त्रिलोचन ढकाल (२००६, श्रावण १८, फापरथुम, स्याङ्जा, सुपुत्र : आनन्द मणि ढकाल र नन्दकला ढकाल) नेपाली साहित्य र वाङ्मयका पनि बहुविधामा कलम चलाउने प्रतिभा हुन्। नेपालको कम्युनिस्ट राजनीतिको नेतृत्व गर्दै कृषिमन्त्रीसमेत बनिसकेका ढकालको साहित्यिक र राजनीतिक दुवै क्षेत्रमा समानान्तर परिचय रहेको छ। उनका साहित्यतर्फ बालसाहित्य र साहित्यका ढेढ दर्जनअधिक कृति प्रकाशित छन्। २०१७ सालमा पहिलो कविता लेखेका भए पनि २०३८ सालमा कस्कीबाट नौलो हॉक नामको पत्रिकामा ‘एक म मरेर केभो जब लाख व्यूँझदा छन्, बाटो सही छ हाम्रो जनबाद पक्का ल्याउँछौँ’ बोलको गीतिकविता प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा देखापरेका ढकाल त्यसपछि राजनीतिक यात्रासँगै विविध साहित्यिक सङ्घसंस्था स्थापना, साहित्यिक एवम् शैक्षिक सङ्घसंस्थासँग सहकार्य पनि गर्दै र कलम पनि चलाउँदै आएका छन्। उनका राजनीतिक व्यक्तित्वकै उपजका रूपमा कम्युनिष्टमाथि लगाइएका झुटा आरोपहरू र वास्तविकता (०४७), के मार्क्सवाद विफल हुन सक्छ ? (०४८), नेकपा(एमाले)ले कम्युनिष्ट पार्टी ध्वस्त ग–यो (०५५), पार्टी सङ्गठनको व्यवस्थापन ०६१) जस्ता राजनीतिक कृतिहरू प्रकाशन भए। उनको मूल क्षेत्र राजनीति भएकाले उनले अनेक राजनीतिक लेखका साथै विकसित परिस्थितिमा सङ्घर्षको प्रमुख रूप (०७१), ब्रतैब्रत र महिला हिंसा (०७२) जस्ता चेतनामूलक कृति पनि प्रकाशन गरेका छन्। उनको कलम २०६७ सालपछि प्रायः साहित्यप्रति समर्पित बनेको देखिन्छ। उनका साहित्यतर्फ उदाउँदो सूर्यलाई स्वागत (कविता सङ्ग्रह,०६७), शहीद (समवेदना सङ्ग्रह,०६८), व्यूँझेको गाउँ (०६९) हल मिलेन (गजलसङ्ग्रह, ०६९) नाच सानु नाच (बालकवितासङ्ग्रह, ०६९) टीँ टीँ आयो (बालकवितासङ्ग्रह, ०६९), उड्न सिकाइ देऊ (बालगजलसङ्ग्रह, ०६९), सारथि (निबन्धसङ्ग्रह ०७०) जस्ता कविता, गजल, बिबन्ध जस्ता बाल र प्रौढा साहित्यका कृतिहरू प्रकाशनमा आए। उनी विस्तारै कविता र निबन्ध एवम् स्वतन्त्र लेखको अभयासपछि आख्यान सिर्जनामा लागे। उनका आख्यानतर्फ उज्यालो दिशातिर (उपन्यास, ०६९), घामको नाति जून (बालउपन्यास ०७४), घामलाई केले खायो ? (बालउपन्यास ०७४), वर्षा रिसाइरहन्छिन् (बालउपन्यास ०७४), भुइँचालो आयो (बालउपन्यास ०७४), सबै आमाको काखमा (बालउपन्यास ०७४) जस्ता कृतिहरू प्रकाशन भए। पछिल्लो समय ढकालको कलम पुनः निबन्धतिर मोडिएको छ। उनका छोरीको घर (यात्रा वृतान्त, ०७४), युरोपमा नेपाली (यात्रा अनुभूति, ०७६) र माघ र गाउँ नै सुन्दर (०७६) जस्ता कृतिहरू प्रकाशन भइसकेका छन्। ढकालका सम्पादनमा नौलोहॉक साप्ताहिक (०४६/०४७ पोखरा), गण्डकी सामयिक (०५९–०६५ पोखरा), किसान आवाज (०५१–०५८काठमाडौ‘) रातो गण्डकी (०७६) जस्ता पत्रपत्रिका निस्किएका छन्। उनी वर्तमान समयमा आफ्नै जन्मभूमि स्याङ्जाको फापरथुममा रहेर साहित्य