत पाउने छैन अनि उसले थुप्रै पोखरीहरू मध्ये एउटा रङ्गीनमा पोखरीमा रोजेर हाम्फाल्यो ।