मन्दिरा मधुश्रीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी समकालीन पुस्ताकी उल्लेख्य आख्यानकार हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘गुड फ्राइडे’ शीर्षकको कथा समेटिएको छ । यस कथाले बालबालिकाको जिद्दीपन र त्यमा छिपेर रहेका अभिभावकका समस्या र बाध्यतालाई समेटिएको छ । त्यस समस्यालाई पनि नारी केन्द्रित रूपमा निकै जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
-सम्पा. |
“मामु आज कुन डे ?” स्कुलको गेटबाट निस्केर बाटो लाग्ने बित्तिकै सानो छोरोले सोध्यो ।
“आज फ्राइडे…।” मैले छोराको अर्थपूर्ण प्रश्नको कुनै ध्यान नराखि जवाफ दिएँ ।
“आज त….।” वाक्य पुरा नगरी मेरो मुखमा हेर्दै लजाएर हाँस्दै भन्यो बाबुले ।
“आज के..?” मैले पनि बाँकी वाक्य पूरा गर्न खाली ठाउँ राखिदिएँ ।
“आज त गुड फ्राइडे…।” सँगै हिँडिरहेकी छोरीले पनि थपी ।
“अनि के भो त …?” मैले आशय बुझिसके तापनि नबुझेको झैँ गरेर सोधेँ ।
“आज त मजाको दिन….। आज त मम खाने दिन …।” दुवैले एकैचोटि आ–आफ्नो प्रकारले खुसी व्यक्त गरे उफ्रँदै ।
“ह्या..अस्ति त खाको नि..।” मैले टार्न खोजेँ ।
“अस्ति हो रे..? वान विक भइसक्यो …। लास्ट फ्राइडे खाको हैन…?” दुवैको विद्रोही स्वर आयो ।
“अनि त ! अस्ति त हो नि..।” म झन् टार्न खोज्छु ।
“अँ…! झुट नबोलिस्यो है..। यस्टर्डे भन्दा अघिल्लो दिन पो हो त अस्ति भनेको त ..। सेभेन डेज भइसक्यो । आज त मम खानै पर्छ के …।” छोरीले आफूले जानेको कुरा अर्थ्याउँदै दृढ देखिई ।
“अँ…! आज त खानै पर्छ मम ।” छोरोले पनि दिदी चाहिँको भनाई फोटोकपी गरेर स्वर खाप्यो ।
घर आइपुग्ने बेलासम्म पनि हामी आमा, छोरी र छोराको बीचमा दोहोरी चलिरह्यो । दुवैले मेरो हात पक्डेर झुण्डिन थाले । बाटो काटेर घरतिर अघि बढ्न नै दिएनन् मलाई । मैले ‘हुन्छ’ नभनुन्जेलसम्म ।
केटाकेटीको अगाडि लाचार भएँ म । आफू अडानमा बस्नै सकिन । बिस्तारै खुकुलिँदै गएँ र हारेँ अन्त्यमा । मेरो स्वीकृति पछि उनीहरूको विजयोत्सव भयो । दङ्गदास पर्दै दुवै नारा लगाउँदै उफ्रन थाले ।
“हे, हे आज मम खाने…। हुर्रे….।” उनीहरूको खुसीमा म पनि सलल बगेँ । खुसी खोज्न टाढा जानै पर्दाेरहेनछ । न त लाखौँ रुपैञा चुक्ता गर्नुपर्ने नै …।
एक हप्तासम्मको खाजालाई उनीहरूले रोलक्रममा राखेका छन् । उनीहरूलाई सबैभन्दा मनपर्नेदेखि मन नपर्ने वा करले खानेसम्म ।
हिजोको खाजा आज दोहोरिनु हुन्न उनीहरूलाई । आइतबार दही चिउरा…। सोमबार चटपटे । मंगलबार पुरी तरकारी । बुधबार पास्ता । बिहिबार चाम्रे । शुक्रबार मम । सनिबार हलुवा ।
शुक्रबार बनाएर होस् वा किनेर होस् म:म: हुनुपर्ने उनीहरूको माग थियो ।
हार स्वीकार गरेर म उनीहरूको पछि–पछि लागेँ । उनीहरूले एक एक ओटा हात समाएर म:म: पसलतिर लगे मलाई ।
“कुन म:म: दिउँ ?” पसलेले सोध्यो ।
“कुन म:म खाने मामु ?” छोरीले सोधी ।
“भेज नि अरू कुन र ..?” मैले भनेँ ।