सिर्जनामा लागिरहेका छन्। ढकाल मूलतः राजनीतिसापेक्ष र स्वतन्त्र समाजसेवी व्यक्तित्वका साथै साहित्यकार र साहित्य सेवक हुन्। उनको अध्ययन र साधनाको क्षेत्र साहित्यमा उल्लेख्य रहेको छ। उनी जुन क्षेत्रमा लागे पनि निस्वार्थ ढङ्गले समाज परिवर्तनका पक्षमा लागिरहेका देखिन्छन्। उनले पिता र माताहरूको सम्मान तथा सम्झनामा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानको स्थापना गरी विद्वान् साहित्यकारलाई प्रत्येक दुई वर्षमा सम्मान तथा पुरस्कृत गर्न तथा विभिन्न छात्र छात्रालाई पुरस्कृत गर्न, दाजु डील्लिराज ढकाल र उनीद्वारा प्रतिष्ठानको तर्फबाट अक्ष्यय कोश स्थापना गरिएको छ। उनले विभिन्न विद्यालयमा गरिब तथा असाहाय बालबालिकाको शिक्षादीक्षाका लागि विभिन्न अक्षयकोष स्थापनाका माध्यमबाट समज, शिक्षा र सहित्यसेवा गरिरहेका छन्। उनका रचनामा प्रगामी चेतना निकै बलियो देखिन्छ। उनले आफ्ना कृतिहरूमा वैज्ञानिक तथ्यहरूबाट नेपाली समाजको सांस्कृतिक मूल्यको परीक्षण गरिरहेका र राजनीतिक सामाजिक एवम् अन्य बहुमुखी विसङ्गतिहरूको तीव्र विरोध गरिरहेका देखिन्छन्। साहित्यसागरको प्रस्तुत शृङ्खलामा ढकालको अधिनायकतन्त्र शीर्षकको लघुकथा समेटिएको छ। यस कथाले नेपालका पार्टी नेतृत्वमा बढिरहेको अधिनायकचेतलाई प्रस्तुत गरेको छ।
-सम्पा |
अक्टुबर समाजवादी क्रान्तिको वैचारिक सांस्कृतिक पक्षका बारेमा छलफल चलेको थियो। जुम गोष्ठीमार्फत चलेको छलफलमा विद्वान्हरूको सहभागिता थियो। कार्यपत्र पनि प्रस्तुत भएको थियो। कार्यपत्र प्रस्तुतकर्ताले निष्कर्षका रूपमा बताएः
‘राज्यसत्ता सर्वहारा वर्गको अधिनायकत्वमाथि आधारित हुनुपर्दछ। नेपालमा अहिले देखिएको विकृतिको कारण सर्वहारा अधिनायकत्व नहुनु हो।’
सहभागीबाट पुनः आवाज आयो : ‘वर्तमान दुनियाँमा लोकतान्त्रिक व्यवस्था नै लोकप्रिय प्रमाणित भएको छ। त्यही लोकतान्त्रिक संविधानको मार्गदर्शनमा भएको जननिर्वाचनद्वारा नेपालमा कम्युनिष्ट पार्टीले सरकार बननाउन सफल भएको छ।’
‘सरकार बनेर के गर्नु ? यसले काम गर्नै पाएको छैन। पुलिस प्रशासन, संसद्, सेना र अदालतले कम्युनिष्ट पार्टी र सरकारलाई टेर्दै टेर्दैनन्।’ पुनः सहभागीहरूबाट आवाज आयो।
‘संसद् प्रशासन सेना र अदालत सरकारकै निर्देशन र सङ्केतका भरमा चलेको देखिन्छ त।’
‘सर्वहारा अधिनायकतन्र कसले लागू गर्ने हो ? प्रस्तोताज्यू !’ सहभागीबाट पुनः प्रश्न आयो।
‘सर्वहारावर्गको प्रतिनिधि संस्था कम्युनिष्ट पार्टीले। बैठक नचलेको बेलामा कम्युनिष्ट पार्टीका प्रमुख र सरकार प्रमुखले।’ प्रस्तोताले प्रस्ट पार्न खोजे।
‘लोकतान्त्रिक संविधानको नत्थी लगाउँदा त यति निरङ्कुश छन् प्रधानमन्त्री र पार्टी अध्यक्षहरू। अधिनायकतन्त्र बोकेको संविधान लागू गर्न पाए भने यिनले के के गर्दा हुन् ?’ पुनः सहभागीबाट आजाज आयो।
स्याङ्जा