दिव्य गिरीको परिचय साहितयसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी कविता, मुक्तक, हाइकु, लघुकथा जस्ता छोटा विधामा सिर्जना गर्न रुचाउने स्रष्टा हुन् । यहाँ उनको ‘कामना’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले नेपाली राजनीतिक जुलुसमा हुने विकृतिलाई पनि केन्द्रमा राख्दै निम्नवर्गीय जनजीवनको जीवन्त चित्र प्रस्तुत गरेको छ ।
सम्पा. |
ऊ निकै दँग परेकी थिई | र अँगेनामा आगो बालेर सिलावरको डेक्ची माझ्न थालेकी थिई | धेरै दिन भैसकेको थियो डेक्चीमा भात नपकाएको | त्यसैले होला डेक्चीभित्र हरियो लेऊजस्तो काई जमेको थियो | भात पकाउन छोडेपछि डेक्ची बाख्रालाई पानी दिने काममा प्रयोग भएको थियो |
उसले डेक्चीमा चामल अडकलेर राखी, पुग्दैन कि भनी एक मुठी चामल फेरि थपी | चामल ल्याएको झोला बाँध्दैगर्दा उसको मनमा धेरै पकाएर खेर किन फाल्नु भन्ने लाग्यो र डेक्चीबाट पहिले थपेको चामल झिकेर फेरि झोलामा राखी | चार पाँच गेडा चामल झोला बाहिर खसेको देखेर तेसलाई पनि टिपेर झोलामा नै हाली | अनि अगेनुमा डेक्ची बसालेर बाहिर निस्की | घरपछाडि बारीमा गएर रायोको साग, चम्सुर र हरियो लसुनको तीन चार बोट पनि उखेलेर ल्याई |
उसको सानो छोरो आज भात खान पाइने भएकोले आमाकै वरिपरि मात्र लुटुपुटु गरिरहेको थियो |
साँझ झमक्क परेपछि शम्भुराम पनि घरभित्र पस्यो | उसले चुल्होतिर पुलुक्क हेर्यो | भातको डेक्ची छोपेको बिर्को वरिपरिबाट बाफ उडिरहेको थियो |
बाख्रालाई खोरमा बाँधेर ऊ पनि घरभित्र पसी | लोग्नेलाई देखेर सोधी- ‘भात पाकिसक्यो, खाइहाल्ने हो ? ‘
‘हुन्छ, पस्किँदै गर’ यति भन्दै ऊ लोटामा पानी लिएर हातगोड धुन बाहिर निस्क्यो |
उनीहरूले धेरै दिनपछि भात खान पाएका थिए | सँधै रोटी खाइरहेको उनीहरूको सानो छोरो आज भात खान पाएर सबैभन्दा धेरै खुसी थियो | उसले भात खाँदा सोधेको थियो – ‘आमा अब हामी सँधै भात खाने हो ?’
छोराको प्रश्न सुनेर उस्ले लोग्नेतिर पुलुक्क हेर्दै जवाब दिएकीथिई – बाबाले यसरी नै चामल ल्याउन पाए भने खाने हो | अनि उसले लोग्नेतिर हेर्दै सोधी
‘अँ, साँच्चै अब अर्को जुलुस कहिले हुन्छ रे ? यस पटक म पनि जान्छु | अहिलेदेखि नै मेरो नाम पनि लेखाउनु होला | जुलुसमा दुई जना नै जान पाइयो भने पैसा पनि धेरै पाइन्छ होला नि | हाम्रो भाग्य भए त यस्तो जुलुस सँधै भैरहोस् |’ यति भन्दै ऊ मुसुक्क हाँसी |
माघ २७, २०७७