“हैन, हैन । भेज त घरमा नै बनाएर खाइहालिन्छ नि..। चिकेन खाने नि…। कति मीठो हुन्छ ।” उसले स्वाद रोजी ।
“भेज नै राम्रो हो नानी ।” धेरै कुरा सोच्दै म भन्छु ।
“अँ, चिकेन कति मीठो हुन्छ ।” ऊ जिब्रोले ओठ चाट्छे ।
“हुँदैन, हुँदन । छ्या चिकेनमा त राम्रो मासु हाल्दैनन् छोरी । छाला र आन्द्रा मात्रै हाल्छन् के त्यस्तो पनि के खानु ।”
म भरसक उसको चिकन म:म:को मोह मोड्न खोज्छु । किनकी चिकेन म:म: एक प्लेट आउने ठाउँमा भेज म:म: दुई प्लेट आउँछ । म यसरी जोड्छु हिसाब । उनीहरूले म:म: पनि खान पाउन् एक एक प्लेट नै अनि थोरै पैसामा पनि ।
हिसाब सजिलै थियो मेरो । चिकेन म:म:का थुप्रै मन गडन्ते र नकारात्मक पक्षहरू देखाएर छोरीको मोह मोड्न खोज्छु र सफल पनि हुन्छु । ऊ राजी देखिन्छे र भन्छे, “त्यसो हो भने त भेज म:म: नै खाउँ न त है मामु …।”
म दंग पर्छु एक प्लेटको पैसा याने कि १०० बचाउन सफल भएकोमा ।
“दुई प्लेट भेज म:म: प्याक गरिदिनुस् न साहुजी..।” म काउन्टरमा गएर अर्डर गर्छु ।
“दश मिनेट पर्खनुस है” पसले अनुरोध गर्छ ।
“मामु किन दुई प्लेट मात्र ? हजूर खाइसिन्न ?” छोरी जिज्ञाशा पोख्छे मलाई ।
“मनभरि म:म: खाने तिर्सना भएपनि म मन मार्दै भन्छु, “नखाने..।”
“किन नि ..?” विश्वास गर्दिन छोरी ।
“तिमीहरूकोबाट दुईटा–दुईटा खाउँला, पुगिहाल्छ नि…।” म उपाय बताउँछु ।
दिदी भाई नै एक मुख लाग्छन्, “हुँदैन । नाइँ । हामी त हाम्रो भाग नदिने …। हजूर आफूलाई अर्कै लिइस्यो के ..।”
म आफ्नो लागि एक प्लेट म:म:को मुल्य अरू धेरै वस्तुसँग रुपान्तरण गर्छु मनमनै । तीन पोका दूध । एक धार्नी आलु । आधा लिटर तेल । डेड किलो चिनी । चार डल्ला साबुन यस्तै मध्ये कुनै एक वस्तु आउँछ मेरो भागको एक प्लेट म:म:को मूल्य बराबर । मैले एक प्लेट मममा खर्च गर्नु भनेको अलिक दिन पुग्ने यी कुनै पनि सामग्री मध्ये एक सजिलै आउँछ ।
मनमा द्वन्द्व मच्चिन्छ । एकातिर म:म: खाने तिर्सना अर्कोतिर आवश्यक सामानको प्राप्यता । अन्तमा तिर्सनाले नै जित्यो मलाई । गह्रौँ मन पारेर म:म:को अर्को एक एक प्लेट पनि अर्डर थपेँ । छोराछोरी दंग परे । आफ्नो भागको म:म: सम्पूर्ण रूपमा सुरक्षित हुने विश्वासले ।
मन दोमन हुँदै तीन प्लेट म:म: लिएर घर आएँ । “मैले आफूलाई चाहिँ नल्याएर केटाकेटीहरूलाई मात्र ल्याइदिएको भए पनि त हुने थियो । नभए घरमै सामान ल्याएर पकाइदिएको भए पनि सबै परिवारलाई अघाउन्जेल हुन्थ्यो । यत्रो पैसा पनि लाग्दैनथ्यो ।” यस्तै के के तर्कना तँछाड मछाड गरिरहे ।
प्लेटमा खन्याएको म:म: सँगै छोराछोरीको उन्मुक्त खुसी छरियो । उनीहरूको ‘गुड फ्राइडे’ गुड र सन्तुष्टी पूर्ण भएको थियो ।
आफ्नो भाग म:म: प्लेटमा हाल्ने बित्तिकै उनको याद झुलुक्क भयो ।मन अमिलो भयो ।
“के एक्लै खानु…! सबैजना परिवार सँगै बसेर खान पाए पो मजा त …। उनले खाजा पनि खाएका हुन कि हैनन् ? म एक्लै कसरी खाउँ ?”
एक्लै आफू मात्रै खान पटक्कै मन मान्दैन । अन्त्यमा आफ्नो भागको आधा छुट्याएर हटकेसमा राखिदिएँ । यदि सेलायो नै भने पनि फ्राइ गरिदिने प्रतिबद्धता गर्यो मनले ।
एक्लै आफूले मात्र खाएकोले मन रमाउन सकेको थिएन, उनको भाग छुट्याएर राखे तापनि । आधा प्लेट वा पाँच वोटा म:म: । मात्र पाँच गाँस त हो । गाँसै पिच्छे उनको याद वा माया बल्झिरह्यो । एक्लै आफूले मात्र खानु परेकोमा म:म: भन्दा पनि पश्चाताप बढी चबाइरहेँ ।
झमक्क साँझ परेपछि उनको बाइकको आवाज आयो । हात खुट्टा धोएर भित्र पस्दा मैले पानी र म:म: फ्राइ गरेर टेबलमा राखिदिई सकेकी थिएँ ।
“भोक लागेको होला….। दिनभर कति कुद्नु छ, खाजा खाने समय पनि पाएको हो कि हैन..!” दायित्व भन्दा बढी आत्मीयता पस्किएँ । “आज केटा केटाकेटीले `गुड फ्राइडे´ भनेर म:म: खान हत्ते गरे । त्यही भएर…. अर्को एक प्लेट पनि ल्याएँ । आधा मैले खाएँ आाधा तपाइँलाई राखिदिएको….।”
उनको अनुहार पढ्दै भनेँ बिस्तारै ।
किन हो, त्यति खुसी देखिएनन् उनी । मेरो उत्साह स्याप्पै सेलायो ।
“सन्चो नभएको पो हो कि?” आशंका गर्यो मनले ।
“किन के भो र …?” बिस्तारै सोधेँ म:म:मा हात न पुर्याएको देखेर ।
“हैन !आज भर्खरै खाजा खाको थेँ । साथीहरूले “गुड फ्राइडे” भने । त्यही भएर यसो हल्का खाजा खाइयो…।” अल्छी पाराले सुनाए उनले ।
“ए….।”
अरू मनमा धेरै जिज्ञाशा भए पनि यसभन्दा बढि निस्केन मेरो मुखबाट । छोराछोरी आफूले पाएको खुसी सुनाउन अघि नै उनको वरिपरि झुम्मिसकेका थिए टेबलमा राखेको मममा आँखा गाडेर ।
“ बाबा ! हामीले त खाइसक्यौँ म:म: । वा ! क्या मीठो छ । हजुरलाई पनि राखिदिएको छ मामुले । खाइस्यो न ।” बाबुले भन्यो ।
“फेमिलीसँगै बसेर खान पाएको भए झन् कति मज्जा हुन्थ्यो । खाइस्यो न बाबा ! कति टेष्टि छ ! यमी….।” छोरीले पनि मुख मिठ्याउदै के के भनी के के …।”
छोराछोरीको सिफारिस पछि भने बल्ल मन नलागि नलागि उनले एउटा म:म: हातले टिपेर मुखमा लगे ।
“ यति जाबो पनि के राखेको होला ! सबै खाको भए त भै हाल्थ्यो नि । बेकार केको चेब्राइँ पारिराख्नु परेको होला ….!” बर्बराए उनले विरक्तिलो पाराले ।
सल्याक सुलुक भयो मेरो मन । मेरो समर्पण र मायालाई चेब्रयाइँमा पो मुल्याङ्कन गरे उनले त। आफूले नि कहिलेकाहीँ यस्तै चेब्रयाइँ मलाई देखाएको भए कस्तो हुँदो हो” मन कल्पियो ।
भोलिपल्ट लुगा धुन उनको पाइन्ट निकालेँ । पाइन्टको खल्तीमा रातो रङको बिल भेटेँ । खोलेर हेरेँ । कुनै क्याफेको खाजाको बिल थियो त्यो । हिजो उनले साथीहरूसँग “गुड फ्राइडे” मनाएको बिल । ठ्याक्कै आठ हजार पाँच सयको ।
बिल पढेपछि शरीर नै तातो भयो । कस्तो कस्तो छटपटि भयो । मनले के के सोच्यो । मस्तिष्कमा धेरै कुराहरू दृष्यात्मक भएर तँछाड मछाड गर्न थाले ।
हिजो आफुले एक प्लेट म:म: किन्दा म:म: सँगै रुपान्तरण भएर आएका अन्य विविध वस्तुहरूको पुनर्ताजगि भयो झिलिक्क ।
थरथर काँप्यो भित्रैदेखि । खुइय गर्दै बसेँ र उनको अनि आफ्नो मन तुलना गरेँ । ।
बिल हेर्दै एकोहोरो भएर सोचिरहेँ, “हिजो एक प्लेट म:म: याने कि, म:म:लाई तिरेको सय रुपैञा दैनिक उपभोगका विभिन्न वस्तुमा रुपान्तरण भएजस्तै उनले “गुड फ्राइडे” मनाएको बिल तिर्ने बेलामा बिल बराबर एक महिनाको घरभाडा वा छोराछोरी दुवैको एक महिनाको फिस वा छ महिना खान पुग्ने चामल वा पुरै परिवारलाई किन्न पुग्ने लुगा इत्यादी वस्तुहरू उनको मनमा पनि रुपान्तरण भएर आए कि आएनन् होला बिल तिर्ने बेलामा …..?